हिमानी र मनिषाबीच कस्तो सम्बन्ध-साइनो !

हिमानी र मनिषाबीच कस्तो सम्बन्ध-साइनो !


आपसी सम्बन्ध जबर्जस्ती ‘शो’ गर्नैपर्छ भन्ने त छैन, मनिषा र हिमानीबीच पनि यस्तै शालिनता छ सम्बन्धको सवालमा !

  • राजन घिमिरे

दुवैको विधा फरक, क्षेत्र फरक अनि पहिचान फरक । तर, पछिल्लो समय पूर्वयुवराज्ञी हिमानी शाह र अभिनेत्री मनिषा कोइरालाबीचको मित्रता देखेर धेरैले धेरै थरी अड्कलबाजी गर्न थालेका छन् । मानिसहरूको आश्चर्यमिश्रित जिज्ञासा छ- ‘यी दुई सेलिब्रेटी पर्सनाल्टीबीच झ्याङ्गिदै गएको सम्बन्ध किन, कसरी र केका लागि ?’

तर, ‘के हिमानी र मनिषा सँगै हुन नहुने ? एकले अर्कोलाई बुझ्न नहुने ? अनि दुईबीच बिचार आदान-प्रदान गर्नै नहुने ? अनि दुवैको मन, भावना र धारणा मिल्नै नहुने ?’ यो सवालचाहिँ पङ्क्तिकारको ।

त्यसो त, हरेक कुरा प्रसङ्ग र विषयमा आफ्नै सोच र धारणा लादेर शंका गर्ने अनि तिललाई ताड बनाएर ब्याख्या गर्नेहरूको सोच, विचार र बुझाइको तरिका नै गलत भएको ठहर गर्नेहरूको सङ्ख्या पनि सानो छैन यहाँ ।

पछिल्लो समय मनिषा कोइराला अब ढुक्कै भएर नेपालमा नै बसाइँ सरेकी छन् । सिनेमाको चमकदमक दुनियाँबाट लगभग विश्राम लिएर बाँकी जीवन सादा तरिकाले बिताउने उनको पछिल्लो सोच एवम् प्रयास कुनै कोणबाट पनि शङ्का जनाउनुपर्ने विषय होइन, बरु प्रशंसनीय प्रयत्न हो । यता युवराज्ञी हुँदा र आज ‘पूर्व’ विशेषण लाग्दा पनि हिमानीको उपस्थितिमा कहिले र कहिँ पनि अस्वाभाविक ‘शान’ ‘मान’ र ‘रवाफ’ देखिँदैन । साधारण तरिकाले उनले आफूलाई सामाजिक कार्यमा अगाडि बढाइरहेकी छन् ।

अहिले मात्र आएर यी दुई व्यक्तित्वबीचको सम्बन्ध गाढा, घनिष्ठ देख्ने र सम्बन्धमा शङ्कालु नजर गाड्नेहरूलाई के थाहा हिमानी र मनिषाको सम्बन्ध वा मित्रता कति पुरानो हो भन्ने कुरा ! समय र भाग्यले एउटालाई चर्चित हिरोइन बनायो भने अर्कोलाई दरबार भित्र्यायो । वास्तवमा बीचमा विविध कारणले यी दुईलाई ब्यस्तताले टाढा बनाएको मात्रै हो ।

मनिषा कोइराला र हिमानी शाहबीचकोे माया, सम्बन्ध र मित्रताको फेहरिस्त लामै छ भन्दा अचम्म लाग्न सक्छ तर वास्तविकता यही हो । चर्चाको बजारमा यतिबेला सामाजिक सन्जालले देखाएजस्तो आजको आजै मात्र जन्मिएको सम्बन्ध होइन यी दुईको । कुरा काट्नेहरूले आजको अवस्थालाई मात्र बुझ्ने र सम्बन्धलाई राजनीतिमा लगेर जोड्दैमा त्यसमा सत्यता छ भनेर विश्वास गर्ने आधार खै ? यी दुईबीचको सम्बन्ध मनिषा हिरोइन र हिमानी युवराज्ञी हुनुभन्दा अघिदेखिकै हुन सक्दैन र ? हिमानी र मनिषाबीच आज देखिएको सम्बन्धलाई राजनीतिक रङ्ग दिन खोज्नेहरूले यो कुराको हेक्का राखेनन् कि यी दुवैको अर्को पाटो सामाजसेवा पनि हो भन्ने कुरा ।

दुवै व्यक्तित्व सामाजिक कार्यमा तल्लीन अनि सक्रिय छन् । यो कुरा नबुझ्ने हरूले सम्बन्धको सेतु बुझ्ने चेष्टै नगरी अनुमानको भरमा हौवा चलाइरहेका छन् । आपसी सम्बन्ध जबर्जस्ती ‘शो’ गर्नैपर्छ भन्ने त छैन, मनिषा र हिमानीबीच पनि यस्तै शालिनता छ सम्बन्धको सवालमा । सार्वजनिक स्थलमा गएर चिया खाएको, नाचेको या अन्य गतिविधि गरेको कुरा सँगै तस्बिर खिचेर सामाजिक सञ्जालमा पोष्ट्याउनै पर्छ र ? एउटा गीत छ नि ‘कति कुरा नभनेर नै मिठा मिठा मिठा हुन्छन्…!’ हो, यो गीतको भावजस्तै हुन सक्दैन र कसैबीचको सम्बन्ध ?

हिमानी र मनिषाबीचको सम्बन्धलाई राजनितीसँग जोडेर किन हेरिएको छ ? बुझ्न सकिएको छैन । कति सम्बन्ध, सहकार्य र सुझबुझ राजनीतिभन्दा माथि हुन्छ भन्ने किन हामीले बुझ्न सकिरहेका छैनौँ ? दुई उच्च छवि भएका पात्रबीचको सम्बन्ध र र उनीहरूबीचको घनिष्ठतालाई राजनीतिमै लगेर जोड्ने प्रवृत्तिबाट हाम्रो समाज कहिले मुक्त होला ???