खुकुरी मार्शल आर्ट्सको उपाधि बाग्मतीलाई

खुकुरी मार्शल आर्ट्सको उपाधि बाग्मतीलाई


बागमती प्रदेशले प्रथम राष्ट्रिय केन्पो खुकुरी मार्सल आर्ट्स च्याम्पियनसिपको उपाधि जितेको छ । ७ स्वर्णसहित बागमती समग्रमा टिम च्याम्पियन बनेको हो ।

नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघद्वारा आयोजित प्रतियोगितामा ६ स्वर्णसाथ सुदूरपश्चिम प्रदेश दोश्रो र ३ स्वर्णसहित कर्णाली प्रदेश तेस्रो भयो । लुम्बिनी प्रदेश र प्रदेश २ ले समान १–१ स्वर्ण जिते ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको सेमी केन्पोतर्फ महिला ५०–५४ केजीमा कर्णालीकी निरुता कोइराला तथा ५५–५९ केजीमा बागमतीकी शितल बोहरा पहिलो भए ।

समूहगत काताको पुरुषमा सुदूरपश्चिम पहिलो, कर्णाली दोश्रो तथा लुम्बिनी र प्रदेश २ तेश्रो भए । सोही स्पर्धाको महिलामा बागमतीले स्वर्ण, लुम्बिनीले रजत तथा कर्णाली र प्रदेश २ ले काँस्य हात पारे ।

प्रतियोगिता सञ्चालका लागि मुख्य जज सन्जितकुमार राईको नेतृत्वमा जज सिद्धार्थ लामा, जज उद्धव थापा मगर, जज रमेश महर्जनलगायत १५ सदस्यीय प्राविधिक टोली परिचालन गरिएको थियो ।

प्रतियोगितामा प्रदेश १ बाहेक विभिन्न ६ प्रदेशका १ सय खेलाडीले २० स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।