पूर्व ब्वाइफ्रेण्डले ओलम्पिकमा पदक जितेपछि प्रेमिकालाई पछुतो

पूर्व ब्वाइफ्रेण्डले ओलम्पिकमा पदक जितेपछि प्रेमिकालाई पछुतो



टोकियो ओलम्पिकमा पूर्व ब्वाइफ्रेण्ड हेडन वाइल्डले पदक जितेपछि उनकी पूर्व प्रेमिकाले ब्रेकअप गरेर गल्ती भएको भन्दै पछुतो मानेकी छन् । न्युजिल्याण्डका खेलाडी वाइल्डले ट्रायाथलन खेलतर्फ ओलम्पिकमा तेस्रो स्थान हासिल गर्दै काँश्यपदक जितेका थिए ।

न्युजिल्याण्डले पहिलो पटक ट्रायाथलनमा ओलम्पिकमा पदक जित्दा देशमा खुशीको माहोल भए पनि उनकी प्रेमिका भने निरास थिइन् । ती प्रेमिकाले ओलम्पिक शुरु हुनुभन्दा केही समयपहिले मात्रै वाइल्डसँग ब्रेकअप गरेकी थिइन् ।

पहिलो पटक ट्रायाथलनमा न्यूजिल्याण्डलाई पदक दिलाएपछि सञ्चारकर्मी वाइल्डको घर पुगेका थिए । घरका सबैजना खुशी थिए । सोही समयमा सञ्चारकर्मीको जम्काभेट वाइल्डकी प्रेमिकासँग भयो । सञ्चारकर्मीले वाइल्डकी प्रेमिकासँग वाइल्डले ओलम्पिकमा पदक जित्दा कस्तो महसूस भैरहेको छ भनेर सोधेका थिए । त्यसपछि ती प्रेमिकाको जवाफ थियो– ‘वाइल्डसँग ब्रेकअप गर्नु मेरो गल्ती थियो भन्ने महसूस भइरहेको छ । वास्तवमा मलाई यतिबेला पछुतो लागिरहेको छ ।’

त्यस्तै, वाइल्डले ओलम्पिकमा पदक जितेकोमा गर्व लागेको बताउँदै यहाँसम्म पुग्न वाइल्डले गरेको कडा मेहनतको प्रशंसासमेत गरेकी थिइन् । ‘हामीसँगै स्कुल जान्थ्यौँ, तर अहिले उ ओलम्पिकमा पदक जितेर ठूलो मान्छे भैसकेको छ, यसमा मलाई गर्व र अपसोच दुवै लागेको छ’, पूर्वप्रेमिकाको भनाइ छ ।