सिलवालको बर्खास्तगीसँगै राखेपको बोर्ड पनि विघटन हुँदै

सिलवालको बर्खास्तगीसँगै राखेपको बोर्ड पनि विघटन हुँदै



मन्त्रालयले माग्यो दुई सिनियर कर्मचारीको नाम

  • श्रीविक्रम भण्डारी

नेपाल सरकारको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेपछि युवा तथा खेलकुद मन्त्रालयले कार्तिक ७ गते राष्ट्रिय खेलकुद परिषदलाई पत्राचार गरेको छ । पत्रमा मन्त्रालयले राखेपका सबैभन्दा सिनियर दुई कर्मचारीको नाम पठाउन उल्लेख गरेको स्रोतले बताएको छ ।

खेलकुद मन्त्रालयले कुन प्रयोजनका लागि राखेपका दुई सिनियर कर्मचारीको नाम पठाउन राखेपलाई पत्राचार गर्दै निर्देशन दिएको हो, त्यसको कुनै खुलासा नगरे पनि खेलकुदमा भने अहिले पत्राचारका बारेमा विभिन्न अड्कल काटिन थालिएको छ ।

प्राप्त जानकारीअनुसार राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिव नियुक्तिको प्रक्रिया लामो भएकोले सो अवधिसम्मको लागि खेलकुदमा ‘निमित्त सदस्यसचिव’ नियुक्त गर्नका लागि मन्त्रालयले सिनियर कर्मचारीको नाम पठाउन पत्राचार गरेको खेलकुदका कर्मचारीको बुझाइ छ ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को परिच्छेद-४ को सदस्यसचिव तथा कर्मचारीसम्बन्धी शीर्षकअन्तर्गतको १२ नम्बरमा यस दफामा अन्य जुनसुकै कुरा लेखिएको भएता पनि कुनै कारणले सदस्यसचिवको पद रिक्त भएको वा कुनै कारणले निलम्बन भएमा अर्को सदस्यसचिव नियुक्ति वा निजको निलम्बन फुकुवा नभएसम्मका लागि मन्त्रालयले सङ्घीय निजामति सेवाको राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारी वा परिषदको वरिष्ठतम् कर्मचारीलाई सदस्यसचिवको रूपमा कामकाज गर्नेगरी तोक्न सक्नेछ ।

मन्त्रालयले यस्तो किसिमको पत्राचार गरेपछि अहिले परिषदमा व्यापक चर्चा परिचर्चा सुरु भएको छ । परिषदमा अहिले वरिष्ठतम् कर्मचारीको रूपमा तालिम तथा प्रशिक्षण विभाग प्रमुख अर्जुन बिक र प्रशासन विभाग प्रमुख कुलबहादुर थापा रहेका छन् । बिक २०४४ र थापा २०५२ मा कर्मचारीका रूपमा खेलकुदमा प्रवेश गरेका थिए । अब यी दुई वरिष्ठ कर्मचारीको नाम राखेपले सिफारिस गरेर पठाउने स्रोतको दाबी छ ।

मन्त्रालयले परिषदका सिनियर दुई जना कर्मचारीको नाम सिफारिस गरेर पठाउन राखेपलाई निर्देशनात्मक पत्राचार गरे पनि के प्रयोजनका लागि हो त्यसको बारेमा कुनै खुलासा नगर्दा ‘निमित्त सदस्यसचिव’का लागि हो या अन्य प्रयोजनका लागि त्यो बारेमा भने अहिलेसम्म अन्योलता छाएको छ । यदि सिनियर कर्मचारीबाट चुनिए यी दुई (थापा र बिक)मध्ये एक राखेपको ‘निमित्त सदस्यसचिव’ हुने निश्चित मानिएको छ ।

यो बारेमा सम्बन्धित राखेपका कर्मचारीसँग सम्पर्क गर्दा मन्त्रालयले पत्राचार गरेको खुलासा गरे पनि अन्य केही कुरा बताउन चाहेनन् । पत्रको खाममा ‘अत्यन्त गोप्य’ लेखिएकोले केही भन्न नमिल्ने ती कर्मचारीले बताए । पत्र भरखरै प्राप्त भएको छ, कार्यान्वयन भन्दाअघि पत्रको बारेमा कुनै पनि किसिमको जानकारी दिन नमिल्ने र यो अहिल्यै सार्वजनिक गर्ने विषय पनि नभएको ती कर्मचारीले बताए ।

त्यस्तै, प्राप्त जानकारीअनुसार राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिवको नियुक्ति नहुँदासम्म युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव डा. कमलप्रसाद पोखरेलले राखेपको सदस्यसचिवको जिम्मेवारी सम्हाल्ने चर्चा समेत खेलकुदमा चलेको छ । यदि पोखरेल खेलकुदको जिम्मेवारी सम्हाल्न अनिच्छुक भए थापा र विकमध्ये एकलाई निमित्त सदस्यसचिव बनाइने सम्भावना देखिएको छ ।

त्यस्तै, राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठक यसै साता विघटन हुने स्रोतले दाबी गरेको छ । सदस्यसचिवको बर्खास्तसँगै सो बोर्डलाई कायम राख्न नसकिने भन्दै मन्त्रालयले बोर्ड विघटनको गर्न लागेको बुझिएको छ । नयाँ नियुक्त हुने सदस्यसचिवलाई काम गर्न सजिलो होस् भनेर नयाँ बोर्ड गठन गरिन लागेको पनि सुत्रले दाबी गरेको छ ।

त्यस्तै, नयाँ खेलकुद विकास ऐन, २०७७ मा सदस्यसचिवलाई हटाउन सरल प्रावधानहरू भए पनि बोर्ड नै खारेजीको बारेमा भने ऐनमा विशेष रुपमा केही उल्लेख गरेको पाइँदैन । यस्तो अवस्थामा बोर्ड कसरी खारेज हुन्छ त्यो आफैमा सोचनीय कुरो बनेको छ