एक लाहुरेको लाहुरपछिको पौरखी कथा

एक लाहुरेको लाहुरपछिको पौरखी कथा


सेप्टेम्बर महिनाको शुरुवातबाट बेलायतमा शरद ऋृतुको आगमन भएको छ जसले अनायासै चिसो स्याँठ पनि भित्र्याएको छ । रात लम्बिएकोले विहानको चार बजे पनि मध्य रातजस्तो लाग्न थालेको छ । फेल्थामको बेडफोन्ट लेनमा फाट्टफुट्ट केही गाडीहरु चल्न थालिसकेका हुन्छन् । आउँदो अक्टोबरमा ६३ वर्ष लाग्दै गरेका विष्णु गुरुङ आफ्नो नेपाली मान्यताअनुसार बुढ्यौलिएको शरीरलाई न्यानो लुगामा थामथुम पारी घरबाट बाहिरिन्छन् र ड्राइभवेमा पार्क गरिएको कारमा चढ्छन्, उनलाई ट्विकिन्हामको बस टर्मिनलबाट यात्रुबाहक बस चलाउनु पर्दछ पाँच बजे ।

‘‘हिजोजस्तो लाग्थ्यो गोर्खाको बारपाक सुलिकोट गाउँपालिकाको सौरपानी ४ को बिकट गाउँ फुन्चोकबाट साथी थम्बप्रसादसँग उकालीओह्राली गर्दै डुम्रे निक्लिएर भैरहवाको पक्लिहवाको ब्रिटिश क्याम्पमा फाइनल छनोटको लागि हिँडेको, तर सम्झेर ल्याउँदा त ४५ वर्ष बितिसकेछ’’ –उनी कार चलाउँदै भन्छन् । पौरखी अनि मिहेनती मानिसहरुलाई समय कटेको पत्तो लाग्दैन, समय पँखा लगाई उड्दै गएको पनि थाहा पाउँदैनन् विदेशमा नेपाली मानसिकताले । त्यस्तै भएको हो, जीवनमा लाहुरे भएर घरसँसार सजाउने सपना बोकी १७,१८ वर्षे उरेन्ठ्यौउले वैंशलाई च्याप्दै एक जोर स्कुले लुगा र केही खानेकुरा झोलामा कोचेर पक्लिहवा साथीसँग हिँडेका थिए विष्णु चेपे खोलाको किनारै किनार सन् १९७६ ताका । दशैंको समय, शरदीय पवनको मिठास दिँदै डाँडापाखा चहकिरहेको बेला झोलामा एक जोर उही स्कूलको लुगा र केही खानेकुरा अनि दशबाह्र रुपिँया बोकेर हिँडेका विष्णुको मनमा उत्साह, अत्यास, आशा, उपसङ्का, भय, कौतुहलता एकैपटक उर्लिएको सायद पहिलोपटक त्यहीँ थियो ४५ वर्षअगाडि । गोर्खाको अति नै विकट गाउँ फुन्चोकमा तत्कालीन आधा दर्जन परिवारहरु रहन्थे, त्यहाँबाट दिनभरि हिँडेपछि चिलाउने गाउँमा रात बसी भोलिपल्ट साँघु तरेर चेपे खोलाको किनारै किनार अनि उकालो, ओह्रालो गरी तेस्रो दिनमा डुम्रेमा निक्लेपछि गल्लालाई भेटेका थिए तिनले । पृथ्वी राजमार्ग सन् १९७४ मा सञ्चालनमा आएको थियो, त्यसैले बस चढ्नको लागि गोर्खाबाट या त आँबुखैरेनी वा डुम्रे पुग्नु पर्दथ्थ्यो । विष्णु लाहुरे बन्नका लागि निक्लिएका बखत राजा महेन्द्रको चितवनमा निधन भएको पाँच वर्ष बितिसकेको