जसपामा नेता निष्कासनको प्रतिष्पर्धा !

जसपामा नेता निष्कासनको प्रतिष्पर्धा !



प्रधानमन्त्री तथा नेकपा एमालका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई सघाउने र नसघाउने समूहबीच बढेको विवादले जनता समाजवादी पार्टी (जसपा)लाई फुटको औपचारिक घोषणाको संघारमा पुर्‍याएको छ । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार एक अर्कालाई पार्टीबाट निष्कासन गरेपछि यस्तो महसूस गरिएको हो ।

जसपाको यादव समूहले मंगलबार दिउँसो अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्कासन गरेको थियो । महन्थ समूह सरकारमा सहभागी हुने तयारी गरिरहँदा यादव समूहले चार नेतालाई निष्कासन गरेको हो ।

यसलगत्तै महन्थ पक्षले पनि यादवलाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गरेको छ । सो समूहको केन्द्रीय कार्यकारीणी समूहको मंगलबार बसेको बैठकले उपेन्द्र यादवलाई मात्र निष्कासन गर्ने निर्णय गरेको हो ।

जसपाका दुवै समूहले पार्टीबाट एकअर्कालाई निष्कासन गरेको मंगलबार नै निर्वाचन आयोगलाई जानकारी गराएका छन् ।

ज्ञातव्य छ, सरकारले आफ्ना उठाएका माग पूरा गरेको भन्दै महन्थ समूह सरकारमा जाने तयारीमा छ भने ओली सरकारलाई विस्थापित गर्नुपर्ने पक्षमा यादव समूहले प्रचण्ड-माधव र कांग्रेससँग मोर्चाबन्दी गर्दै आएको छ ।