तनावको उचित व्यवस्थापनले कोभिड-मृत्युदर घटाउन सकिन्छ

तनावको उचित व्यवस्थापनले कोभिड-मृत्युदर घटाउन सकिन्छ


  • विष्णु नेपाली

हामी दैनिक रूपमा सामान्य जीवन बिताइरहेका हुन्छौँ । बिहानदेखि रातिसम्म दैनिक गरिने क्रियाकलापहरू जस्तै समयमा उठ्ने, नित्यकर्म गर्ने, खाने, खेल्ने रमाउनेलगायत अन्य दैनिक रूपमा गर्ने क्रियाकलापहरू गरिरहेका हुन्छौँ । जब हाम्रो जीवनमा कुनै सङ्कट वा नचिताएको घटना घट्छ त्यतिबेला हाम्रो दिनचर्यामा उथलपुथल आउँछ । मनोवैज्ञानिकहरूका अनुसार यो उथलपुथलको अवधि ४ देखि ६ हप्तासम्मको रहन सक्छ र, त्यसपश्चात हामी पहिलेकै अवस्थामा फर्किन सक्छौँ वा पहिलेभन्दा राम्रो अवस्थामा पुग्न सक्छौँ वा पहिलेभन्दा झन् नराम्रो अवस्थामा जान सक्छौँ । यो प्रत्येक व्यक्तिको समस्यासँग सामना गर्ने तरिकामा निर्भर गर्दछ, साथै साथीसंगति, घरपरिवार, छरछिमेक र जिम्मेवार निकायले प्रभावितप्रति गर्ने व्यवहारले यकिन गर्दछ ।

यतिबेला कोरोना भाइरस हाम्रो जीवनमा सङ्कटको रूपमा आइरहेको छ । यो सङ्कटको अवस्थामा सङ्क्रमितप्रतिका हाम्रा व्यवहारले सङ्क्रमितलाई भित्रैदेखि बलियो बनाइ रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाइरहेका छौँ वा झन् कमजोर बनाएका छौँ भन्ने बुझ्न जरुरी देखिन्छ । सुर्खेत जहरे निवासी कल्पना परियारले श्रीमान्लाई एक महिनादेखि प्रदेश अस्पताल कालागाउँमा उपचार गराइरहेकी छिन् । उनीसँग अस्पतालले गरेका दुर्व्यवहारका थुप्रै घटनाहरू छन् ।

अस्पतालमा अक्सिजन स्टक हुँदाहुँदै पनि नदिएको र पहुँचवालाले जतिबेला चाह्यो उतिबेला पाउने गरेको, अक्सिजन पाउने लिष्टमा नाम रहेको र अक्सिजन आइसकेपछि ‘बिरामीको अवस्था नाजुक छ अक्सिजन छिट्टै दिइएन भने मत्यु हुन सक्छ, त्यसैले मलाई छिटो उपलब्ध गराइदिनु’ भन्दा वितरण गर्नेले धेरै कराए लिष्टमा भएको नाम काटिदन्छु भनि मानसिक यातना दिने गरेको, अस्पतालमा बेड पाउन मन्त्रीकै सोर्स लगाउनु परेको, अस्पतालको गैरजिम्मेवारीपनको विरुद्धमा बोल्दा बल्लतल्ल व्यवस्था गरेको अक्सिजन नै जफत गर्ने गरेको, स्वास्थ्यमर्कीहरू बिरामीको नजिकै नपर्ने गरेको र लाशहरू पनि २-३ दिनसम्म नउठाउने गरेको जसले गर्दा अन्य बिरामीहरूको मनोबल गिरेको अनुभव उनी सुनाउँछिन् ।

त्यसैगरी सोही अस्पतालमा उपचार गराइरहेकी लेकबेसी-१ की पार्वती नेपालीको पनि नमिठो अनुभव रहेको छ । उनका अनुसार जब साँझ हुन्थ्यो अस्पतालको महोल नै तात्तिन्थ्यो । बिरामीका कुरुवाहरू अब अक्सिजन कसरी व्यवस्था गरेर बिरामीलाई अर्को दिन देखाउन सकिन्छ भन्ने तनावमा हुन्थ्ये । एक दिन आज अक्सिजन आउँदैन बिरामीलाई कसरी बचाउनुहुन्छ तपाईंकै हातमा छ भनेर अस्पतालका कर्मचारीले सुचना दिए । एकछिनपछि एक जना बिरामी आत्तिएर मृत्यु भयो अनि त्यो बिरामी आत्तिएर मृत्यु भएको देख्दा छेउछाउका अरु तीन जना बिरामीको पनि लगभग आधा घण्टाको अन्तरालमा त्यही रातमा मृत्यु भयो । अस्पतालको गैरजिम्मेवारीपुर्ण व्यवहारले एकै रातमा ४ जना एउटै वार्डमा मृत्यु भयो । एउटा सूचनाले गर्दा नै व्यक्तिको ज्यान लिएको घटना थियो त्यो ।