थियो । तर युवराज बीरेन्द्र राजगद्दी एक वर्षअगाडि मात्रै सम्हालेका थिए । तुलसी गिरी तत्कालीन प्रधानमन्त्री थिए । नेपाल सोबेला हिप्पीहरुको प्रमुख तीर्थस्थल जस्तै थियो । बेलबटम पाइन्ट, ठूलठूला चस्मा अनि लामालामा कपाल पालेर गाँजा तान्दै हिँड्ने हिप्पीहरुलाई काठमाण्डौ अनि पोखराबाहेक गोर्खा, डुम्रेतिर पनि फाट्टफुट्ट देख्न पाइन्थ्यो । गोर्खाको फुन्चोकदेखि डुम्रेसम्मको यात्रामा भेटिएका केही खैरेहरुलाई देखाउँदै त्यो बेला, थम्बप्रसादसँगै विष्णुले तिनीहरुसँग जानीनजानी अँग्रेजीमा केही बोल्न चाहान्थे तर शब्दहरु मिलेर निक्लँदैनथिए, तिनै खैरेहरुका देशमा जाँदै गरेका तिनलाई अँग्रेजी भाषाले अत्यास लगाउन थालिसकेको थियो । डुम्रेमा बसमा चढ्दा देखिएका तिनै हिप्पीहरुतर्फ इंगित गर्दै गल्लाले ‘‘तिमीहरु पनि यिनीहरुकै देशमा जाने हो तर यिनीहरु जस्तै हुने होइन, यिनका कुइरिनीलाई मायासाया नगर्नु नी केटा हो ! कोर्टमार्शल हुन्छ’’ भनेको विष्णुलाई हिजैजस्तो लाग्दछ । तब सबै केटाहरु गललल हाँसेका थिए, आजभोलि विष्णु लण्डनमा रैथाने भएका छन्, स्थानीय बासिन्दालाई माया गर्ने अनि तिनबाट माया पाउने भएका छन् । तर अझै सम्झन्छन् –मानसिरी हिमाललाई उत्तर पार्दै बारपाक सुलिकोट गाउँपालिकाको सौरपानी ४ को फुन्चोक गाउँको पाखापखेरा, बारीहरु, वरिपरि हरियाली, समय ठप्प अड्केको जस्तो लाग्ने शान्त संसार, विकट तर निरास नबनाउने प्रकारको एकाँकीपन, घाँसदाउरा, बनभोज, दुई घण्टा टाढाको स्कूलको हिँडाइ अनि वल्लो, पल्लो गाउँका साथीहरु सम्झँदै उकालो र ओह्रालो पैदलैपैदल तीन दिन हिँडेर साँझमा डुम्रेमा बास बसेको अनि भोलिपल्ट पोखरामा पुगी अर्को बसमा चढेर वालिङमा बास बसेको र अर्को दिन मात्र भैरहवाको पक्लिहवामा पुगेपछि तिनका गाउँदेखि भैरहवासम्मको यात्राको थकाइलाई पचाउन सक्ने जाँगर उदाएको, किनकि पक्लिहवाबाट छानिएरै हङकङ जाने अठोट तिनको अटल जो थियो । त्यस्तै भयो, १९७६ मा अरु साथीजस्तै विष्णु पनि मलाया (हङकङ) को लाहुरेको लागि छनोट भएका थिए । अझै सम्झन्छन्, आफू लाहुरे भएको खबर गाउँमा बाबाआमालाई तुरुन्तै सुनाउन त्यहाँ हालजस्तो सञ्चारको सुविधा नभएकोले असमर्थ भएको थकथकीहरु ! उनलाई त्यसपछिका एकदुई रात आफूले सपनामा बाबाआमालाई सुनाउँदा सपनीमा नै आशीष थापेको अझै याद आउँछ ।

