एनआरएनएको अध्यक्ष निर्वाचित हुने विश्वासका साथ डा. केसीले गरे उम्मेदवारी घोषणा

एनआरएनएको अध्यक्ष निर्वाचित हुने विश्वासका साथ डा. केसीले गरे उम्मेदवारी घोषणा


निकट भविष्यमा हुन लागेको गैरआवासीय नेपाली सङ्घको १०औँ विश्व सम्मेलन तथा महाधिवेशनका लागि डा. बद्री केसीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी डा. केसीले गैरआवासीय नेपाली संघ (एनआरएन)को अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

आफूले एनआरएनएको निर्वाचनमा अहिलेसम्म हारेको इतिहास नरहेको भन्दै केसीले अध्यक्ष पदमा निर्वाचित हुनेमा आफू ढुक्क रहेको कुरा आत्मविश्वासका साथ व्यक्त गरेका छन् ।

हाल एनआरएनएको वरिष्ठ उपाध्यक्ष रहेका डा. केसीले सङ्घको राष्ट्रिय समन्वय परिषद् (एनसिसी)देखि काम गर्दै आएकाले लामो समयको अनुभव आफूसँग रहेको र आफूमाथि विश्वभरका एनआरएन मतदाताको विश्वास रहेको जिकिर गरे ।

ज्ञातव्य छ, रुसमा बस्दै आएका केसीको नेपालमा चिया, जलविद्युत्, रियल स्टेटलगायत क्षेत्रमा लगानी रहेको छ भने एनआरएनएमा उनी स्थापनाकालदेखि सदस्य रहेका छन् । कोरोना महामारीका बेला विदेशमा अलपत्र नेपाली नागरिकको उद्धार र राहतमा उनले एनआरएनएबाट नेतृत्वदायी भूमिका निर्वाह गरेर डा. केसीले प्रशंसा बटुलेका थिए ।

उम्मेदवारी घोषणा गर्दै केसीले आफ्ना मूल एजेण्डाहरु बुँदागत रूपमा सार्वजनिक गर्दै आफू विजयी बनेर यी एजेण्डाहरूलाई साकार तुल्याउने प्रतिबद्धता जनाएका छन् । नेपाल सरकारले संविधानमा व्यवस्था गरेका तर कार्यान्वयनमा आउन बाँकी गैरआवासीय नागरिकतालगायका अन्य व्यवस्थालाई कार्यान्वयनमा ल्याउन परिणाममुखी पहल गर्ने, नेपालमा लगानी भित्र्याउने उद्देश्यले स्थापित एनआरएनए डेभलपमेन्ट फण्डलाई अगाडि बढाएर त्यसमा वैदेशिक रोजगारीमा गएका श्रमिकलाई पनि समेट्ने, नेपालमा लगानी क्षेत्रको पहिचान गरी सुरक्षित लगानी प्रवर्द्धनका लागि नेपाल सरकारको संघदेखि प्रदेश र स्थानीय तहसँग सहकार्य गर्ने, रेमिट्यान्सलाई उत्पादनमुलक क्षेत्रमा लगानीका लागि प्रोत्साहन गर्ने, गैरआवासीय नेपाली र वैदेशिक लगानी आकर्षित गर्न दोहोरो कर छुटसम्बन्धी सम्झौता गर्न सरकारसँग पहल गर्ने लगायत एजेण्डा आफ्नो प्रतिबद्धता पत्रमा उनले समेटेका छन् ।

यस्तै, विदेशमा बस्ने नेपालीलाई राजनीतिक अधिकारसहित विदेशबाटै मतदान गर्ने व्यवस्था मिलाउन नेपाल सरकारसँग पहल गर्ने, गैरआवासीय नेपालीको नेपालमा रहेको सम्पत्तिको सुरक्षाका लागि कानुनी व्यवस्था मिलाउन नेपाल सरकारसँग पहल गर्ने पनि उनको प्रतिबद्धताका बुँदा रहेका छन् ।

हेर्नुहोस्, एनआरएनएका अध्यक्ष प्रत्यासी डा. केसीको प्रतिबद्धतापत्र-