सहकार्यका निम्ति सभामुख बदल्ने शर्त

सहकार्यका निम्ति सभामुख बदल्ने शर्त



सत्तारुढ काङ्ग्रेसले केपी शर्मा ओलीलाई आफूनिकट बनाउन प्रयास गरेपछि नेकपा एमालेले सभामुख पदबाट अग्नि सापकोटालाई हटाउन अनौपचारिक प्रस्ताव काङ्ग्रेससमक्ष पठाएको जानकारी घटना र विचारलाई प्राप्त भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा यतिबेला ओलीलाई रिझाउन अनेक प्रयत्न गर्दैछन् र, सत्ता-साझेदारीका निम्ति समेत उनले प्रस्ताव राखिसकेका छन् । तर केपी ओली सत्ता–साझेदारी गर्नेभन्दा पनि काङ्ग्रेससँग मिलेर केही राजनीतिक महत्वका निर्णय लिन इच्छुक भएको बुझिन्छ । त्यसैले सहमतिको प्रारम्भ सभामुखबाट अग्नि सापकोटालाई हटाएर गरौँ भनी एमालेले देउवासमक्ष सन्देश पठाएको छ ।

जानकारी अनुसार सभामुखका रूपमा सापकोटाको भूमिकालाई लिएर प्रधानमन्त्री देउवा पनि सशङ्कित छन् । एमसीसी अनुमोदनमा सभामुख सापकोटा बाधक बन्न सक्ने सम्भावनालाई देखेर देउवा सशङ्कित बनेका हुन् । सांसदहरूलाई कारवाही गर्ने कुरामा सभामुखले निष्पक्ष व्यवहार नदेखाएपछि नेकपा एमालेले सापकोटाको राजीनामा माग्दै आएको छ । माओवादीद्वारा टोपबहादुर रायमाझी, रामबहादुर थापा, लेखराज भट्ट र प्रमुख साहलाई सांसद पदबाट मुक्त गर्न पत्र लेखिँदा तत्काल कारवाही भएको थियो, तर नेकपा एमालेले पार्टीको ह्वीप उल्लङ्घन गर्ने माधवकुमार नेपालसहित चौध सांसदहरूलाई कारवाहीका निम्ति पत्र लेख्दा सापकोटाले त्यसको बेवास्ता गरे र, माधवलाई छुट्टै पार्टी गठन गर्न मौका दिए । सभामुखको यस्तो दोहोरो र पक्षपाती भूमिकालाई लिएर एमाले क्रुद्ध बनेको छ । त्यसैले काङ्ग्रेससँग सहकार्यका निम्ति एमालेले सभामुख बदल्ने शर्त राखेको छ । एमालेको शर्तप्रति काङ्ग्रेस सकारात्मक जस्तो देखिए पनि देउवाले यसलाई माओवादीसँग ‘बार्गेनिङ टुल्स’ बनाउन सक्ने सम्भावना छ । माओवादीलाई एमसीसी अनुमोदनको पक्षमा आउन दबाब बढाउने र, माओवादी ‘लाइन’मा नआए मात्र सभामुख बदलेर एमालेसँग सहकार्य गर्ने ठाउँमा काङ्ग्रेस पुग्न सक्ने देखिएको छ ।