कारलाई स्टाफ पार्किङ लटमा पार्क गरेपछि ट्विकिन्हामको बस टर्मिनलमा पार्क गरिएको बस नम्बर २७६ मा चढी बस स्टार्ट गर्दै भन्दछन् विष्णु –‘‘यहाँ काम गरेको पनि १६ वर्ष भइसकेछ । थरिथरिका यात्रीहरुलाई तिनको लक्षमा लगिदिने काम पनि मलाई त पून्यको लाग्दछ ।’’ सन् २००५ मा हङकङबाट बेलायत भित्रिएका विष्णु सन् १९९५ मा १९ वर्षपछि ब्रिटिश सेनाबाट हङकङबाटै अवकास प्राप्त गरेका थिए, तब उली मात्र ३७ वर्षका थिए । ब्रिटिश सेनामा भी.एम. रहेकाले उनले अवकासको दुई महिनैपछि हङकङमै निजी कम्पनीमा सोहीअन्तर्गतकै काम पाएका थिए । पहिलो छुट्टीमा दुई महिनाको लागि गाउँ फर्किँदा नेपालमा ‘बहुदल कि निर्दल’ भन्नेमा निर्वाचनको समय चलिरहेको थियो । सूर्यबहादुर थापा प्रधानमन्त्री भएको सोबेला ठाउँठाउँमा राजा बीरेन्द्र अनि पञ्चायती व्यवस्थाको विरोधका कार्यक्रमहरु भइरहेका थिए । २१ वर्षको उमेर भएकोले उनको विवाह गर्नको लागि बाबाले निकै कर गरिरहेका थिए । विष्णु भन्छन् –‘‘न त दिन हेराउनु नै परेको थियो, न त एकअर्कोलाई राम्ररी बुझ्नु नै परेको थियो, दुबै नै सम्वन्धप्रति जिम्मेवार रहने हो भने कुनै पनि सम्वन्ध दिगो रहन्छ ।’’ अहिलेको समयमा त्यो अनौठो नै हो, विष्णु र उनकी श्रीमती सीताले एकअर्कोलाई राम्ररी नहेरी, नबोली भगाइएरै विवाहित भएका थिए, ४२ वर्ष बितिसकेको छ, एक छोरी अनि दुई छोराहरु सन्तानको रुपमा यहीँ बेलायतमा औसतका रैथानेभन्दा राम्रो आर्थिक अनि सामाजिक अवस्थाले स्थापित भएका छन्, त्यो विष्णु आफ्नो वैवाहिक जीवनको सफलता मान्दछन् ।

‘उबेला, पक्लिहवामा एकजना पोखरातिरका साथी छनोट नभएर ह्वाँ ह्वाँ रोएको’ देख्दा विष्णु आफू छनोट भएकोमा कतै भित्र दुखेको सम्झन्छन् । उनले सहन नसकी सबैलाई छनोट गर्ने गुरुजीलाई सो साथीको स्थितिबारे बताएका थिए, उनको आग्रहमा वा उनको बेलिबिस्तार लगाउने शैलीमा वा स्थितिको नाजुकतामा केही त्यस्तो थियो सायद, जसले गर्दा गुरुजीले सो साथीलाई आफूकोमा ल्याउनको लागि अह्राएका थिए, त्यो बेला विष्णुलाई आफू उडेको जस्तो महशुस भएको अझै सम्झन्छन् । आखिरमा उक्त साथी फेरि जाँच गरिई लाहुरेमा छनोट भएका थिए, जो अचेल यतै बेलायतमा छन् । विष्णुलाई सोबेला आफ्नो सानो प्रयासले अरुको अनुहारमा छाउने खुशीले दिने सुख वास्तविक लागेको थियो, सायद त्यसैले हुनसक्छ, उनी विस्तारै समाजसेवा अनि विविध च्यारिटेबल कामहरुमा रुची राख्दै गए । रिचमण्डको एक बस स्टपमा ह्वीलचेयरमा रहेकी महिलालाई बसमा उक्लनको लागि बस सिटबाट उत्रेर बाहिरै गई सघाउँछन् विष्णु, वृद्धा महिला उनलाई बाराम्बार धन्यवाद दिन्छिन् । कतिपय यात्रीहरु नियमित भएकाले हुनसक्छ, उनलाई नामै लिएर बोलाउँछन् अनि शुभप्रभात भन्छन् । यसै त नेपालीहरु हँसिला हुन्छन्, त्यसमाथि, भू.पू. गुर्खा भएकाले पनि हुनसक्छ, उनी ज्यादा हँसिला अनि फूर्तिला लाग्छन् बस चलाउँदै गर्दा । ‘‘निक्कै पपुलर हुनुहुँदो रहेछ त !’’, जिज्ञाशा राख्दा उनी ‘‘अब त्यस्तै हो’’ भन्दै हाँस्छन् ।

