भारतमा बस र भ्यान ठोक्किएर दुर्घटना हुँदा सत्र जनाको मृत्यु

भारतमा बस र भ्यान ठोक्किएर दुर्घटना हुँदा सत्र जनाको मृत्यु



भारतको उत्तर प्रदेशमा मजदुरहरु चढेको एउटा बसले सामान ढुवानी गर्ने भ्यानलाई ठक्कर दिँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

मंगलबार राति कानपुरनजिक भएको निकै भयानक प्रकृतिको उक्त दुर्घटनामा परेर अरु १८ जना घाइते भएको त्यहाँको प्रहरीले जनाएको छ ।

कोरोना भाइरस महामारीको दोस्रो लहर भारतमा केही मत्थर हुन थालेपछि गाउँघर फर्किएका मजदुरहरु पुनः कामको खोजीमा निस्कन थालेका छन् । दुर्घटनामा परेका मजदूरहरु तिनैमध्येका रहेका एपीले जनाएको छ । बसमा सवार मजदुरहरु पश्चिमी गुजरात प्रान्तको अहमदाबादतर्फ जाँदै थिए ।

विपरीत दिशाबाट आइरहेको भ्यानसँग ठोक्किएसँगै तीव्र गतिमा रहेको बस सडकमा पल्टिएको थियो । भ्यानमा बिस्कुट बनाउने कारखानामा कार्यरत मजदुरहरु रहेका थिए । मृत्यु हुनेहरु अधिकांश भ्यानमा सवार मजदुरहरु रहेको बताइएको छ ।

उक्त घटनामा परेका १६ जनाको घटनास्थलमै ज्यान गएको र एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीका अनुसार घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ ।

भारतमा हरेक वर्ष एक लाख १० हजारभन्दा बढी व्यक्तिको सडक दुर्घटनामा ज्यान जाने गरेको छ । अधिकांश अवस्थामा चालकको लापरवाही, सडकको कमजोर अवस्था र पुराना सवारी साधनका कारण दुर्घटना हुने गरेका छन् ।