तालिवानको कब्जापछि जागिर र पैसाको भयमा अफगानीहरू

तालिवानको कब्जापछि जागिर र पैसाको भयमा अफगानीहरू



काबुलको एक प्रमुख अस्पतालमा कार्यरत नर्स लतीफा अलिजादा उनको पाँच सदस्यीय परिवारमा एक मात्र रोजगार व्यक्ति हुन् । उनले घरखर्चका अतिरिक्त तीन छोरा र बेरोजगार पति समेतको हेरचाह गर्नुपर्ने दायित्व छ।

जब तालिबानले अफगानिस्तानमा कब्जा जमाए त्यसपछि उनी बेरोजगार भइन् र हाल भविष्यको चिन्तामा परेकी छिन् । जब कट्टर इस्लामी समूहले तलब नदिने, अनुहार छोप्ने गरी घुम्टो लगाउनुपर्ने र कामका सिलसिलामा पुरुष सहकर्मीहरूबाट समेत अलग हुनुपर्ने नियमहरू थोपर्न थाले ती २७ वर्षीया युवती जागिर छोड्न बाध्य भइन् ।

आफ्ना कलिला दुई बच्चाको हात समातेर दर्दनाक अवस्थामा काबुलको एक सडक बजारमा भेटिएकी उनले भनिन्, ‘मैले तलब नपाएको हुनाले जागिर छोडेकी छु । मलाई लगाइरहेको पोशाक नलागाउन, पुरुषहरूसँग काम नगर्न र महिलाहरूसँग मात्र काम गर्न आदेश दिन थालियो, जुन चिकित्सा पेशामा सम्भव छैन ,त्यसपछि म जागिर छाड्न बाध्य भएँ।’

अलिजादा जस्तै अफगानिस्तानका अन्य महिलाहरू अब तालिबानको अधीनमा चल्ने शासनमा के हुन्छ भनेर चिन्तित छन् । अचेल अफगानिस्तानको बजारमा खाद्यान्नको मूल्य बढेको छ, इन्धन को लागत बढेको छ र रोजगारीका अबसर समेत साँघुरिदै गएका छन् । जटिलता थपिँदै गएका छन् । यस विषयमा संयुक्त राष्ट्रसंघले समेत चासो व्यक्त गर्दै भनेको छ, ‘खाद्यान्न अभाव, उच्च मुद्रास्फीति र मुद्रामा गिरावटको डरले मानवीय आपतकालीन अवस्थातिर मुलुक अगाडि बढेको छ।’

एएफपीका अनुसार परिवर्तित राजनीतिक अवस्थाले गर्दा अब त्यहाँ धेरै सरकारी सेवाहरू बन्द हुने अवस्थामा छन् । अन्तर्राष्ट्रिय सहायता कटौती हुँदैछ र बाह्य सहयातामा निर्भर गतिविधिहरू बन्द हुँदैछन् र महिलाहरू थप प्रताडित हुने अवस्थाको सृजना हुन सक्ने देखिन्छ।