समाजसेवा गर्ने चाहना हुनसक्छ, त्यसले अन्ततः उनले लेबोर पार्टीको साधारण सदस्यता लिन पुगे सन् २०११ मा अनि विस्तारै स्थानीय राजनीतिमा चासो राख्न थाले । ब्रिटिश सरकारले भू.पू. गुर्खाहरुका हकमा उदारता देखाउँदै जाँदा नेपालबाट भू.पू. गुर्खाहरु आउने क्रममा तीब्रता आएको बेला थियो त्यो, सोबेला उनले फेलथाम, हान्स्लोवरपर धेरै भू.पू.हरुलाई सरकारी सुविधा दिलाउनका लागि सहयोग गरेका थिए । हान्स्लो नेपलिज कम्युनिटीको अध्यक्षता पनि गरेका विष्णु सन् २०१४ मा हान्स्लो बरोहको हान्वर्थबाट काउन्सिलरमा विजयी भए, जहाँ सन् ०१४ देखि ०१५ सम्म डेपुटी मेयर बने र सोही वार्डबाट फेरि सन् २०१८ मा काउन्सिलर बने । बेलायत युनियनबाट अलग हुँदै गरेको अवस्थामा बेलायतमा कन्जर्भेटिभ पार्टीले सर्वत्र जीत हाँसिल गर्दै गए पनि हान्स्लो बरोह लेबोरको अखाडा जस्तै रहेको थियो । आखिरमा बेलायत अलग्गियो, लेबोरको नराम्रो हारमाथि हार भयो, मुलुकमा कोरोनाको हाहाकार मच्चियो, मानिसहरु थोकको संख्यामा मर्न थाले, त्यसैमा यही सालको मेई महिनामा भएको स्थानीय चुनावमा लण्डनको एक बरोह हान्स्लोको पहिलो मेयरको रुपमा विष्णु निर्वाचित भए जहाँ २० वटा वार्डहरु पर्दछन् । लण्डनबाहिरका दुई बरोहमा दुई जना नेपाली पहिले नै मेयर बनिसकेका हुन् तथापि भारतीय, पाकिस्तानीहरुको ठूलो परिमाणमा बसोबास रहेको हान्स्लोमा तिनको परिमाणमा कम मात्रामा रहेका नेपाली मूलका सोमाथि भू.पू. गुर्खा मेयर बन्नु वास्तवमा नै उल्लेखनीय उपलब्धि भएको मानिएको छ ।

