‘एनआरएनमा सबै प्रवासी नेपालीको अपनत्व हुनुपर्दछ’ : खड्गबहादुर केसी

‘एनआरएनमा सबै प्रवासी नेपालीको अपनत्व हुनुपर्दछ’ : खड्गबहादुर केसी


गैरआवासीय नेपाली संघ बेल्जियमको जुलाई २५ मा हुने निर्वाचनका लागि स्वतन्त्र समावेशी समुहको नेतृत्व गर्नुहुने खड्गबहादुर केसीको जन्म पर्वत जिल्लाको जलजला फाँटमा भएको हो । विगत २३ वर्षदेखि बेल्जियमका बस्दै आउनुभएका केसी आफू विगत १५ वर्षदेखि एनआरएनए अभियानमा सक्रिय रहेको बताउनुहुन्छ । एनआरएन बेल्जियमको दुई कार्यकाल उपाध्यक्ष पदमा कार्यरत रही साङ्ग्रीला समाज, क्षेत्री समाज बेल्जियमलगायतका विभिन्न संघ-संस्थामा नेतृत्वदायी भूमिकामा रहिसक्नुभएका केसीसँग युरोप प्रतिनिधि सनत आचार्यले गरेको कुराकानीका केही अंश :

० प्रवासमा रहेका नेपालीहरूको संगठन गैरआवासीय नेपाली संघप्रति तपाईंको बुझाइ के-कस्तो छ ?
– गैरआवासीय नेपाली संघ आम प्रवासीहरूको साझा संगठन हो । विदेशिएका नेपालीहरूको अपनत्व यो संगठनमा हुनु पर्दछ । यसभित्र केही विकृतिहरू पनि नभएका होइनन् । बेल्जियममा संघ स्थापना भएको १५ वर्ष भयो र, यहाँ यसले गरेका कामहरू स्वागतयोग्य नै छन् । वास्तवमा संघको आवश्यकता अझै बढेर गएको छ । संघलाई संचालन गर्न एउटा सक्षम टिमको जरुरत पर्दछ र त्यो टिमले संघलाई राम्रोसँग चलाउन सक्छ भन्ने लाग्दछ । केही साथीहरू एनआरएनए किन चाहिन्छ भन्नेहरू पनि हुनुहुन्छ । उहाँहरूलाई म भन्न चाहन्छु- संघ चाहिन्छ । अपनत्व हुनु पऱ्यो । परेको बेला संघले काम गर्दछ, जस्तो कि बेल्जियममा कोरोना महामारी फैलियो । बेल्जियममा अनुमति प्राप्त गर्न नसकेकाहरूको हकमा खोप लगाउने अवस्था थिएन, तर हामीले त्यस्ता नेपालीको खोजी हामीले भ्याक्सिन लगाउने काम गऱ्यौँ । आफूले यसको समन्वय गर्न पाउँदा खुसी लागेको छ । परेको बेला संघले गर्दछ र गर्नु पनि पर्छ । मलाई गैरआवासीय संघ किन चाहियो भनेर कसैले पनि नभनिदिनु होला । कुनै समस्या पऱ्यो भने संघले आवश्यक सहयोग गर्नेछ । त्यसरी सोचिदिन आग्रह गर्दछु ।

० गैरआवासीय संघको २०२१ देखि २०२३ को नेतृत्व लिन यहाँको उम्मेदवारी वास्तवमा केका लागि हो ?
– मैले दुई कार्यकाल उपाध्यक्ष भएर काम गर्दैगर्दा मलाई के लाग्यो भने यो संगठनमा बसेर नेपाली समुदायका लागि धेरै काम गर्न सकिन्छ । किनकि आफू २३ वर्ष देखि यो समाजमा बस्दाखेरि बेल्जियम र नेपाली समुदायका जोडेर र मिलाएर लानु पर्दछ भन्ने कुरामा केन्द्रीत रहेर समय बिताएको र अहिले दुवै नेपाली समुदाय र बेल्जियमको समुदायबीच पुलको रुपमा काम गर्ने अवसर प्राप्त भयो । त्यसबाट विशेषगरी बेल्जियमको समाजको लागि केही गर्न सकिन्छ भन्ने विश्वासका साथ उम्मेदवारी दिएको हुँ । दुई कार्यकाल उपाध्यक्ष भइसकेपछि जाने ठाउँ भनेको अध्यक्षका लागि नै हो । त्यसकारण पनि मेरो दाबी अध्यक्षमै हो ।

