एमालेका करिव ६ हजार वडा कमिटीको अधिवेशन सम्पन्न

एमालेका करिव ६ हजार वडा कमिटीको अधिवेशन सम्पन्न



नेकपा (एमाले)ले आज देशभरि एकैसाथ करिव ६ हजार वडा कमिटीको अधिवेशन गरेको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बाढी, पहिराका कारण केही जिल्लाबाहेक करिव ६ हजार वडा कमिटीको अधिवेशन आज गर्न थालिएको जानकारी दिनुभयो ।

‘करिब ६ हजार वडा कमिटीको अधिवेशन भएको हाम्रो प्रारम्भिक मूल्याङ्कन रहेको छ’, उहाँले भन्नुभयो, ‘हामीले कति वडाको अधिवेशन सक्यौँ, त्यसको विवरण सङ्कलन हुँदैछ ।’ वडा कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित ३१ जना निर्वाचित भएका छन् । गाउँपालिका र नगरपालिकामा ३१ सदस्यीय कमिटी, उपमहानगरपालिकामा ४१ सदस्यीय कमिटी र महानगरपालिकाका वडा कमिटीमा ५१ सदस्यीय कमिटी निर्वाचित हुनेछन् ।

कमिटीलाई ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ । देशभरि ६ हजार ७४३ वडा रहेका छन् । उहाँले बाढी, पहिराका कारणले रोकिएको अधिवेशन एक हप्ताभित्र गर्ने बताउनुभयो । देशैभरिका वडा अधिवेशनको उद्घाटनको मन्तव्य पार्टी मुख्यालयबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो ।

एमालेले राष्ट्रिय महाधिवेशनको तयारीस्वरुप आज पहिलो चरणमा वडा कमिटीको अधिवेशन गरेको हो । एमालेले वडा अधिवेशन सकेर यही कात्तिक ९ गते पालिका अधिवेशन गर्ने छ । एमालेको आगामी मङ्सिर १० देखि १३ गतेसम्म १० औँ राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ ।