जानाजान दैवी-विपत्ति ननिम्त्याऔँ !

जानाजान दैवी-विपत्ति ननिम्त्याऔँ !


शाह कालले पनि शान्ति पाएन । कोत पर्व जस्ता बर्बर काण्डहरू भए । राजाहरू खोपाका भीमसेन बनाइए । श्री ५ को अगाडि श्री ३ ले हक जमाए । दोश्रो विश्व युद्धमा अर्काको लागि असंख्य वीर नेपालीहरू मर्नै गए । शाहकालले कमाएको टिष्टा काँगडा पनि लुछेरै लगे । जनयुद्ध भनी सोझा नेपालीहरू मारे । कति मारे हिसाबै छैन । दरबार हत्याकाण्डले सगरमाथाको शिरै झुकायो । चीन, भारतलाई समदूरीमा राख्दै आएको राजतन्त्रै गयो ।

  • महेश्वर जुजु राजोपाध्याय
महेश्वर जुजु राजोपाध्याय

सिद्धि दिने सिद्धिकाली नै रिसाएपछि कसको के लाग्छ ? ने.सं. ७६३ सम्म नेपाल शान्त थियो । हाम्रा देवी-देवता प्रकटै भइ रक्षा गर्नुहुन्थ्यो । ७५५ देखि ७६३ सम्म भक्तपुरमा राज गरेका राजा नरेश वा नरेन्द्र मल्लको राज्यकालमा अचानक किरातहरूले हमला गरेर आफ्नो हक जमाउन आए । राजा आत्तिए- ‘लौन माँ ! म के गरुँ ?’

माँ भ्रामरी बनी तिलमाधव नारायणको पाषाण मूर्तिको हातै फोडी असंख्य भमराको रूपमा प्रकट हुनुभयो र किरातहरूलाई टोकी-टोकी मार्नुभयो । टौमढी टोलको तिलमाधव मन्दिरमा किरातहरूका धनुर्वाण, भाला आदि सामान प्रदर्शन गरी राखेको अझै पनि छन् । सप्तशती चण्डी माँले भन्नुभएको थियो- ‘शत्रुहरूले सज्जनहरूलाई दुःख दिएमा म भँमरा भएरै आक्रमण गर्छु । स्वर्ग, मर्त्य, पाताल तीनै लोकको कल्याण गर्छु असंख्य रूपमा भँमरा बनेर दुष्टहरूको संहारै गर्छु ।’

तदाहं भ्रोमरं रुपं कृत्वाऽ संख्येयषद्पदम् ।
त्रैलोक्यस्य हितार्थाय बधिष्यामि महासुरम् ।। ५३ ।। (अध्याय ११ – चण्डी)

यो घटना सत्ययुगको होइन, केवल चार सय वर्ष पहिलेको सत्य-तथ्य इतिहास हो । कथा पुराण वा किम्बदन्ती होइन । त्यही भक्तराजाको छोरा जगत्प्रकाश मल्लले माँको कृपा पाएन, कोपको शिकार बन्यो । बिफरको महामारीले जवानीमै मरे । किनकि समय फरक परी माँ रिसाउनुभयो भनी जानी-जानीकन पनि राजा जगतप्रकाशले समय मिलाएन र कोपले लग्यो ।

ने.सं. ७४२ देखि ७७७ सम्म पाटन हाँकेका राजा सिद्धिनरसिंह मल्लले ज्येष्ठ पूर्णिमा नै सबभन्दा लामो दिनको ज्याथः अर्थात् बूढो पूर्णिमा ज्यापुन्हि भइसक्यो । परम्पराअनुसार अब आउने पुरुषोत्तम महिना हटाएर ज्येष्ठ महिनालाई नै आषाढ बनाऔँ भनी मङ्गलबजार दरबारबाहिर सार्वजनिक समारोह नै गरी जानकारी दिए । यो समारोह अहिले पनि गरिन्छ । छोरा श्रीनिवास राजा भएपछि तलेजु मूल चोकको बिच्चमै सानो स्वर्णमन्दिर नै बनाएर दिनरात बराबर हुने विषुव दिनको घाम त्यस सानो मन्दिरभित्र पसेको देखाएर ‘आजै वैशाख १ गते भयो, एक महिना वर सार्न अब आउने मलमास हटाऔँ’ भन्दा काशी विश्वनाथको पण्डा भगीरथ भैयाले विरोध गऱ्यो र राजा लाचार भयो । अनि आतङ्कै मच्चियो । दैवीकोप हुन थाल्यो । युवराज योगनरेन्द्र मल्ल दरबारै छोडेर लगनखेलमा बस्न गयो । ६ जना काजीहरूले राज गरे ।

भक्तपुरमा पनि राजा जगत्प्रकाश मल्लले चाड पर्वको समय बिग्रेरै यो अशान्ति भयो, समय मिलाऔँ भनी दरबारमै ज्योतिषी विद्वान्हरूको भेला नै गराए । बनारसी पण्डित चन्द्रशेखर मन्त्रीले ‘राज्यको दक्षिणतिर भिरालो परेकोले अशुभ भएको हो, सो भिरालोमा माटोले पुरेर समतल पारेपछि शुभ हुन्छ’ भन्न लगायो । समय मिलाउने कुरै उठाएन । दैवी कोप भइ पाटन र काठमाडौंसँग संग्रामै भयो । हात्ती र धेरै धन सम्पत्ति दिएर काठमाडौंसँग झुक्नै पऱ्यो । ७८३ मा न्हु पुखुको सूनको नागै लुटेर लगी काठमाडौं हनुमानढोका दरबारमा सजाए । अन्तमा बिफरको महामारीले ३४ वर्षको उमेरमै राजा जगत्प्रकाशलाई समेत खायो । जनता धेरै मरे ।

छोरा जितामित्रले पनि समय सुधारेन र ८०१ पौष कृष्ण अष्टमीको दिन राज्यको चारैतिर आगो सल्केर हाहाकारै भयो । त्यसको ४ महिनापछि राति ठूलै भूकम्प गई धेरै मरे, भत्के कत्रो अशान्ति ! भाजकस मन्त्रीले विधुवा कान्छी रानीलाई हातमा लिइ राजा नै भयो । दुवै एक जोडी भइ राज गरे । नाङ्गै नाचे । चरित्रभ्रष्टै भए !

काठमाडौंमा प्रतापी राजा प्रतापमल्ललाई हरसिद्धि देवीले मारी नै दिए । काहिँलो छोरा नृपेन्द्र्र मल्लले गद्दी पाए । ६ वर्ष पनि राज गर्न पाएनन्, १८ वर्षको जल्दोबल्दो जवानीमै मरे वा मारिए । कान्छो भाइ पार्थिवेन्द्र राजा भएको बेला श्रीपशुपति मन्दिरको उत्तर ढोकाबाट ८०२ मा आलो रगतै बग्यो । तैपनि समय सुधारेन र दैवीप्रकोपले उसलाई पनि चपायो । विष खुवाएरै मारे । १३ दिनसम्म काठमाडौं राजाविहीनै रह्यो । ८ वर्षको युवराज भूपालेन्द्रलाई गद्दीमा राखेर काजी लक्ष्मीनारायणले राज गऱ्यो । यिनलाई पनि ताडीनगरको अयोध्या ब्रम्हनालमा लगी मारे । दुई महिनापछि मात्र थाहा पायो र चिना मात्र जलाएर सद्गति दिए ।

४ वर्षको युवराज भास्करेन्द्र मल्ल राजा भएकै बेला ८२२ मंसीर शुक्ल पक्ष सप्तमीको दिन पुनः पशुपतिको जलरीबाटै रगत बग्यो । राजा भास्कर आत्तिएर त्यो साल आश्विनको मलमास हटाएर समय सुधारौँ भन्दा काजी बनारसी पण्डित झगल ठाकुर मानेनन् र उसलाई हटाएर त्यसपछिको रोलवाला मुसलमानलाई काजी बनाएर समय सुधारे । पद गुमेर बहुलाएको झगलले ‘मुसलमान काजीले मलमासमै दशैँ मनाएर हाम्रो धर्म बिगाऱ्यो’ भनी जनसाधारणलाई उचाल्यो । जनताले मुसलमानहरूलाई काट्नै पुगे । गृहयुद्ध नै भयो । राजा कायलै भएर झगललाई नै काजी बनाएर आतङ्क साम्य पारे । झगलले मलमासै कायम गरी राजालाई गलायो । कान, टाउको दुखेर असह्य पीडा भइ मानिसहरू मर्न थाले । एकै दिनमा सयौँ मरे । त्यही महामारीले युवा राजा भास्करेन्द्र (भास्कर) लाई पनि खायो । उत्पात, अशान्ति बढ्दै गयो र स्वर्ण युगको मल्ल राज्यै गयो । शाह कालले पनि शान्ति पाएन । कोत पर्व जस्ता बर्बर काण्डहरू भए । राजाहरू खोपाका भीमसेन बनाइए । श्री ५ को अगाडि श्री ३ ले हक जमाए । दोश्रो विश्व युद्धमा अर्काको लागि असंख्य वीर नेपालीहरू मर्नै गए । शाहकालले कमाएको टिष्टा काँगडा पनि लुछेरै लगे । जनयुद्ध भनी सोझा नेपालीहरू मारे । कति मारे हिसाबै छैन । दरबार हत्याकाण्डले सगरमाथाको शिरै झुकायो । चीन, भारतलाई समदूरीमा राख्दै आएको राजतन्त्रै गयो । दुई तिहाईको निर्वाचित सरकार पनि टिकेन । प्रतिपक्षले राज गऱ्यो । अब प्रतिपक्ष छैन । एकलौटी अराजकको राज भयो । गाईजात्रा !

अझै पनि बनारसी पण्डितहरू ‘नेपालले निर्णय गरेर हुन्छ ? भारतले निर्णय गर्नुपर्छ’ भनी कुबेलामा चाडपर्वहरू मनाएर माँहरूलाई महाकाली नै बनाए । क्रुद्धै पारे । आ-आफ्ना समयमा आएकाहरूलाई रित्तै फर्काए पछि कोप हुन्छ नै ! देवताहरू पात्रो हेरेर होइन प्रकृति हेरेर एक महिना अगाडि नै आए, निराशै भई फर्केपछि झन्झनै कोप बढेर यो हबिगत भयो ।

ती फटाहा दलालहरू आफै लेख्छन्- चैत्र ४ गते नै दिनरात बराबर भयो सुर्योदय र सूर्यास्त ६.१३ बजे । तर, वैशाख सङ्क्रान्ति एक महिनापछि रे । पात्रो हेर्नुहोस् ६, ७ गते नै सूर्य अर्को महिनामा पुगेको देखियो । चैत्र ६ गते सूर्य मेषमा (वैशाखमा) पुगेको देखियो, मेषे दृश्यार्कः । तर, एक महिनापछि मात्र वैशाख रे ।

सिद्धि सफलता दिने दशैँकी महाशक्ति आउनुहुँदा, सोह्र श्राद्धमा पितृहरू आउनुहुँदा अहिले होइन, एक महिनापछि आउनुहोस् भनी अपमान गर्दा रिसाउनु, चित्त दुखाउनु स्वाभाविकै हो । अनि सिद्धिले कसरी काम गरोस् ? समय सुधारौँ !

अतः अब आउने पुरुषोत्तम महिनालाई सामान्य महिना मानौँ । विषुवकालमै विष्का जात्रा मनाऔँ । उत्तरायण प्रारम्भ हुने पुस ९ गतेको २५.५० दिनमान रहेको साइतैमा माघी पर्व मनाऔँ ! कोरोनालाई भगाऔँ ! मानव संहारलाई रोकौँ, रोक्न लगाऔँ ! रिसाउनुभएकी माँलाई पितृदेवताहरूलाई शान्त पार्न हाम्रा पुर्खाहरूले गरी जानुभएजस्तै अब आउने मलमासलाई हटाएर १२ महिनामै सीमित गरौँ/गराऔँ ! विश्वकै कल्याण गरौँ । आजैदेखि परिवारमा, सम्धी-परिवारमा छलफल गरी समय सुधार्न तयार रहौँ ! चैत्र १ गतेलाई नै वैशाख १ गते भन्दा चैत्रका गतेमा गिरिने उत्सवहरू, दिवसहरू त्यो वर्ष कहाँ गर्ने । समस्या नै पर्छ । अतः गते, बार नचलाइ मलमास मात्रै एक वर्षको लागि निलम्बन गरौँ !

जय अम्बे !