हामी नेपाली सबैको साझा पहिचान खुल्नेगरी साँस्कृतिक भवनको निर्माण गर्ने मेरो जुन प्रयास हो त्यसलाई निरन्तरता दिनु मेरो पहिलो प्राथमिकतामा पर्छ । बेल्जियमवासी नेपालीहरूलाई फाइदा हुने खाले केही अभियानहरू पनि शुरु भैसकेको परिवेशमा अझै थप केही कामलाई निरन्तरता दिन आवश्यक छ । त्यसका लागि पनि नेतृत्वमा जान चाहेको हो । विशेषगरी सबै नेपालीहरूको अपनत्व हुने गरी काम गर्ने, युवा पुस्तालाई संघप्रति आकर्षित गर्ने र युवा पुस्ताका मागहरूलाई सम्बोधन गर्ने हुँदा टिममा पनि आफूले धेरै युवाहरूलाई समाबेस गरेको छु । युवाहरूसँग नजिकिएर काम गर्न चाहन्छु । यो चुनावी माहोलमा मात्र नभएर दिगो रूपमा काम गर्ने सोचाइ छ ।

त्यस्तै, बेल्जियममा रहेका नेपालीहरू एकताबद्ध गरी संघप्रति आकर्षित गर्ने, बेल्जियममा नेपालीहरूले सिकेको सीप, ज्ञान र पुँजीलाई मातृभूमिको हितमा प्रयोग गर्ने, सबैको अपनत्व हुने गरी एनआरएनएलाई रुपान्तरण गर्ने, संघका अग्रज र अभियन्ताहरूलाई सम्मान गर्ने परिपाटी बसाल्ने, केन्द्रको स्मार्ट एनआरएनए अभियानलाई स्थापित गराउन पहल गर्ने, नेपाली समुदायलाई बेल्जियमको स्थानीय समुदायसँग घुलमिल गराउन पहल गर्ने, नेपाली समुदायका उच्च शिक्षा हासिल गरेकाहरू भाषाका कारण घुलमिल हुन नसकेका, राम्रो रोजगारी समेत प्राप्त गर्न नसकेको र व्यवसायमा समेत सफलता प्राप्त गर्न नसकेको त्यस्ता व्यक्तिहरूलाई विभिन्न निकायहरूसंग समन्वय गरेर सक्दो सहयोग गर्ने जस्ता विषयलाई उठान र समाधान गर्न आफूले संघको तर्फबाट पहल गर्ने । मैले धेरै अध्ययन र सम्भावना देखेर नै यी कामलाई फोकस गरेको छु । पर्यटन प्रवर्धन गर्ने कार्य संघले गर्दै आएको छ । यस्लाई पनि निरन्तरता दिने मेरो सोचाइ छ ।

