काङ्ग्रेसको इसाइ सङ्घ !?

काङ्ग्रेसको इसाइ सङ्घ !?



नेपाली काङ्ग्रेसको नीति-व्यवहार इसाइमैत्री हुँदै गएपछि धर्मान्तरणका निम्ति सक्रिय रहेका इसाइहरूको उत्साहमा अधिक वृद्धि भएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेता बालकृष्ण खाण गृहमन्त्री बनेयता काङ्ग्रेसभित्रका इसाइहरूको हौसला दोब्बर वृद्धि भएको पाइएको छ ।

यतिबेला भरतपुर महानगरमा उपमेयर बनाइएकी पार्वती साह इसाइकरणका पक्षधरहरूलाई सङ्गठित गरेर काङ्ग्रेसको भातृसंस्थाका रूपमा मान्यता दिलाउन सक्रिय भएकी छिन् । गृहमन्त्री बालकृष्ण खाणनिकट मानिएकी पार्वतीले झण्डै पौने दुई सय इसाइहरूलाई पार्टीको नयाँ क्रियाशील सदस्यता दिलाउन कोशिस गरेकी थिइन् । पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले निकै ठूलो मेहनत गरेर पार्वतीको प्रयास असफल तुल्याइदिनुभएको थियो ।

करिव दुई वर्षअगाडि गृहमन्त्री बालकृष्ण खाणले सभापति शेरबहादुर देउवासँग इसाइहरूको सङ्गठन बनाएर त्यसलाई भातृसंस्थाको मान्यता दिनुपर्ने माग राख्नुभएको थियो । अहिले बालकृष्ण खाण गृहमन्त्री भएकै बेला उहाँको निकटतम् मानिएकी पार्वती साह इसाइकरणका पक्षधरहरूलाई समेटेर सङ्गठन निर्माण गर्न अग्रसर हुनुले अनेकौँ प्रश्न र आशङ्का जन्माएको छ ।