शंकराचार्यको घोषणा : बयालिस महिनामै नेपाल हिन्दूराष्ट्र बन्छ

शंकराचार्यको घोषणा : बयालिस महिनामै नेपाल हिन्दूराष्ट्र बन्छ



गुरु शङ्कराचार्यले अबको बयालिस महिनामा नेपाल हिन्दूराष्ट्र बन्ने उद्घोष गर्नुभएको छ । एकसय पैँतालिसौँ श्री मज्जदुरु शङ्कराचार्य गौबर्धन मठ पुरी पीठाधीश्वर महाराजका रूपमा चिनिनुहुने उहाँले बयालिस महिनाभित्र नेपालसहित भारत र भुटान पनि हिन्दूराष्ट्र बन्ने बताउनुभएको छ ।

नयाँ दिल्लीसहित भारतका विभिन्न स्थानमा आयोजना गरिने महत्वपूर्ण धर्मसभाहरूमा सहभागिता जनाउन असोज १५ गते जगन्नाथपुरीबाट बाहिरिनुभएका शंकराचार्यले दिल्लीका विभिन्न स्थानका अतिरिक्त गाजियावाद, हरियाणाको गुरुग्राम फरिदावाद र वृन्दावनलगायतका स्थानमा आयोजित धर्मसभालाई सम्बोधन गर्नुहुनेछ । पुरीबाट धर्मयात्रामा निस्कने क्रममा असी प्रतिशतभन्दा बढी हिन्दुराष्ट्र (नेपाल, भुटान र भारत) को काम ब्रह्मलोकमै भइसकेको बताउँदै शंकराचार्यले भन्नुभएको छ- ‘हामी केवल निमित्त मात्र हौँ, यो पवित्र कार्यमा हामीलाई त केवल निमित्त बन्ने अवसर मात्र छ, यो पुनित कार्य सम्पन्न हुने सुनिश्चित छ ।’

शंकराचार्यले अगाडि भन्नुभएको छ- ‘जसरी भगवान् श्रीकृष्णजीले युद्धमा अर्जुनको सारथी बनेर युद्ध नलडिकन अन्यायमाथि न्यायको विजय गराएर पाण्डवहरूलाई गौरवान्वित गराउनुभएको थियो, त्यसैगरी बयालिस (४२) महिनामा हाम्रोसामु शिवावतारले देवताहरूको अनुग्रहबाट हिन्दुराष्ट्रको स्थापना गराइदिनुहुनेछ ।

महागुरु शंकराचार्यको अभिव्यक्तिलाई संसारभरिका हिन्दु धर्मावलम्बीहरूले निकै गम्भीरतापूर्वक लिने गर्दछन् । उहाँको यो उद्घोषलाई विश्वभरि हिन्दूहरूले निकै उत्साहपूर्वक लिएका छन् । शंकराचार्यलाई अति उच्च तहका राजनीतिकर्मीहरूले समेत सम्मान र सम्पर्क गर्ने हुँदा उहाँको उद्घोष राजनीतिक रूपले समेत अर्थपूर्ण रहने ठानिएको छ ।