गाइजात्रे झटारो ‘ओम बकम्फुसाय नम’

गाइजात्रे झटारो ‘ओम बकम्फुसाय नम’



‘गाइजात्रा’ हास्य र ब्याङ्ग्यको पर्वको रुपमा लिने गरिन्छ । यो दिनलाई लक्षित गर्दै बिभिन्न हास्य ब्यङ्ग्य सामाग्री बजारमा भित्रिने गर्दैछन् । आगामी भदौ ७ गते परेको गाइजात्रालाई लक्षित गर्दै लोकप्रिय हास्य कलाकार शिव शंकर रिजाल ‘जोगिन्दर’ले यो वर्षको लागि आफ्नो गाइजात्रे कमेडी कोसेली ‘ओम बकम्फुसाय नम’ ल्याएका छन् ।

देशको समसामयिक राजनीतिक, राजनीतिक दल र विकृति विसंगतिप्रति तिखो प्रहार गर्दै उनले ‘ओम बकम्फुसाय नम’ ल्याएका हुन् । रिजालको यो पटकको गाइजात्रे कोसेलीमा पनि एक प्यारोडी गीतसहित र प्रहसनसमेत समेटिएको छ । प्रहसनको केन्द्र भने तीन वर्षबढी सरकारमा बसेर बाहिरिएको ओली सरकारको क्रियाकलाप बनेका छन् ।

दुई दशकदेखि गाइजात्रा पर्वमा नियमित कोसेली ल्याउने गरेका रिजालको ‘ओम बकम्फुसाय नम’ २०औं कोसेली हो । गत वर्ष उनले ‘लकडाउन’ नामक गाइजात्रे कोसेली ल्याएका थिए ।

हास्य कलाकारका लागि गाइजात्रा एउटा महान् उत्सव भएकोले लामो समयदेखि यो वर्षमा गाइजात्रे कोसेली ल्याउने गरेको रिजालले बताए ।

‘गत वर्ष मेरो ‘लकडाउन’ नामक गाइजात्रे कोसेली आएको थियो । यो धेरैले हेरे, टिकटक लगायत सामाजिक संजालमा समेत भाइरल भयो’– रिजालले भने, ‘मैले हरेक वर्ष आफ्नो पर्सनल गाइजात्रे कोसेली ल्याउने गरेको छु ।’ अन्य कलाकारसँग मिलेर आउने गाइजात्रे कोसेली पनि आउने गरेकोर यो वर्ष पनि आउने रिजालले सुनाए ।

रिजालले ‘हुकुम बक्सियोस्’ गीतलाई यसमा प्यारोडीमार्फत नेताहरुको रमाइलो प्रस्तुति समेटेका छन् ।

गाइजात्रे प्रस्तुतिको भिडियोमा रिजालको अलावा दमन रुपाखेती, शशीविक्रम थापा, घनश्याम गौतम ‘नक्कली प्रचण्ड’, सुरेश तिमल्सिना ‘नक्कली ओली’, सबु लामिछाने, बेदमणि अधिकारी, प्रेम शर्मा पौडेल, श्रेया दुलाल, शिवराम कार्की, धिरेन्द्र सिंह लगायतको अभिनय रहेको छ । गायिका राधिका हमाल भिडियोमा राष्ट्रपतिको भूमिकामा देखिएकी छन् । भिडियो रमाइलो बनेको छ ।

२०६१ सालदेखि हरेक वर्ष निरन्तर रुपमा गाइजात्रे प्रस्तुति बजारमा ल्याइरहेका रिजाल गाइजात्रामा हास्यब्यङ्ग्य कार्यक्रम गर्नु, प्रस्तुति ल्याउनु आफ्नो धर्म नै मान्दछन् । अहिले आएको आफ्नो गाइजात्रे कोसेली समसामयिक विषय र राजनीतिक विकृतिप्रतिको खरो झटारो भएको उनको भनाइ छ ।

प्यारोडी गीतमा रिजाल र शंकर कार्कीको शब्द रहेको छ भने स्वर शशीविक्रम थापा र राधिका हमालले दिएका छन् ।