निषेधाज्ञाको डेढ महिनामा मनोरञ्जन क्षेत्रका २५ श्रमिकले आत्महत्या गरे

निषेधाज्ञाको डेढ महिनामा मनोरञ्जन क्षेत्रका २५ श्रमिकले आत्महत्या गरे



गत वर्ष मनोरञ्जन क्षेत्रका २९९ ले आत्महत्या गरेका थिए

कोरोना भाइरसको सङ्क्रमणबाट बचाउन सरकारले गरेको निषेधाज्ञाका कारण मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरू आर्थिक समस्यामा परेको पाइएको छ ।

मनोरञ्जन क्षेत्र (होटेल/रेष्टुरेन्ट/क्लब/दोहोरी साँझ लगायत)मा काम गर्ने श्रमिकहरूको हकहितका लागि कार्यरत संस्था विश्वास नेपालद्वारा आयोजित भर्चुअल कार्यक्रममा कोरोना महामारीको दोस्रो चरणमा उक्त क्षेत्रमा काम गर्ने महिलालाई आर्थिक समस्या भएको पाइएको हो ।

उक्त संस्थाको तथ्याङ्कानुसार निषेधाज्ञामा २५ श्रमिकले रोजगारी गुमाएर खाने, बस्ने, स्वास्थ्य तथा मानसिक समस्याका कारण आत्महत्या गरेको उल्लेख छ ।

यस क्षेत्रमा आठ लाखले रोजगारी गर्छन् । कोरोनाको पहिलो चरणदेखि नै यस क्षेत्रको व्यवसाय प्रायः ठप्प छ । साथै यसमा संलग्न सबै रोजगारी पनि बन्द भएका छन् ।

विश्वास नेपालका अध्यक्ष तारा भण्डारीले एक व्यक्तिको रोजगारीले कम्तीमा पाँच जनाको परिवार चलेको हुनाले करिब दुई वर्षदेखि नै रोजगारीको अवस्था नाजुक भएको कारण पछिल्लो डेढ महिनाको निषेधाज्ञाको अवधिमा २५ जना श्रमिकले आत्महत्या गरेको जानकारी दिए ।

गत वर्ष कोरोना महामारीमा रोजगारी गुम्दा मनोरञ्जन क्षेत्रका २९९ जनाले आत्महत्या गरेका थिए । विश्वास नेपालले ‘हाम्रो सम्मान’ परियोजनाअन्र्तगत यस क्षेत्रका श्रमिकका हक, अधिकार, काम कर्तव्यका बारेमा जानकारी दिनुका साथै समस्यामा परेका श्रमिकलाई विविध सहयोग गर्दै आएको छ ।

कार्यक्रममा परियोजना संयोजक विवेक शर्माले मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकलाई समाजले हेर्ने दृष्टिकोण, उनीहरूको समस्या, श्रम ऐनले गरेका व्यवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै यस क्षेत्रमा रोजगारी गुमाउँदा श्रमिकले बस्ने कोठाबाट निकालिनुपर्ने, खाद्यान्न अभावलगायतका समस्याले मानसिक समस्या झेलिरहेको उल्लेख गरे ।

संस्थाका पैरवीकर्ता रसना ढकालले जुनसुकै क्षेत्रको रोजगारी आफैँमा राम्रो हुने भए पनि मनोरञ्जनको क्षेत्रलाई समाजले हेर्ने दृष्टिकोण राम्रो नभएकाले यस क्षेत्रमा काम गर्ने श्रमिकले आत्मसम्मान गुमाएर काम गर्नुपर्ने बताइन् ।

विश्वास नेपालले यस क्षेत्रमा काम गर्ने श्रमिकले हाल रोजगारी गुम्दा मनोसामाजिक समस्या, आर्थिक अभावका कारण पारिवारिक कलहजस्ता समस्याले आत्महत्याकोे बाटो रोज्ने गरेको पाइएको बताएको छ ।