विकृति फैलाउने युटुबरविरुद्ध कदम चाल्न ढिलो भयो कि ?

विकृति फैलाउने युटुबरविरुद्ध कदम चाल्न ढिलो भयो कि ?


  • राजन घिमिरे

पछिल्लो समय यूटुबको प्रभावकारिता, माग र जनचासोमा ब्यापकता आइरहेको कुरा कतैबाट छिपेको छैन । सहज पहुँच र चाँडो सन्देश प्रवाह गर्न सक्ने माध्यमको रूपमा लिइएको यूटुबले आफ्नो उपस्थिति साँच्चै दह्रो बनाइरहेको छ ।

यूटुबको बजार र मागमा ब्यापकता भएता पनि यसको आडमा केहीले यूटुबबाटै समाजमा बढाइरहेको विकृति र विसंगतिले अर्को पाटोमा गलत संस्कारको विकास गरिरहेको कटु यथार्थतालाई नजरअन्दाज गर्न मिल्दैन । तर यस्तो गलत संस्कार सबै यूटुबरहरूले पनि गरेका छैनन् । यो लेखको तात्पर्य पनि यूटुबको दुरुपयोग गर्ने यूटुबरहरूको गलत सोच, उद्देश्य र विकृतिबारे केही उजागर गर्नु मात्र हो ।

त्यसो त यूटुब शुरूवात गर्नुको उद्देश्य समाज भड्काउने, गलत संस्कारको विकास गर्ने र विकृति फैलाउंनु अवश्य थिएन । समयको मागअनुसार सहज पहुँच र सरल प्रयोग नै यस माध्यमको उद्देश्य थियो, तर अहिले नेपालमा यति सरल र सहज माध्यम यूटुबमा आवद्ध हुने केहीलाई छाडेर भन्नुपर्दा दुर्नियतवश सञ्चालनमा आएकाहरूले यूटुबकै धज्जी नै उडाइरहेका छन् । लिक छाडेर गलत परम्परा पछ्याउन खोज्नेहरूकै कारण यूटुब बदनाम भएको छ । यसको अनुगमन र यसलाई कानुनी दायरामा ल्याउनुपर्ने तर्फ सम्बन्धित निकाय गम्भीरतापूर्वक लागिपर्नु पर्ने अवस्था छ, तर यसो हुन नसक्दा विकृति बढिरहेको छ ।

सञ्चालन गर्न कुनै विशेष क्षमता वा योग्यता आवश्यक नपर्ने र सहज पहुँच हुनुको कारण जे पायो त्यही अनि सहजै पैसा कमाउन सकिने लालचमा समाजकै हित विपरीत, पत्रकारिताको मर्यादा, आस्था–निष्ठालाई कुल्चिएर हिँड्ने केही यूटुबरहरूका कारण यस माध्यमलाई संवेदनशील, प्रभावकारी र उच्चतम विद्या बनाइरहेका र शालिन तरिकाले यो विधालाई अङ्गिकार गरेकाहरू पनि मारमा पर्न थालेका छन् । त्यसकारण आगामी दिनमा प्रेस काउन्सिलले यूटुब पत्रकारिताको नाम र आडमा गलत संस्कार र भद्दा ‘खुराक’हरू प्रस्तुत गर्नेहरूलाई कानुनी दायरामा ल्याउंने खबर बाहिरिएपछि असल कर्म गरिरहेकाहरू खुशी भएका छन् भने खराब कर्म गर्नेहरूमा दुःखको लहर शुरु भएको छ ।

यूटुब माध्यमको सदुपयोग गर्दै समाजमा सकारात्मक र शुभ सन्देशहरू पुर्याउँदा पनि पैसा कमाउन सकिन्छ भन्ने कुरा यूटुबको सही प्रयोग गर्नेहरूले घाम जस्तै छर्लङ्ग पारेका छन् । तर कसकी श्रीमती कोसँग लहसिइन्, को व्यक्ति कोसँग फेलापर्यो ? कसको घरमा के झगडा भयो ? जस्ता विषयको भूमरीमा यूटुबलाई रिङ्याउन खोज्नेहरू यसप्रति पूरै लापर्वाह छन् । राति के लगाएर सुत्नुहुन्छ ? कसैको नाङ्गो फोटो हेर्नुभएको छ ? नाङ्गै सुत्नु हुन्छ कि कपडा पहिरिएरै ? भन्ने जस्ता प्रश्न सोध्न उनीहरूलाई पटक्कै अप्ठ्यारो लाग्दैन । नितान्त ब्यक्तिगत मामलामा अपमानजनक शब्दको प्रयोग र पत्रकारिताको आचारसंहिता विपरीत कार्य गर्ने यूटुबरहरूबाट समाजले के आशा राख्ने ? यिनीहरूले सोध्ने प्रश्न, प्रयोग गर्ने शीर्षक र प्रस्तुत गर्ने विषय-वस्तुबाटै प्रष्टिन्छ यस्ताहरूको संस्कार ।

मनोरन्जन प्राप्त हुन्छ र धेरैले हेर्छन् भन्ने नाममा अलिकति सामाजिक मूल्य–मान्यता पनि नराखी सस्ता, भद्दा र विकृतिजन्य विषयहरू पस्कने यूटुबरहरूमाथि कारबाही हुनैपर्छ । यिनीहरूलाई कानुनी दायरामा ल्याउनैपर्छ । गलत सोच, उद्देश्य र संस्कार भएका केहीका कारण यूटुब माध्यमप्रति नै यतिबेला जनमानसको हेर्ने दृष्टि फरक हुन पुगेको छ । त्यसैले यस्तालाई तह लगाउन सत्उद्देश्यका साथ कर्म गरिरहेका यूटुबरहरू पनि समयमै जागरुक हुने कि ? सरकारले चालेको कदममा कदम मिलाएर विकृतिविरुद्ध तात्न ढिला पो भयो कि ?