० यो अवस्थामा चुनाव नभइदिए हुन्थ्यो, मिलेर गए हुन्थ्यो भन्ने आम बेल्जियमवासी प्रवासी नेपालीहरूको चाहना छ । सहमतिमा जानुपऱ्यो भन्ने मनोभावना छ । के यस्तो सम्भव होला ?
– म सहमतिको पक्षमा छु । आशावादी छु । हिजो पनि एक चरणको छलफल भयो । त्यसमा आफ्नो कुरा राखियो । तर अभियन्ताहरूले उम्मेदवारहरूलाई तपाईं यो पदका लागि योग्य हुनुहुन्छ, तपाईं बस्नुस् भनेर कसैले पनि भन्न सक्नुभएन । अहिलेको यो विषम परिस्थितिमा तीन जना उम्मेदवार मिलेर आउनुस् भन्नुभयो तर म नभइ हुँदैन भन्ने कुराहरू आए । त्यसपछि आफूले आफ्नो धारणा राखेको । यता पनि प्राकृतिक प्रकोप छ । यस्तो बेलामा निर्वाचनमा हुने खर्चलाई थोरै भए पनि देश र कर्मभूमिका लागिसमेत केही दिउँ न भन्ने हिसाबले सहयोग गर्न सकिने देखिन्छ । तर पनि मेरा आदरणीय उम्मेदवार सीपी भट्ट र अनुजाजीले अझै पनि सहयोग गर्नुहुन्छ भन्ने लाग्दछ । किनभने म दुई कार्यकाल काम गरेको र निरन्तरता दिएको व्यक्ति हुँ । म केही परिकल्पनाका साथ यो समाजका लागि अगाडि बढिरहेको छु । मैले संघमा काम गरिरहेको हुनाले मलाई सजिलो छ, अरुलाई अलिक कठिन नै पर्ला भन्ने लाग्छ मेरो बुझाइमा । समुदाय समाजको पनि खड्ग केसीले समाज समुदायका लागि केही गर्न सक्छ भन्ने बुझाइ छ ।

० यदि एनआरएनएमा समहति नै गरेर जाने हो भने त्यसका लागि सहमतीय बिन्दुहरू के-के हुन सक्छन् ? अर्थात् सहमतिका आधार के-के होलान् ?
– सहमतिको आधार भनेको विशेष गरेर आफूले निर्णय गर्न सक्ने शक्ति हुनुपऱ्यो । पछाडिको संगठनले मसँग बढी सदस्य छ त्यसलाई अति गाह्रो देखिन्छ । हामी तीन जना उम्मेदवारलाई स्वतन्त्रपूर्वक छोड्ने हो भने सहमति हुन सक्छ । मलाई स्वतन्त्र रूपले छोडिदिनुभएको छ । हामीहरू कुनै पनि संगठनसँग एलाइन्स गरेर कसरी हुन्छ हामी चुनाव जित्नैपर्छ भनेर गएका पनि छैनौँ । हाम्रो उद्देश्य पनि त्यो थिएन । हामीहरूले पटक-पटक अनुरोध पनि गरेका थियौँ । एनआरएनए साझा संस्था हो । यसलाई स्वतन्त्र छोडिदिनुस् । यसमा धेरै हस्तक्षेप नगरिदिनुस् । सक्षम, सबल र सक्रिय व्यक्ति आउनुहुन्छ भनेर हामीले पटक-पटक भनेको हो । तर दुःखको कुरा- त्यो हुन सकेन । नेपालको राजनीतिलाई जोडेर त्यही एलायन्सलाई जोडेर आदरणीय अग्रजहरू अगाडि बढ्नुभयो । त्यो मेरो लागि अनपेक्षित कुरा थियो । बेल्जियममा त्यसरी नहेरिनु पर्थ्यो । विशेष गरेर यो सामाजिक संस्था भन्ने हिसाबले सोचिदिनुपर्ने, बुझिदिनुपर्ने हो भन्ने लागेको थियो । एनआरएनएमा जतिसुकै चर्को राजनीति गरे पनि यसले केही फाइदा गर्दैन । मानिसले विवेक प्रयोग गरिहाल्छन् । त्यहीअनुसार व्यक्ति छानेर भोट दिनुहुन्छ र मैले व्यक्तिगत रूपमा कुन टिमलाई पठाउँदा समाज र देशको लागि सहयोग गर्छ जस्तो लाग्छ त्यसलाई नै सहयोग गर्नुस् भनी मिडियामार्फत अनुरोध गर्न चाहान्छु ।