खेलाडीबीच भौतिक दूरी कायम गर्न ओलम्पिक भिलेजमा ‘एन्टी सेक्स बेड’ !

खेलाडीबीच भौतिक दूरी कायम गर्न ओलम्पिक भिलेजमा ‘एन्टी सेक्स बेड’ !



२३ जुलाईदेखि शुभारम्भ हुन लागेको ‘टोकियो ओलम्पिक २०२०’मा कोरोनाबाट बच्नको लागि विभिन्न उपायको अवलम्बन गरिन थालिएको छ । त्यसमध्ये ओलम्पिक आयोजक कमिटीले अपनाएको एक नयाँ तरिका सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ ।

आयोजक कमिटीले खेलाडीहरूमा सामाजिक दूरी कायम रहोस् भनेर ओलम्पिक भिलेजमा ‘एन्टी सेक्स बेड’ राखेको छ । यस बेडको व्यवस्थाका कारण कुनै पनि खेलाडीले उक्त बेडमा चाहेर पनि सेक्सुअल क्रियाकलाप गर्न सक्ने छैनन् । यदि एकभन्दा बढी व्यक्ति यसमा बसे या सुते त्यो भाँच्चिन सक्छ ।

ओलम्पिक भिलेजमा राखिएका एन्टी सेक्स बेड कार्डबोर्डबाट बनेका छन् । यी बेडले एक जनाको मात्र भार वहन गर्न सक्छ । साथै एकभन्दा बढी व्यक्ति यो बेडमा बसे भाँचिन सक्छ । यसको उद्देश्य सामाजिक दूरी कम गर्नको लागि नै भएको आयोजक कमिटीले बताएको छ ।

आयोजक कमिटीले ओलम्पिक भिलेजमा कार्डबोर्ड बेड राखेपछि विश्वका केही चर्चित खेलाडीहरूले यसको आलोचना गरेका छन् । ती खेलाडीले आफू अहिल्यैदेखि जमिनमा सुत्ने अभ्यास गरिरहेको बताएका छन् । यी बेडहरू देख्दा जुनसुकै बेलामा पनि भाँच्चिन सक्ने भएकाले आफ्नो खेललाई प्रभावित हुन नदिन आफूले अहिल्यैदेखि जमिनमा सुत्ने अभ्यास गरिरहेको भनेर कटाक्ष गरेका छन् ।

त्यस्तै केही खेलाडीहरूले आयोजक कमिटीको प्रशंसा पनि गरेका छन् । ओलम्पिक खेलको समापनसँगै यी बस्तुहरू काममा नआउने र सरकारी खर्च अत्याधिक बढ्ने भएका कारण भविष्यमा रिसाइकल गरेर पुनः प्रयोगमा ल्याउनका लागि यो उपयुक्त तरिका भएको पनि बताइएको छन् ।