बागमती प्रदेशका मुख्यमन्त्रीले कात्तिक १० गते विश्वासको मत लिने

बागमती प्रदेशका मुख्यमन्त्रीले कात्तिक १० गते विश्वासको मत लिने



मुख्यमन्त्री शाक्यद्वारा आफ्नो पक्षमा मत दिन आग्रह

बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले यही कात्तिक १० गते विश्वासको मत लिनुहुने भएको छ । प्रदेशसभाको बिहीबार बसेको बैठकले मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने कार्यका लागि यही कात्तिक १० गते बुधबार अपराह्न बस्ने बैठकमा मतदान हुने बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले उल्लेख गर्नुभयो ।

दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक ढिलो सुरु भएका कारण बिहीबार नै मतदान गर्ने कार्य सम्भव नभएका कारण कात्तिक १० गते पु¥याइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभयो ।

यसैगरी मुख्यमन्त्री शाक्यले उक्त बैठकमा विश्वासको मत लिने कार्यका लागि संसद्मा रहेका सबै दलसँग आग्रह गर्नुहुँदै दलगत स्वार्थभन्दा माथि उठेर संविधान र प्रजातन्त्रको रक्षाका लागि एकजुट हुने धारणा व्यक्त गर्नुभयो । मुख्यमन्त्री शाक्यले नेपालको संविधानको धारा १८८ को उपधार २ बमोजिम विश्वासको मत लिने कार्यसम्बन्धी विषयमा लिखित वक्तव्य प्रस्तुत गर्दै संसद्मा रहेका सबै दललाई आफ्नो पक्षमा मतदान गरिदिन आग्रह गर्नुभयो ।

उहाँले नेकपा एमालेको बहुमतको सरकारले विगत समयमा प्रदेशका विभिन्न जिल्लामा राष्ट्रिय गौरवको आयोजनाको निर्माणका साथै कोभिड–१९ सङ्क्रमणबाट प्रभावित भएका नागरिकको विभिन्न अस्पतालमा उपचार सेवालाई निरन्तरता दिँदै खोप लगाइएको बताउनुभयो । प्रदेशमा सुशासन ल्याउन प्रदेश सरकारले विभिन्न ऐन कानूनको निर्माण गरी जनतालाई शान्ति सुरक्षा प्रदान गर्ने र विपन्न नागरिकलाई सहुलियतमा ऋण उपलब्ध गराइएको पनि मुख्यमन्त्री शाक्यले उल्लेख गर्नुभयो । उहाँले विगतको सरकारले प्रदेशको विभिन्न जिल्लामा विद्युतीय बस सञ्चालन गर्न नयाँ बोलपत्र आह्वान गरेको र पोष्टबहादुर बोगटी (भीमफेदी–कुलेखानी) सुरुङमार्गलाई पनि निर्माणका क्रममा पाइपलाइनमा राखिएको उल्लेख गर्दै प्रदेशका विभिन्न जिल्लामा पशुपालन गरी दूध उत्पादनमा वृद्धि गर्ने लक्ष्यका साथ प्रत्येक कृषक परिवारलाई अनुदान उपलब्ध गराइएको जानकारी दिनुभयो ।

प्रदेशका विभिन्न जिल्लामा हालसम्म गरी ६४० वटा पक्की पुल निर्माणका लागि बोलपत्र सम्झौता भइसकेको र छिट्टै निर्माण कार्य सुरु गरिने उहाँको भनाइ थियो । मुख्यमन्त्री शाक्यले हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पताललाई सु–व्यवस्थित रूपमा सञ्चालन गरी सर्वसाधारणलाई उपचार सेवामा प्रभावकारी तुल्याइएकामा सरकारले जनहितका लागि थुप्रै काम गरेकाले वर्तमान मन्त्रिपरिषद्लाई विश्वासको मत दिन आह्वान गर्नुभयो ।

सत्तापक्ष नेकपा एमालेका रामेश्वर फुँयालले प्रदेश सरकारले विगत तीन वर्षमा जनतालाई स्वास्थ्य उपचार, एक घर एक धारा, प्रत्येक घरमा खरको छाना हटाई जस्तापाता उपलब्ध गराइएको र विपन्न नागरिकलाई उनीहरुको रुचिअनुसार प्रदेशका १३ वटै जिल्लामा कृषि उत्पादन, पशुपालन गर्न रु दुई अर्ब ऋण उपलब्ध गराइएको र आवश्यक ऐन कानूनको तर्जुमा गरी सरकारले राम्रो काम गरेकोले विश्वासको मत दिन आग्रह गर्नुभयो ।

बैठकमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले मुलुकको संविधान र गणतन्त्र व्यवस्थालाई तत्कालीन नेकपाको नेतृत्व तहले धरापमा पारेकोमा चिन्ता व्यक्त गर्दै जनताले निर्वाचित प्रदेशसभाको सरकारलाई ठूलो भरोसाका साथ विश्वास गरेकामा जनताद्वारा गरिएको विश्वासलाई वर्तमान सरकारले आघात पुऱ्याएको बताउनुभयो ।

बैठकमा प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले तत्कालीन नेकपाको नेतृत्वमा रहेको प्रदेश सरकारले राष्ट्रिय गौरवको आयोजनाको निर्माण गर्ने, विपन्न नागरिकलाई सहुलियतमा ऋण दिने र विद्युतीय बस सञ्चालन गर्ने योजना केवल दलगत स्वार्थका लागि राजनीति गर्ने प्रवृत्ति बढेकोमा आश्चर्य व्यक्त गर्दै प्रदेश सरकारले जनताका लागि भरोसा दिलाउने कुनै काम नगरेकाले मुख्यमन्त्री शाक्यले यथाशीघ्र राजीनामा दिनुपर्ने माग गर्नुभयो ।

उक्त बैठकमा नेकपा एकीकृत समाजवादी पार्टी संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डेले संसदीय प्रजातन्त्रलाई राजनीतिक दलको नेतृत्वको कारणबाट सङ्कटमा परेकोमा चिन्ता व्यक्त गर्दै दलका शिर्ष नेतृत्वले संविधानलाई धरापमा पार्ने कार्य गरेकोले त्यसै अनुरूप प्रदेश सरकारको भूमिका पनि शंकास्पद रहेको बताउनुभयो ।

प्रदेशसभाको अर्को बैठक यही कात्तिक १० गते बुधबार अपराह्न १ बजे बस्नेछ ।

  • तस्बिर रासस