पर्यटन प्रवर्द्धनका लागि सिँगारिँदै अमरगढी पार्क

पर्यटन प्रवर्द्धनका लागि सिँगारिँदै अमरगढी पार्क


  • डम्बर निदाल, डडेल्धुरा

डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका पर्यटन विकासको प्रचुर सम्भावना भएको क्षेत्र हो । यहाँका ऐतिहासिक धार्मिक र मौलिक संस्कृतिको जगेर्ना गर्दै पर्यटनको हबका रूपमा विकास गर्ने उद्देश्यले नौला–नौला आयामहरूको शुरुवात गरिएको छ ।

प्राकृतिक रुपमा सुदूर पहाडको रानी मानिने डडेल्धुरा सदरमुकाम अमरगढी पर्यटकीय सम्भावना बोकेको नगरपालिकाका रुपमा रहेको छ । वीरताको गौरव बोकेको अमरगढी प्राकृतिक, ऐतिहासिक, धार्मिक र सांस्कृतिक रूपले समेत सम्भावनायुक्त रहेकोले अमरगढी नगरपालिकाले उच्च महत्वका साथ प्रयास गरिरहेको देखिन्छ ।

यसैक्रममा डडेल्धुरा जिल्ला सदरमुकामनजिकै अमरगढी नगरपालिका–२ पातिहाल्ला सामुदायिक वनमा निर्माण भइरहेको अमरगढी पार्कको पुर्वाधार विकास निर्माणको काम अगाडि बढिरहेको छ । पार्कमा अहिले फुटपाथ, गोलघर, विश्रामचौतारी, कम्पाउण्ड वाल, चौकीदार भवन आदि निर्माण भइसकेको छ भने पार्कलाई अझै सुन्दर स्थलका रूपमा विकास गर्न विभिन्न किसिमका मुर्ति, दृश्यावलोकलनका लागि टावरलगायत पर्यटकलाई आर्कषित गर्ने खालका अन्य चिजहरु पार्कमा राखिने गरी काम भइरहेको अमरगढी नगरपालिका प्रमुख विशेश्वर प्रसाद ओझाले बताए ।

अमरगढी नगरपालिकाले एकपछि अर्काे गर्दै पुर्वाधार विकासलाई जोड दिइरहेको छ । ‘शिक्षा स्वास्थ्य कृषि पर्यटन र पुर्वाधार, अमरगढी स्मार्ट सिटी निर्माणको आधार’ भन्ने नाराका साथ समृद्विको यात्रा तय गरेको नगरपालिकाले जनाएको छ ।

अमरगढी नगरपालिकाले उद्यानबाहेक पर्यटन पूर्वाधार कार्यमा जोड दिँदै आएकोले निर्माण कार्यहरूले गति लिएसँगै सौन्दर्यता पनि बढ्दै गइरहेको छ । पार्कमा निषेधाज्ञाका कारण घुम्न आउने सर्वसाधारणको भने कमी भएको छ ।

डडेल्धुरा बसपार्कदेखि एक किलोमिटर राजमार्ग छेउमा रहेको उक्त पार्कमा जान बसपार्क अदालत रोड भएर दश मिनेटमा पैदलै पुग्न सकिन्छ । पार्कमा फोटो खिच्नका लागि फूलहरु रहेका छन् भने जंगल मुख्य सेल्फि पोइन्ट बन्दै गइरहेको छ । अमरगढी नगरपालिकाको १ करोड २५ लाख लगानीमा टेण्डर प्रकृयामार्फत पार्कमा निर्माणको काम भैइरहेको बताइएको छ ।

जिल्ला सदरमुकामको अमरगढी नगरपालिकाभित्रका पर्यटकीय क्षेत्रमा भौतिक पुर्वाधारका संरचना निर्माण गरिन थालेका छन् । अमरगढीभित्रका धार्मिक, ऐतिहांसिक, प्राकृतिक रूपमा पर्यटकीय सम्भावना बोकेका क्षेत्रमा भौतिक पुर्वाधारका संरचना निर्माण गरिन थालेको अमरगढी नगरपालिकाले जनाएको छ ।