एमाले केन्द्रीय सदस्यमा दुई जना थप, नेकपा (एस)को ७३ जिल्ला कमिटी गठन

एमाले केन्द्रीय सदस्यमा दुई जना थप, नेकपा (एस)को ७३ जिल्ला कमिटी गठन


नेकपा (एमाले)को शुक्रबार बसेको स्थायी कमिटी बैठकले एकता प्रक्रियामा सामेल भएका दुई नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ ।

थपिएका सदस्यमा कुन्दन कुशवाह (रौतहट) र मोहम्मद समीर (बारा) रहेका एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन् ।

प्रवक्ता ज्ञवालीद्वारा जारी विज्ञप्तिमा जनाइएअनुसार कुशवाह र समीर नेकपा (माओवादी केन्द्र)बाट एकतामा सामेल नेता प्रभु साहनिकट नेताहरु हुन् ।

उता नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले ७३ जिल्ला कमिटी गठन गरेको जनाएको छ । पार्टीका प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाद्वारा जारी विज्ञप्तिमा चार वटा गैरभौगोलिक जिल्ला कमिटीसमेत गठन गरिएको छ । पछिल्लो समय वर्षा, बाढी, पहिरोका कारण कमिटी गठन कार्य स्थगित गरिएको छ ।

अहिले सङ्घीय तथा प्रदेशस्तरका निर्वाचन क्षेत्रीय कमिटी, स्थानीय तहका विभिन्न पालिका, वडा तथा टोल कमिटी गठनको प्रक्रिया जारी छ भने विभिन्न जिल्ला र केन्द्रबीच समन्वय स्थापित गर्ने सम्पर्क मञ्चको गठनका क्रममा छन् । देशबाहिर पनि विभिन्न प्रवास कमिटीसमेत गठन भइरहेका दाबी गरिएको छ । पार्टी निर्माणका पक्षमा देशभरका हजारौँ युवा, विद्यार्थी कार्यकर्ताको स्वःस्फूर्त सहभागिता रहेको विज्ञप्तिमा जनाइएको छ ।

पार्टीको आधिकारिक प्रकाशनतर्फ केन्द्रीय मुखपत्रका रूपमा ‘समाजवाद’ र गतिविधिमूलक प्रकाशन (बुलेटिन) का रूपमा ‘कलम’ को प्रकाशन तयारी भइरहेको छ । त्यसमध्ये ‘कलम’ को प्रकाशन एक साताभित्र सम्पन्न गर्ने गरी काम अगाडि बढेको जनाइएको छ ।

प्रदेश १ र बागमती प्रदेश सरकारको आगामी नेतृत्व पार्टीले गर्ने सहमति पाँच दलीय गठबन्धनको बैठकले गरिसकेको पनि विज्ञप्तिमा जनाइएको छ ।