प्रथम सिद्धिकाली कपको उपाधि सारडाँडा युथ क्लबलाई

प्रथम सिद्धिकाली कपको उपाधि सारडाँडा युथ क्लबलाई



तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं १ र २ को सुन्दरी गाउँ तथा ज्यामिरबोटस्थित आँखेताल तथा सिद्धिकाली मन्दिरको प्रवद्र्धनको लक्ष्यका साथ आयोजित प्रथम सिद्धिकाली कप–२०७८ भलिवल प्रतियोगिताको उपाधि सारडाँडा युथ क्लब भिमादले जितेको छ ।

विभिन्न ३० टिमको सहभागिता रहेको प्रतियोगितामा चण्डी देउराली युथ क्लब, चण्डीमैदान दोस्रो बन्यो भने मनकामना युथ क्लबले तृतीय स्थान प्राप्त गर्यो ।

प्रतियोगिताको उपाधि विजेता सारडाँडा युथ क्लबले ५० हजार रुपैयाँ नगद पुरस्कारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने द्वित्तीय चण्डी देउराली युथ क्लबले २५ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्यो । त्यस्तै, प्रतियोगिताको तृतीय स्थान प्राप्त गर्ने मनकामना युथ क्लबलाई १५ हजार रुपैयाँ नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरियो । प्रतियोगिताका विजयीलाई शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख सविता रसाइलीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा आँखेताल संरक्षण तथा सिद्धिकाली मन्दिरका अध्यक्ष दीपेन्द्र भण्डारी, खेल संंयोजक मानबहादुर आले, शुक्लागण्डकी नगरपालिका वडा नं २ का वडा अध्यक्ष जगतबहादुर गुरुङ, सुमन राना, खेम कुमाल, विष्णुहरि पन्थी, तीर्थराज खनाल, सञ्जय ढकाल लगायतले खेलकुदका माध्यमबाट सिद्धिकाली मन्दिर एवम् आँखेतालको प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगिता सम्पन्न भएसँगै सम्भावना भएर पनि ओझेलमा परेका आँखेताल तथा सिद्धिकाली मन्दिरको थप प्रचारप्रसार एवम् यहाँको गरिमा र महत्व बढ्ने विश्वास जगाएको स्थानीय युवा एवम् ढकाल फोटो स्टुडियो गगनगौडाका प्रोपाइटर मीनराज ढकालले बताउनुभयो ।