‘‘एक किसिमले अब मस्तसँग अवकास लिएर जीवनको मज्जा लिनु पर्ने हो तर काममा इङ्गेज नबसी मज्जा आउँदैन मलाई ।’’ –ब्रेकमा कफीको चुस्की लगाउँदै भन्छन् विष्णु । आफू भारी बोक्न सक्ने भएदेखि काम गर्न शुरु गरेका मान्दछन् विष्णु । विहानै जङ्गलमा गएर एक भारी घाँस ल्याएर गोठमा फाली दुई घण्टा हिँडेर स्कूल जाने अनि बेलुका स्कूलबाट आएपछि खाजा खाएर घाँस वा दाउरा लिन जङ्गल जाने गर्दागर्दै लाहुरे भएका उनले १९ वर्षपछि अवकास पाएको जम्मा दुई महिनाभित्रै फेरि हङकङमै काम गर्न थालेका थिए । र सन् २००५ पछि यहाँ बेलायतमा आजपर्यन्त काम नै गरिरहेका छन् । कहिलेकाहिँ श्रीमती अनि छोराछोरीले अब रिटायर्ड हुनु भन्दछन् । सबै विवाह वन्धनमा बाँधिसकेका छन्, यता आफैले दुइटा घर जोडिसकेका छन्, छोरा अनि छोरीको आफ्नै घर छन्, नातिनातिनी छन्, तथापि बिगत ४५ वर्षदेखि काम नै गरिरहेकोले आफू चुपचाप केही नगरी सायदै बस्न सकिएला भन्ने ठान्दछन् विष्णु । दिनको विहानै अथवा सखारै निस्केर अपवादबाहेक रातको अबेला फर्कने विष्णुलाई सार्वजनिक विदाका दिनहरुमा नेपाली समुदायलगायत अन्य समुदायहरुले राख्ने कार्यक्रमहरुमा पनि नबिराई सहभागिता राख्नु पर्ने हुँदा उनी अति नै व्यस्त बेलायती नागरिक हुन् भन्दा अत्योक्ती नहोला ।

दिउँसो साढे दुई बजे वाथ रोडस्थित हान्स्लो हाउसको कार पार्कमा कार पार्क गरेर माथि अफिसमा लाग्दा विष्णु भन्छन् –‘‘आज दुई वटा काम छन्, एक त सिटिजनशिप सेरेमोनीमा भाग लिने अनि अर्को काउन्सिल मिटिङ गर्ने, तपाईँ सिटिजन सेरेमोनीमा उपस्थित हुन सक्नु हुन्छ तर काउन्सिल मिटिङमा चाहिँ पाउनुहुन्न नी ।’’

हान्स्लो हाउसको एक कक्ष, विभिन्न मुलुकहरुबाट विविध मुहार तथा रङका प्रफुल्ल रुपमा उज्यालिएका मानिसहरु भएको ठूलो हल, परको भित्तानजिक सेतो टेबलपोस लगाइएको टेबलमाथि महारानीको ठूलो हँसिलो तस्वीर, चारजना जना स्थानीय गोह्रा अधिकारीहरु तमतयार भएको ठाउँमा पुग्छु । केही छिनपछि मेयर आउँदै गरेकोले सबैलाई खडा हुन भनिन्छ, म उठ्छु, सबै उठ्छन्, सुन र चाँदीको जलप लगाएको माला लगाएर कालो बिटको रातो रोब लगाएका विष्णु बाँयाको ढोकाबाट कक्षमा प्रवेश गर्दछन्, कक्षमा उपस्थित सबैले दिउँसोको अभिवादन गर्छन्, उनले हाँस्दै फर्काउँछन्, ती चारै अधिकारीसहित सबैले ईज्जत दिन्छन्, म सामान्जस्यता बनाउँछु, त्यसपछि केही क्षणमा रानीको नाममा सपथ खुवाइन्छ नागरिकता लिनेहरुलाई र एकपछि अर्को गर्दै नवआगन्तुक वा नवप्रवेशी बेलायती नागरिकहरुलाई मेयर विष्णु गुरुङको हात (वाहुली)बाट प्रमाणपत्र प्रदान गरिने कार्यक्रम शुरु हुन्छ । उनी हरेकलाई शुभकामना दिन थाल्दछन् र तिनीहरुसँग फोटो खिचाउँछन् । म उनलाई परैबाट बिदाइको ‘नमस्ते’ गर्दछु र आफ्नो गौरवान्वित छातीलाई अझ चौडा बनाएर हान्स्लो हाउसबाट बाहिरिन्छु त्यसपछि ।

०००००००००००००