भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य उपकरण हस्तान्तरण

भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य उपकरण हस्तान्तरण



‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतीय सेनाले प्रदान गरेको करिब २८ करोड ८० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण नेपाली सेनालाई हस्तान्तरण गरिएको छ ।
टुँडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा शुक्रबार आयोजित एक समारोहका बीच नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभयो ।

राजदूत क्वात्राले नेपाली सेनाको कोभिड-१९ विरुद्धको लडाइँमा भारतको सहयोग निरन्तर रहने जनाउँदै यस सम्बन्धमा नेपाली सेनाले पुर्‍याएको योगदानको सराहना पनि गर्नुभयो ।
बताइएअनुसार भेन्टिलेटर, एम्बुलेन्स, आइसीयू बेड, पीपीइ किट, पिसिआर परिक्षण किट लगायतका स्वास्थ्य सामाग्री जेष्ठ २७ गते काठमाडौं ल्याइएको थियो । गत सालयता भारतीय सेनाले नेपाली सेनालाई कोभिड महामारीविरुद्ध लड्न विभिन्न किसिमका सहयोग प्रदान गर्दै आएको छ ।

यसैबीच भारतीय सेनाले गत मार्चमा नेपाली सेनालाई एक लाख कोभिशिल्ड खोप प्रदान गरेको थियो । यो सहयोगले संकटको समयमा दुई देशका सेनाबीच रही आएको सहकार्यलाई प्रतिबिम्बित गरेको जनाइएको छ ।

सामग्री हस्तान्तरण कार्यक्रममा महारथी थापाले भारतीय राजदूतलाई भारतीय सेनाले प्रदान गरेको सहयोगका लागि हार्दिक आभार तथा धन्यवाद प्रकट गर्नुभएको थियो ।