‘टिकटके’को शान, गायक-गायिकाको अपमान !

‘टिकटके’को शान, गायक-गायिकाको अपमान !


  • राजन घिमिरे

टिकटकको प्रयोग केका लागि ? अधिकांशको जवाफ एउटै आउने गर्छ- मनोरन्जनका लागि ! कतिपयले चाहिँ उत्पादनको प्रचारप्रसार र समाजोपयोगी जानकारीहरू पनि पस्कने गरेका छन् टिकटकमा । आजकल फुर्सद समयको सदुपयोग र आफ्नो प्रतिभा प्रस्तुत गर्न पनि यो सामाजिक सन्जाल निकै उपयोगी हुन थालेको छ, भइरहेको छ ।

यसो भन्दैमा टिकटकमा उपस्थित हुने सबै या टिकटकसँग जोडिएकाहरू आलौकिक सर्जक, महान् हस्ती, प्रतिभाशाली ब्यक्तित्व र सृजनाका खानी भने होइनन् । टिकटकले चिनाएको प्रतिभा र क्रेज कहिलेसम्म कायम रहन्छ, कसैले भन्न सक्दैन । तर, गीत-सङ्गीतका सर्जक, प्रतिभा र क्षमतावान कलाकर्मीहरू अजर-अमर हुन्छन् । उनीहरूले पाउने सम्मान, माया, साथ र उचाइको कुनै मापदण्ड नै हुँदैन । यिनै सर्जकका सृजनामा मुख मात्र चलाएर टिकटकमा नखरा गरेको भरमा आफूलाई महान् कलाकार र सर्जक ठान्ने केही ‘टिकटके’हरूले वास्तविक सर्जकप्रति गरेको ब्यबहार र ती सर्जकहरूको बारेमा दिएको अभिव्यक्ति साँच्चै कन्चटका रौँ नै हल्लाउने खालको छ । टिकटकेहरूको बोली र ब्यवहार अशोभनिय भएको प्रतिक्रिया सामाजिक सञ्जालमा आउन थालेका छन् ।

फ्लोअर्स र पेज लाइक भएका केही टिकटकेले भनेका छन्- ‘हामीले टिकटकमा गीत गाएर नै गीत हिट भएको हो । तर ती गायक-गायिकाले हामीलाई वास्ता नै गर्दैनन् । हामीलाई भेट्ने अवसर पनि दिँदैनन् । हाम्रो पेजलाई लाइक, फलो अप र कमेन्ट पनि गर्दैनन् !’

यस्तो अभिव्यक्ति दिने टिकटकेहरूको कुरा सुन्दा पनि तीनछक्क पर्नुपर्ने समय आएको छ । के उसो भए टिकटक आउनुअघि नेपाली गीत-सङ्गीतको बजार नै थिएन ? गायक–गायिकाहरूको कुनै नाम, चर्चा र क्रेज नै थिएन त ? यही टिकटके सिलिब्रेटीकै कारण मात्र चिनिएका र क्रेज बनाएका हुन् त गायक-गायिकाहरूले ? बोल्दा आफू के बोल्दै छु भनेर यसो सोचिकन बोल्ने कि टिकटके सेलिब्रेटीज्यूहरू….? जो अरूको गीत गाएर टिकटकमा मुख चलाउँदै अभिनय गर्छन्, तिनीहरूलाई वास्तविक सर्जकले भाउ दिनुपर्ने ? उनीहरूलाई भेट्नुपर्ने ? आखिर किन ? कुरा बुझिसक्नु छैन । टिकटकेहरूको नेपाली गीत-सङ्गीतमा यत्रो योगदान र उचाइ छ है ? यिनीहरू नभएको भए नेपाली गीत-सङ्गीत र सर्जक गुमनाम हुन्थे है ! उदेकलाग्दो कुरा !!

यस्ता बेतुकका कुरा गरेर सर्जकहरूको अपमान नगर्नुस् टिकटकेज्यूहरू । नारायण गोपाल, उदित नारायण झा, राजेश पायल राई, रामकृष्ण ढकाल, एम बराल, शिव परियार, प्रमोद खरेल, सत्य-स्वरूप, प्रताप दास, अस्मिता अधिकारी, अर्जुन पोखरेल, राजनराज शिवाकोटी, दीपक शर्मा, वसन्त सापकोटा, अन्जु पन्त, प्रमिशा अधिकारीलगायत चल्तीका गायक-गायिका र सङ्गीतकारहरूको गीतमा लिप्स दिएर तपाईंहरू फ्लोअर्स बढाउने अनि उल्टै यिनै सर्जकहरूलाई गाली गर्ने ? तपाईं टिकटकेहरूको आफ्नो सिर्जना के छ र यस्तो फाइँफुइँ ? अरूको गीत गाएर आफ्नो प्रचार गर्ने तपाईंहरू सबै टिकटकेहरूलाई सर्जकहरूले भेटेर साध्य हुन्छ ? यहाँ लाखौँ टिकटकेहरू छन । सबैलाई सर्जकहरूले भेट्न सम्भव छ ? यिनै सर्जकहरूको गीतमा मुख हल्लाएको भरमा तपाईंहरूलाई चिन्छन् यहाँ, तर उल्टो यिनै सर्जकहरूलाई गाली ? भनिन्छ नि… जुन थालमा खायो त्यै थालमा… भने जस्तो ।

सामाजिक सन्जालमा केहीले चिनेको भरमा आफूलाई सर्जक र महान् हस्ती ठान्ने तपाईंहरू पहिला आफ्नो यो सोच त्याग्नुस् । टिकटके जो पनि बन्न सक्छ, अहिलेको प्रविधिमा ओठ चलाएर जसले पनि गीत गाउन सक्छ, तर तपाईंहरू जसको गीत गाएर मुख हल्लाइरहनु भएको छ नि त्यो ठाउँमा आउन ती सर्जकले कति मिहेनत गरेका छन् । कति सङ्घर्ष गरेका छन् ? यसको हेक्का छ तपाईंहरूलाई ?…

भोलि सम्बन्धित निकायले सर्जकको अनुमतिबिना सामाजिक सन्जालमा गीत-सङ्गीत अपलोड गर्न नपाउने वा कसैले पनि प्रयोग गर्न नपाउने नियम ल्यायो भने तपाईंहरूको हालत के होला ? यसबारे केही सोच्नुभएको छ ?