नेपाली मिडियामा विदेशी लगानी : पाँच अन्तर्राष्ट्रिय संस्थाको मात्र करिव सत्तरी करोड

नेपाली मिडियामा विदेशी लगानी : पाँच अन्तर्राष्ट्रिय संस्थाको मात्र करिव सत्तरी करोड


नेपालका केही मिडिया तथा मिडियाकर्मीहरू जो नेपालको मौलिक धर्म-संस्कृति, जातीय एकता र सद्भावविरुद्ध क्रियाशील छन्, उनीहरूमाथि पश्चिमा मुलुकहरूको लगानी रहने गरेको अर्को एउटा तथ्य फेला परेको छ ।

यसअघि हङ्गेरियन मुलका अमेरिकी नागरिक जर्ज सोरजद्वारा सञ्चालित संस्था ओपन सोसाइटीले संविधान निर्माणका क्रममा कुल तीन अर्ब रूपैयाँ लगानी गरेको विवरण आफ्नो वेभसाइटमार्फ सार्वजनिक गरेको थियो । हरि शर्मा प्रमुख रहेको ओपन सोसाइटीको नेपाल एकाइले तीन अर्ब खर्च गरेको र, कुल रकममध्ये पन्ध्र प्रतिशत (पैंतालिस करोड रूपैयाँ) पत्रकारहरूमा तथा तीस प्रतिशत (नब्बे करोड) वकिलहरूमा र बाँकी रकम राजनीतिजीवीलगायत अन्यमा लगानी गरेको ब्यहोरा उक्त संस्थाले वेभसाइटमा अङ्कित गरेको छ । ओपन सोसाइटीबाहेक डीएफआइडी, युएसएड, युरोपियन युनियन, नर्वेजियन र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूले पनि नेपालमा धर्मनिरपेक्षतासहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना तथा यसको प्रवद्र्धनमा ठूलो रकम लगानी गर्दै आएका छन् ।

हालै प्राप्त नयाँ जानकारी अनुसार विभिन्न पाँच अन्तर्राष्ट्रिय संस्थाहरूले नेपालका खास-खास सञ्चारमाध्यम र सञ्चार क्षेत्रसँग सम्बन्धित संस्थाहरूमाथि कुल साठी लाख बाउन्न हजार सात सय छपन्न अमेरिकी डलर (करिव सत्तरी करोड रूपैयाँ) लगानी गरेका छन् । नेसनल इण्डोमेण्ट फर डेमक्रेसी, ह्युमानिटी युनाइटेड फण्ड फर वीमन इक्वेलिटी, द फ्रिडम फण्ड, युके फाउण्डेसन फर जस्ट सोसाइटी र युएस इन्स्टिच्युसन फर पिस नामक संस्थाहरूले नेपालका छब्बीस सञ्चारमाध्यम तथा सञ्चारसम्बद्ध संस्थामाथि लगानी गरेको विवरण घटना र विचारलाई प्राप्त भएको छ ।

उपलब्ध रकममध्ये सबैभन्दा बढी पन्ध्र हजार नौ सय बत्तीस अमेरिकी डलर प्राप्त गर्नेमा उज्यालो मल्टी मिडिया (एफएम रेडियो) रहेको छ । साउथ एशिया ट्रष्टले ६ लाख सात हजार नौ सय पैँतालिस, पानस साउथ एशियाले पाँच लाख सन्तान्नब्बे हजार सात सय त्रिहत्तर, शिक्षक मासिकले दुई लाख असी हजार सात सय, हिमाल एशोसिएसनले एक लाख त्रियान्नब्बे हजार चार सय अमेरिकी डलर प्राप्त गरेको देखिएको छ । उल्लिखित चार संस्था एउटै व्यक्तिले सञ्चालन गर्ने गरेको बताइन्छ ।

त्यस्तै, एफएम रेडियोसम्बद्ध संस्था एन्टेना फाउण्डेसनले तीन लाख सैंतिस हजार नौ सय एघार, एशोसिएसन अफ कम्युनिटी रेडियो ब्रोडकास्टर्स नेपालले तीन लाख चौरान्नब्बे हजार, सेतोपाटी सञ्चारले एक लाख अठ्ठाइस हजार, मार्टिन चौतारीले तीन लाख नब्बे हजार, शिक्षा पत्रकार समूहले त्रिचालिस हजार र नेपाल फोरम अफ इन्भारमेण्ट पत्रकारले बयान्नब्बे हजार ६ सय एकचालिस डलर प्राप्त गरेको सम्बद्ध दाता संस्थाबाट थाहा भएको छ । यही रकम पाएपछि उज्यालो नेटवर्क र एण्टेना फाउण्डेसनको सहकार्यमा ‘जातका कुरा’ नामक कार्यक्रम सञ्चालन भएको छ । कलाकार राजेश हमाललाई भाडामा लिएर उनीहरूले जातीय मुद्दाहरूलाई स्थापित गराउने कार्यक्रम चलाइरहेका छन् ।

नेपाली मिडियामा बाह्य लगानीको वर्षा किन भइरहेको हो– यसप्रति राज्यले चासो नराखे पनि जनस्तरबाट नै खोजी तथा अनुसन्धान हुनुपर्ने देखिएको छ ।