सभामुख निष्पक्ष नबन्दा संसद् अवरुद्ध गर्नुपरेको केपीको प्रष्टोक्ति

सभामुख निष्पक्ष नबन्दा संसद् अवरुद्ध गर्नुपरेको केपीको प्रष्टोक्ति



अगुवा कार्यकर्ता भेलामा अध्यक्ष ओलीले भने- ‘पिलो निचोरेर एमालेको वजन घट्दैन, पतकरले कोशीको भेल थुनिँदैन’

प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भएर काम गर्न नसकेका कारण संसद् अवरुद्ध गरिएको बताएका छन् ।

नेकपा एमाले झापाले मंगलबार विर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा अध्यक्ष ओलीले एमालेविरुद्ध षड्यन्त्र गरिएकाले प्रतिनिधिसभा अवरुद्ध गर्नु आफूहरुको बाध्यता भएको बताए । आफ्नो नेतृत्वमा गठन भएको सरकारका पालामा मुलुकले प्रगति गरेको, व्यापार घाटा घटाएको र निर्यात बढाएको उनको भनाइ थियो ।

आगामी निर्वाचनबाट एमाले पुनः सत्तामा फर्किने ओलीको दाबी छ । एमालेलाई विभाजनको खासै असर नपरेको जिकिर गर्दै उनले भने, ‘हाम्रो विजय यात्रालाई कसैले रोक्न सक्दैन, पिलो निचोरेर एमालेको वजन घट्दैन, पतकरले कोशीको भेल थुनिँदैन ।’

अध्यक्ष ओली आजै पार्टी कार्यकर्तालाई सम्बोधन गर्न काठमाडौंबाट झापा पुगेका थिए ।

file photo