पवनदीप राजनले जिते इन्डियन आइडलको ट्रफी

पवनदीप राजनले जिते इन्डियन आइडलको ट्रफी


चर्चित सिङ्गिङ रियालिटी शो इन्डियन आइडलको १२औँ संस्करणको उपाधि पवनदीप राजनले जितेका छन् । पवनदीपले फाइनलमा पाँच जनालाई पछि पार्दै ट्रफीमाथि कब्जा जमाएका हुन् । इन्डियन आइडलमा विजय भएसँगै पवनदीपले २५ लाख भारतीय रुपैयाँ र एउटा लक्जरी कारसमेत जितेका छन् ।

इन्डियन आइडलको फाइनलमा यो पटक ६ जना समावेस थिए । जसमा पवनदीप र अरुणिता कान्जिलाललाई प्रमुख दाबेदार मानिएको थियो । अन्य चार जना प्रतिद्वन्द्वी उत्तिकै सशक्त भए पनि पवनदीप र अरुणिताको फ्यान फोलिङको तुलनामा उनीहरू निकै पछि थिए । यतिबेला पवनदीपलाई एक सय मिलियन फ्यानले फलो गरिरहेका कुरा आइडलका एङ्कर आदित्यनारायण बताएका थिए ।

देवभूमि उत्तराखण्डका चम्पावत जिल्लाका पवनदीपलाई बंगालकी अरुणिता कान्जिलालले फाइनलमा निकै टक्कर दिए पनि बाजी भने पवनदीपले मारे । त्यस्तै अरुणिताले दोश्रो स्थानमै चित्त बुझाउनु प¥यो । तेस्रो स्थान सायली काम्बले प्राप्त गर्दा मोहम्मद दानिस चौथो स्थानमा रहे भने पाँचौँ र छैठौँ स्थान क्रमशः निहाल र सनमुखप्रिया प्राप्त गरे ।

भारतको ७५औँ स्वतन्त्रता दिवसको मौका छोपेर आयोजना गरिएको इन्डियन आइडलको ग्य्राण्ड फिनाले १२ घण्टासम्म चलेको थियो । जसमा बलिउडका चर्चित गायक, गायिका र बलिउडका चर्चित कलाकारहरूको उपस्थिति रहेको थियो । उनीहरूले कार्यक्रममा आफ्नो प्रस्तुतिसमेत दिएका थिए ।

पवनदीपको जन्म २७ जुलाई १९९६ मा उत्तराखण्डको चम्पावत जिल्लामा भएको थियो । यो भन्दाअघि पवनदीपले सन् २०१५ मा जुनियरतर्फ ‘द भ्वाइस इन्डिया’को ट्रफी जितेका थिए । विजयसँगै पवनले ५० लाख भारतीय रुपैयाँ र अल्टो कार जितेका थिए । यो विजयसँगै उनले युनिभर्सल म्युजिक ग्रुपसँग आफ्नो पहिलो गीत रिलिज गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । साथै उनलाई त्यतिबेला नै उत्तराखण्डको युथ एम्बेस्डर समेत बनाइएको थियो ।

निकै भद्र र शालिन पवनदीपले इन्डियन आइडलको १२ संस्करणमा ट्रफी जितेपछि यो सबै ६ जना फाइनलिस्टको विजय भएको बताए । हामीहरू सबैले एक परिवार जस्तै भएर उत्कृष्ट प्रदर्शन गर्ने कोशिस गरेका थियौँ, एउटा मात्र विजयी हुने हुँदा त्यो मलाई प्राप्त भयो, म ज्यादै खुशी छु । सहभागी सबै साथीहरूले भविष्यमा पनि एक साथ मिलेर अगाडि बढ्ने बाचा गरेका छौँ ।

इन्डियन आइडलमा पवनदीप र अरुणिताबीचको प्रेम सम्बन्धले निकै चर्चा पाएको थियो । उनीहरूको प्रेम सम्बन्धलाई अझ कसिलो बनाउन आइडलका जजहरू खुद लागेका थिए । पवनदीप र अरुणितालाईसँगै गाउन लगाउनेदेखि लिएर उनीहरूलाई स्टेजमै प्रेमको प्रस्ताव गर्न समेत लगाएका थिए । सो अवसरमा पवनदीपले अरुणितालाई आफ्नो सवै भन्दा निकटको साथी अरुणिता भएको समेत बताएका थिए । यी दुईको जोडीलाई दर्शकहरूले पनि खुबै मन पराएका थिए ।

इन्डियन आइडलको ट्रफी पवनदीपले जितेपछि सबैभन्दा पहिले खुशी हुँदै अरुणिताले नै पवनदीपलाई अँगालो मारेर बधाई दिएकी थिइन् । आइडलमा यो जोडीलाई ‘अरुदीप’को नामले पनि चिनिन्थ्यो ।