बेल्जियमका नेपाली बालबालिकाको निम्ति नेपाली भाषाकक्षा सञ्चालन

बेल्जियमका नेपाली बालबालिकाको निम्ति नेपाली भाषाकक्षा सञ्चालन


  • सनत आचार्य

गैरआवासीय नेपाली संघ बेल्जियम र साङ्ग्रीला समाज बेल्जियमको संयुक्त आयोजनामा नेपाली बालबालिका लागि भाषा, संस्कार र संस्कृति सिकाउने उद्देश्यले आइतबारदेखि लुभेनमा भाषा कक्षा सञ्चालन गरिएको छ ।

भाषाकक्षा सञ्चालनबारे जानकारी गराउँदै एनआरएनका अध्यक्ष खड्गबहादुर केसीले भाषाकक्षाको आवश्यकता सबैले महसूस गरेको विषय भएकोले आफूहरूले यो कार्यक्रमको शुरुवात गरेको उल्लेख गर्नुभयो ।

उहाँले प्रवासमा जन्मे-हुर्केका नेपाली बालबालिकालाई मातृभाषा र नेपाली संस्कारहरूको बारेमा जानकारी दिन र नेपाली भाषा सिकाउन आवश्यक रहेकोले यो कक्षा संचालनमा ल्याइएको जानकारी दिँदै यसबाट बालबालिकामा मातृभाषाको ज्ञान तथा सीप बढ्ने अनि व्यवहारिक रुपमा पनि उपयोगी हुने बताउनुभयो ।

यसको प्रभावकारिता र सफलताको मुल्याङ्कन गर्दै आगामी दिनमा बेल्जियमका विभिन्न शहरमा भाषाकक्षा संचालन गर्ने अध्यक्ष केसीले जानकारी दिनुभयो । यसका लागि अभिभावकको भूमिका महत्वपूर्ण भएकोले उहाँले यसतर्फ सोच्न आग्रहसमेत गर्नुभयो ।

भाषाकक्षा संचालन कार्यक्रममा उपस्थित अभिभावक दुर्गा खतिवडाले आफ्ना बालबालिकाहरूले नेपाली भाषा सिक्ने अवसर पाउँदा आफूहरू निकै हर्षित भएको बताउँदै अरु अभिभावकहरूले यसबाट फाइदा लिन अनुरोध गर्नुभयो ।

७ देखि ११ वर्षसम्मका बालबालिकाहरूलाई मातृभूमिको भाषा, संस्कृति र संस्कार सिकाउने उद्देश्यले संघ कि महिला सदस्य एवं शिक्षिका रुविना शर्माको अग्रसरतामा कार्यक्रम संचालन गरिएको छ । शर्माले यो कक्षा संचालनबाट आफू उत्साहित भएको बताउनुभयो ।

कक्षा संचालन प्रत्येक आइतबार दिउँसो १ बजेदेखि ३ बजेसम्म हुने जानकारी आयोजकहरूले दिएका छन् भने लुभेन क्षेत्रमा रहेका बालबालिकाहरूलाई मातृभाषा सिकाइ लाभ लिन एनआरएनएले आग्रह गरेको छ ।