प्रधानमन्त्री र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

प्रधानमन्त्री र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता


प्रधानमन्त्री शेरबहादुर देउवा र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेनबीच मंगलबार टेलिफोन सम्वाद भएको छ ।

टेलिफोन वार्तामा नेपाल र अमेरिकाबीचको द्विपक्षीय हित र साझेदारीका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँहरूबीच द्विपक्षीय विकास साझेदारी, जलवायु परिवर्तन र यसको प्रभावका साथै आपसी चासोका अन्य विषयमा कुराकानी भएको थियो । साथै कोभिड–१९ विरुद्धको लडाइँमा अमेरिकाले नेपाललाई गरेको सहयोगसम्बन्धमा समेत उहाँहरूबीच कुराकानी भएको बताइएको छ ।

वार्ताका अवसरमा प्रधानमन्त्री देउवाले अमेरिकाले हालै नेपाललाई कोरोनाका विरुद्धको १५ लाख डोज खोप उपलब्ध गराएकोमा अमेरिकी विदेशमन्त्री ब्लिंकेनमार्फत अमेरिकी सरकारलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

अमेरिकाले यसअघि नेपाललाई कोरोनाविरुद्धको १५ लाख डोज जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराएको थियो ।