विख्यात भारतीय फिल्म अभिनेता दिलिप कुमारको निधन

विख्यात भारतीय फिल्म अभिनेता दिलिप कुमारको निधन



विख्यात फिल्म अभिनेता दिलिप कुमारको देहान्त भएको छ । पछिल्ला केही दिनदेखि मुम्बई (भारत) स्थित हिन्दुजा अस्पतालमा उपचार गराउँदै आएका उनको ९८ वर्षको उमेरमा निधन भएको हो । दिलिप कुमारले भारतीय समयअनुसार बुधबार बिहान साढे सात बजे अन्तिम सास लिएका अस्पतालले जनाएको छ ।

उनको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएअनुसार लामो आयुसम्बन्धी बिमारीका कारण दिलिप कुमारको निधन भएको हो । सास फेर्न समस्या भएपछि यही जुन ६ तारिखदेखि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

आफ्नो ६ दशक लामो फिल्मी करिअरमा जम्मा ६३ वटा फिल्ममा अभिनय गरेका भए पनि हिन्दी सिनेमामा अभिनय कलालाई नयाँ परिभाषा दिने महान् अभिनेताको रूपमा दिलिप कुमारको नाम लिइन्छ । खास अभिनय शैली र अलग स्वभावका कारण उनलाई हिन्दी सिने जगतमा ‘ट्रेजेडी किङ’को रूपमा समेत चिन्ने गरिन्छ ।

दिलिप कुमारका प्रसिद्ध सिनेमाहरूमा देवदास, शहीद, मेला, नदिया के पार, बाबुल, फुटपाथ, नयाँ दौर, मुगल-ए-आजम, गंगा-जमुना, राम और श्याम आदि रहेका छन् । सर्वाधिक पिःमफेयर पुरस्कार जित्ने अभिनेतासमेत रहेका उनले आठ पटक फिल्मफेयर अवार्ड जितेका थिए । सन् १९९४ मा दादा साहेब फाल्के अवार्डसमेत हासिल गरेका दिलिप कुमारलाई भारत सरकारले सन् १९९१ मा पद्म भूषण र २०१५ मा पद्म विभूषणबाट सम्मानित गरेको थियो ।