२९ भाद्र २०७८, मंगलवार

अमेरिकाले इराक मिसनबाट आफ्ना सेना फिर्ता बोलाउने

  प्रकाशित मिति
१२ श्रावण २०७८, मंगलवार १०:२९



अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकू सैनिकहरूलाई इराकबाट फिर्ता बोलाउने बताएका छन् । अमेरिकाको सेनाले थोरै संख्यामा मात्र भए पनि इराकमा बसेर इराकी सेनालाई तालिम र आवश्यक सरसल्लाह भने दिइरहने जानकारी उनले दिएका छन् ।

इराकी प्रधानमन्त्रीसँगको भेटवार्ताका क्रममा राष्ट्रपति बाइडेनले सो जानकारी गराएका सिन्ह्वाले जनाएको छ । हाल इराकी प्रधानमन्त्री मुस्ताफा अल–खादिमी अमेरिकाको भ्रमणमा छन् । प्रधानमन्त्री मुस्ताफासँग ह्वाइट हाउसमा भएको कुराकानीका क्रममा राष्ट्रपति बाइडेनले यस्तो घोषणा गरेका प्राप्त समाचारमा जनाइएको छ ।

उनीहरुबीच सोमबार ह्वाइट हाउसमा भेटवार्ता भएको थियो । इराकमा हाल २ हजार ५०० जना भन्दा बढी अमेरिकी सैनिक रहेका छन् । इराकमा पछिल्लो समयमा इस्लामिक स्टेट नामक आतंककारी समूहको उपस्थिति बढ्दै गएको बताइएको छ । हाल इराकमा रहेका अमेरिकी सैनिकहरूले इराकी फौजलाई इस्लामिक स्टेट लडाकूका विरुद्ध लड्न सहयोग गरिरहेको बताइएको छ ।

अमेरिकाको यो घोषणापछि पनि केही अमेरिकी सैनिक भने इराकमै रहने बताइएको छ । यो घोषणाको इराकले भने स्वागत गरेको छ । अमेरिकाले इराकी प्रधानमन्त्रीलाई सहयोगका लागि यो घोषणा गरेको हुनसक्ने अनुमान गरिएको बताइएको छ । इराकी प्रधानमन्त्री खादिमीले इराकमा कुनै पनि विदेशी सेना आवश्यक नरहेको बताए ।

उनले अमेरिकाको सो घोषणाको समर्थन गर्दै भनेका छन्– हामीलाई अमेरिकाको सैन्य सहयोग त आवश्यक छ, तर पनि इराकमै आएर सैनिक परिचालन नभएर इराकलाई सुरक्षा सामग्री र तालिमका विषयमा सहयोग दिँदा राम्रो हुनेछ । गत वर्ष इराकको राजधानी बग्दादमा अमेरिकी सेनाले ड्रोन हमला गर्दा एकजना उच्च इरानी सैन्य जनरल कासिम सुलेमानी र इरानको समर्थन पाएको शिया मुस्लिम मिलिसिया समूहका एक जना नेता मारिएका थिए । त्यसयता इराकमा अमेरिकी सेनाको झन् ठूलो विरोध भएको थियो । यहाँका राजनीतिक दलहरूले अमेरिकी नेतृत्वमा आईएसविरुद्ध लड्ने अन्तर्राष्ट्रिय फौज हट्नुपर्ने माग गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१३ वर्षीया बालिकालाई भारतमा बेचेको आरोपमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले ५० वर्षीया एक महिलालाई पक्राउ गरेको छ । भेरीगङ्गा नगरपालिका-६

केदार मगर, खोटाङ चार महिनादेखि बन्द गरिएको त्रिधार्मिकधाम हलेसी मन्दिर सोमबारदेखि खुला गरिइएको छ । जिल्लामा कोभिड–१९ को सङ्क्रमणदर घट्दै

राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकामा रहेको प्रतिभालाई प्रस्फुटन गराई भविष्यका जिम्मेवार नागरिक बनाउन अग्रसर हुनु राज्यको दायित्व भएको बताउनुभएको छ ।

चरन क्षेत्रको अभाव, जङ्गली जनावरको आक्रमण जस्ता कारणले ताप्लेजुङ उच्च क्षेत्रका स्थानीयवासी पशुपालनतर्फ निरुत्साहित हुँदै गएका थिए तर नाका बन्दले