पार्टी एकता अन्तिम समयसम्म जारी राखिने एमाले स्थायी कमिटिको निष्कर्ष

पार्टी एकता अन्तिम समयसम्म जारी राखिने एमाले स्थायी कमिटिको निष्कर्ष



नेकपा (एमाले)ले पार्टी एकताका जोगाउन अन्तिम समयसम्म जारी राख्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टीको आन्तरिक एकताबारे छलफल गर्दै एकता बचाउनका लागि अन्तिम समयसम्म पनि जारी राखिने निष्कर्ष निकालेको हो ।

एकता सकेसम्म जोगाउन सकियोस् भनेर छलफल गरिरहेको बताउँदै धेरैभन्दा धेरै साथी पार्टीमा रहनुहोस् भन्ने प्रयास जारी नै रहेको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । उनका अनुसार यसअघि पार्टीले स्पष्टीकरण सोधेका १२ जनाका बारेमा केही निर्णय भएको छैन ।

‘धेरैभन्दा धेरै साथीहरु पार्टीको मूल नेतृत्वमा अडियून् भन्ने हाम्रो प्रयास जारी छ, आफ्नो पार्टीका नेतालाई हटाएर कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कुरामा केही साथीहरु लागिरहनुभएको छ तर ती साथीहरु पार्टीमा फर्कनुभयो भने राम्रै हुन्छ’, ज्ञवालीले भने ।

पार्टी विवाद समाधान गर्नका लागि गठित कार्यदल अहिले अस्तित्वमा नभएको स्पष्ट पार्दै उनले कार्यदलमा रहेका केही साथी कारवाहीमा परेकाले आवश्यकताका आधारमा कार्यदल पुनःगठन हुन सक्ने जिकिर गरे ।

बैठकमा सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने खालका दवाव र गतिविधि गम्भीर छलफल भएको बताइएको छ । ‘आफूले भनेकै न्यायधीश र आफूले भनेजस्तै फैसला चाहिन्छ भन्ने ढङ्गले दवाव दिनु स्वतन्त्र न्यायपालिकाको मर्मसंँग मेल खाँदैन, त्यस्तो कुरा गर्नु हुँदैन र हुनु हुँदैन भन्ने हाम्रो निष्कर्ष रहेको छ’, प्रवक्ता ज्ञवालीको भनाइ छ ।

एमाले बैठकले कोभिड-१९ विरुद्ध सरकारले गरेका पछिल्ला प्रयासको परिमाण निस्कन थालेको पनि निष्कर्ष निकालेको छ भने लुम्बिनी प्रदेशमा सोमबार भएको राष्ट्रियसभाको उपनिर्वाचनको पनि समीक्षा गरेको छ ।

यसबारे ज्ञवालीले भनेका छन्, ‘सबै विपक्ष एक हुँदा एमालेको मत पुग्दैनथ्यो । जुन ढङ्गले हामीले छलफल गरेको थियौँ, सोअनुसार हामी विजयको नजिक थियौँ, तर अलिकति अन्तरघात भएको हामीले निष्कर्ष निकालेका छौँ । थप समीक्षा गरेर उपनिर्वाचनको निर्णय गर्नेछौँ ।’

जीवन रक्षाको ठूलो कुरा अहिलेको आवश्यकता रहेकाले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना समकक्षीसँग खोपका लागि गरेको आग्रह स्वाभाविक भएको उनले बताए । यस सम्बन्धमा केही राजनीतिक दलका नेताले राष्ट्रपतिलाई अत्यन्त छुद्र ढङ्गले गरेको टिप्पणी अशोभनीय रहेको ज्ञवालीको भनाइ छ । यसबारे थप प्रष्ट्याउँदै उनले भने, ‘राष्ट्रपति यो देशको सर्वोच्च पदाधिकारी हो । संविधानको रक्षा र देशको अभिभावकको हैसियतले उहाँले आवश्यकताअनुसार आफ्नो हैसियत प्रयोग गर्नुहुन्छ, जहाँ कार्यकारी राष्ट्रपति हुनुहुन्छ, त्यहाँ कुरा त राष्ट्रपतिले नै गर्नुपर्‍यो । राष्ट्रपतिले नागरिकको जीवन रक्षाका लागि नै खोप ल्याउने कुरा गर्नुभएको हो ।’

file photo