नेपाल खेलकुद महासंघको अध्यक्षमा केशव विष्ट

नेपाल खेलकुद महासंघको अध्यक्षमा केशव विष्ट



राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्यसचिव केशवकुमार विष्टको नेतृत्वमा ‘नेपाल खेलकुद महासंघ’को नयाँ समिति गठन भएको छ ।

यसअघि नेकपा एमालेनिकट नेपाल खेलकुद महासंघमा ३३६ सदस्यीय केन्द्र्रीय कार्यसमिति रहेको थियो । उक्त कार्यसमितिका ३०७ जना केन्द्रीय सदस्यले एकीकृत समाजवादीको जनवर्गीय संगठनको रुपमा महासंघमा रहने निर्णय गरेपछि विष्टको नेतृत्वमा नयाँ समिति गठन गरिएको हो ।

नयाँ समितिले महासंंघको १२ सदस्यीय पदाधिकारी तथा ७५ सदस्यीय सचिवालय कार्यसमिति समेत गठन गरेको छ । महासंघको राष्ट्रिय भेला आगामी कार्तिक १२ र १३ गते काठमाडौंमा गरिने उपमहासचिव डा. विजय पौडेलले जानकारी गराएका छन् ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा मुलुकको गौरव बढाउन खेलकुद सशक्त माध्यम भएको बताउँदै आफूले पाएको जिम्मेवारीमा खरो उत्रिने प्रतिबद्धता विष्टले जाहेर गरेका छन् ।