प्रतिष्ठानले बहिष्कार गरेपछि दुर्गेशले दुःखेसो

प्रतिष्ठानले बहिष्कार गरेपछि दुर्गेशले दुःखेसो



‘मेरो लगानी डुबाउन खोजिएको हो, देशमा नभए विदेश जाउँला..’

अश्लील भावार्थ प्रवाह हुने गीत गाएको र, त्यसलाई युटुबबाट रिमुभ गर्न आग्रह गर्दा अटेर गरेको भन्दै पछिल्लो पुस्ताका चर्चित गायक तथा मोडल दुर्गेश थापालाई लोक तथा दोहोरी प्रतिष्ठानले बहिष्कार गर्ने निर्णय गरेको छ । आगामी दिनमा संस्थानका कुनै पनि गतिविधिमा दुर्गेशको सहभागिता नहुने, उनलाई संस्थानको तर्फबाट कुनै पनि प्रोत्साहन नगरिने प्रतिष्ठानका उपमहासचिव एवम् विकृति–विसंगति न्यूनीकरण विभाग समितिका संयोजक शिव हमालले जनाएका छन् । गत आइतबार बसेको कमिटी बैठकले निर्णय गरेअनुसार दुर्गेशसँग संस्थानका सदस्यहरू कोहीले पनि अब सहकार्य गर्ने छैनन् ।

दुर्गेशले १० दिन अगाडि मात्र आफ्नै शब्द, संगीत र स्वरमा ‘… ख्यास्स पुतली’ बोलको गीत सार्वजनिक गरेका थिए । गीत सार्वजनिक हुनुभन्दा अगाडि नै उनलाई ध्यानाकर्षण पत्र काट्दै गीतमा प्रयोग भएको शब्द आपत्तिजनक रहेको भनि हटाउन अनुरोध गरिएको प्रतिष्ठानले जनाएको छ । संस्थासँग कारवाही गर्ने अधिकार नभएकोले सामाजिक मर्यादालाई ख्याल गरेर यो काम गरिएको भन्दै हमालले अब संस्थानका जुन सदस्यले दुर्गेशसँग सहकार्य गर्छ, उनीहरूमाथि सोधपुछ गरिने चेतावनी दिए । पात्रलाई भन्दा पनि पात्रले गरेको जात्रालाई नियन्त्रण गर्न खोजेको प्रतिष्ठानको जिकिर छ ।

यसरी आफूलाई बहिष्कार गर्ने लोक तथा दोहोरी गीत प्रतिष्ठानको निर्णय सार्वजनिक भएपछि गायक दुर्गेश थापाले पनि संस्थानको निर्णय आफूखुसी भएको र यसमा आफूलाई सहभागी नगराइएको भन्दै आपत्ति जनाएका छन् । ‘संस्थान घर हो अदालत हैन’ भन्ने तर्क गर्दै उनले संस्थानभित्र रहेका केही व्यक्तिसँगको दुश्मनी यतिबेला हाबी भएको रहश्योद्घाटन गरे । ‘प्रतिष्ठानसँग लिनु नि छैन, दिनु नि छैन’ भन्दै उनले आफ्नो दृढता प्रकट गरे ।

आफूले पाँच महिनाअगाडि नै पोस्टर सार्वजनिक गरेको भए पनि पाँच महिनाको समयमा केही कुरा नआएको तर गीत सार्वजनिक गर्ने तीन दिन अगाडि मात्र पत्र दिएर हतोत्साहित तुल्याउन खोजेको दुर्गेशको जिकिर छ । आफूले केही लाख रुपैयाँ भिडियोमा लगानी गरेको तर यो जान्दाजान्दै लगानी डुबाइदिन खोजिएको आरोप उनले लगाएका छन् ।

आफूले गाएको भन्दा धेरै छाडा गीतहरू बजारमा उहिल्यैदेखि छ्याप्छ्याप्ती भए पनि त्यसमाथि प्रतिष्ठानको ध्यान नगएको दुर्गेशको आरोप छ । आफूलाई मात्र हेप्न खोजेको भन्दै उनले दुःख प्रकट गरे । देशमा गरिखान नपाए विदेश जाउँला भन्दै दुर्गेशले तिक्तता प्रकट गरे ।