गोवर्द्धन मठका शङ्कराचार्यद्वारा लुम्बिनी अवलोकन

गोवर्द्धन मठका शङ्कराचार्यद्वारा लुम्बिनी अवलोकन


भारत, जगन्नाथ पुरीस्थित गोवर्द्धन मठका शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्दले बुद्ध जन्मस्थल लुम्बिनी अवलोकन गर्नुभएको छ ।

आइतबार साँझ कक्रहवा हुँदै नेपाल प्रवेश गर्नुभएका शङ्कराचार्यले लुम्बिनीको ५ नम्बर गेटबाट भित्र प्रवेश गर्नुभएको थियो । उहाँले मायादेवी मन्दिर र लुम्बिनी क्षेत्रको भ्रमण गर्ने सदिच्छा राखेको भए पनि स्वास्थको कारण गाडी पुग्ने ठाउँसम्म पुगेर फर्केको धर्मसभा आयोजक समितिका संयोजक कृृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

शङ्कराचार्यले बुद्ध जन्मस्थलमा अवलोकन गर्न पाउँदा खुशी लागेको बताउनुभएको ब्यासचार्य किशोर गौतमको भनाइ छ । उहाँले भन्नुभयो, ‘जगतगुरुले बुद्ध जन्मस्थल अवलोकन गर्नुभयो । उहाँ खुशी हुनुभएको छ ।’ शङ्कराचार्यले बुद्ध जन्मस्थलको अवलोकन गरेर बौद्ध धर्म र संस्कृतिप्रति उच्च सम्मान व्यक्त गरेको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेतेयाले बताउनुभयो ।

शङ्कराचार्यलाई लुम्बिनीमा उपाध्यक्ष भिक्षु मेतेयाले स्वागत गर्नुभएको थियो । लुम्बिनीस्थित कक्रहवा नाकाबाट नेपाल आाउनुभएका उहाँ आज सोमबार भैरहवास्थित महेन्द्रसभागृहमा आयोजित धार्मिकसभामा सरिक हुने कार्यक्रम रहेको छ । धर्मसभामा हिन्दूधर्मप्रति आस्थावान् ॐ कार परिवारका सबैलाई सहभागी गराइने बताइएको छ ।