त्यसैगरी जब अक्सिजन आउँथ्यो बिरामीका कुरुवाहरू तँछाडमछाड गर्दै अक्सिजन खसाल्ने ठाउँमा पुग्थे । अक्सिजन वितरण बिरामीको अवस्थाको गाम्भीर्यताअनुसार हुँदैनथ्यो । त्यहाँ वितरणमा खटिएकाहरूको हातमा छुट्टै लिस्ट हुन्थ्यो त्यो लिस्टमा भएकाहरूको नाम सकिएपछि मात्रै अन्यले पाउँथे ।

उनका अनुसार एक दिन अक्सिजन सकिनै लाग्दा उनका कुरुवाले हारगुहार गरेर अक्सिजनको जसोतसो व्यवस्था त गरे तर त्यो अक्सिजन सिलिण्डर खाली उपलब्ध गराइएको रहेछ । कहिलेकाहीँ त अस्पतालकै कर्मचारीले राति सुतेको बेला एउटा बिरामीलाई लगाएको अक्सिजन बन्द गरेर अर्को आफ्नो चिनजानको बिरामीलाई लगाइदिने गरेका पनि भेटियो । जुन व्यवहार एउटा व्यक्तिको जीवनसँग अमानवीय रूपले गरिएको खेलबाडबाहेक केही होइन ।

त्यस्तै, कोरोना जितेर घर फर्किसकेको बिरामीप्रति पनि घर-परिवारले खाना दिँदा कुकुरलाई झैँ अलग्गै गरेर दिने, सुतेकोलाई ब्युँझाउँदा पानी छर्केर बिउँझाउने, छिःछि-दूरदूर गर्ने साथै गाउँ समाज पनि टाढा-टाढा हुने र, साथीसंगती पनि बोल्नै छोड्नाले बिरामीले ठुलै अपराध गरेको महसूस हुने गरेको र बिरामी छिट्टै सन्चो हुनुको साटो झन् तनावमा बाँच्नुपर्ने अवस्था निम्तिने गरेको देखिन्छ ।

वरिष्ठ मनोविद् करुणा कुवँरका अनुसार निरन्तरको तनावले मानिसमा शारीरिक तथा भावनात्मक रूपमा गहिरो असर पारिररहेको हुन्छ । तनावका कारण व्यक्तिको मन, शरीर, सम्बन्ध र व्यवहारमा असर गर्दछ । मनमा उत्पन्न हुने विभिन्न किसिमका आवेगहरू जस्तै दुःखीपन, निराशा, बेचैनी, झर्कोफर्को, चिढचिढाहट, रीस, डर वा त्रास एकपछि अर्को लामवद्ध रूपमा आउँछन् । त्यसैगरी शरीरमा देखिने असरहरू छाती दुख्ने वा भारी हुने अथवा असजिलो महसूस हुने, मुटुको धड्कन वा चाल बढ्ने, हात काँप्ने, चिढचिढाहट बढ्ने, पसिना आउने हुन्छ । साथै शरीरमा दुखाइ, पीडा हुने रिङ्गटा लाग्ने जस्ता प्रतिक्रिया उत्पन्न हुन्छन् । भावनात्मक समस्याहरूमा एक्लै बस्न मन लाग्ने, छिटो रिसाउने र आक्रोशित हुने हुन्छ, जसले अरु व्यक्तिहरूसँगको सम्बन्धमा पनि बिस्तारै नकारात्मक असर पुर्‍याउँदै जान्छ र अन्तमा मानिस नराम्ररी थला पर्छ ।

संक्रमित व्यक्तिले महसूस गरेको तनावलाई घटाउन दैनिक कार्यतालिका बनाइ सोहीअनुसार आफूलाई व्यस्त राख्ने, गहिरो श्वासप्रश्वास विधि गर्ने, शारीरिक व्यायाम र मनोरञ्जनका अन्य विधि अवलम्बन गर्नाले तनावलाई घटाउन सकिन्छ । त्यसैगरी साथीसंगति, घर-परिवार र समाजले संक्रमितलाई माया स्नेह दिने, एक्ल्याएको अनुभूति नगराउने र हामी साथमा छौँ भन्ने विश्वास दिलाउने गर्नु पर्दछ ।

यस्तै, जिम्मेवार निकायले आफ्नो कर्तव्यप्रति उत्तरदायी बन्ने, व्यवस्थापनलाई बलियो बनाउने र असमान वितरण प्रणालीलाई समान बनाउदा संक्रमित तथा उनका आफन्तले तनावको महसूस गर्नु पर्दैन र, मेरो पछाडि राज्य छ, धेरै सहयोग छ भन्ने प्रभावितलाई महसूस गराउन सकिन्छ, जसले संक्रमितको मनोबल उच्च हुन पुगी कोभिडको संक्रमणलाई जित्न सकिन्छ ।

(लेखक मनोविमर्शकर्ता तथा सामाजिक अभियन्ता हुन् ।)