प्रधानमन्त्रीलाई चिट्ठी !

प्रधानमन्त्रीलाई चिट्ठी !


  • बबिता बस्नेत

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू
नमस्कार !

कसैलाई पत्र नलेखेको पनि धेरै भएछ । यो पत्रको सम्बोधनमा मैले ‘प्रधानमन्त्रीज्यू’ मात्रै लेखेको भए पनि हुने थियो, तर भोलिको पुस्ताले यो समाग्री पढ्दै गर्दा त्यतिबेला प्रधानमन्त्री को रहेछन् भनी खोज्नु नपरोस् भनेर पूरै नाम लेखेँ ।

समाचारको सिलसिलामा फोनमा पटक-पटक कुराकानी भए पनि यहाँसँग मेरो पहिलो ‘वन टु वन’ भेट २०५५ सालमा पाटनस्थित यहाँको निवासमा भएको थियो । घटना र विचार पत्रिकाका लागि अन्तवार्ता लिने क्रममा राजनीतिक कुराकानी सकिएपछि यहाँले जीवन–जगतका कुरा गर्दा म निकै प्रभावित भएकी थिएँ । पछि म सञ्चारिका समूहको अध्यक्ष हुँदा केही कार्यक्रमहरूमा कहिले अतिथि, कहिले प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरियो । यहाँले सधैं नै सकरात्मक भाव राख्नुभयो, कार्यक्रममा सरिक भइदिनुभयो । पछि गृहमन्त्री र प्रधानमन्त्री हुनुभयो । पदमा भए पनि नभए पनि केपी शर्मा ओली गज्जबको ‘सेन्स अफ ह्युमर’ भएको, राजनीतिबाहेक पनि धेरै कुरामा जानकारी राख्ने, देशका बारेमा कसैसँग सम्झौता नगर्ने एउटा राष्ट्रवादी राजनीतिज्ञका रूपमा लिने गर्थें । पहिलोपल्ट यहाँ प्रधानमन्त्री हुँदा अवधि साह्रै छोटो भयो अलि लामो समय पाएको भए पक्कै केही हुन्थ्यो भन्ने लागेको थियो । आफूले भोट नहाले पनि दोश्रोपल्ट यहाँ प्रधानमन्त्री हुँदा साह्रै खुशी लाग्यो ।

अब अहिले के भयो त ? यो मुलुकमा हुनु नपर्ने धेरै कुरा भएका छन् तर आज म एउटा क्षेत्रसँग सम्बन्धित मात्रै गर्छु । कुरा आफैबाट सुरु गरौँ । जब मान्छेलाई कुनै अप्ठ्यारो पर्छ आफूलाई परेको समस्या नै सबैभन्दा ठुलो समस्या हो जस्तो लाग्छ । अमेरिकाको मासाचुसेस्टमा कलेज पढ्दै गरेको मेरो छोराको यही मे ३० तारिखमा ग्राजुएसन छ । आफ्नो एक मात्र सन्तानको ग्राजुएसन समारोहमा जाने रहर कुन आमालाई नहोला ?

कलेजबाट पत्र आएकै दिन म आउँछु भनेर जवाफ पठाएँ । बच्चा फूल स्कलरसीपमा पढिरहेका कारण मलाई यात्रा गर्न टिकट पनि कलेजले नै दियो । त्यसअघि मैले कलेजले अविभावकलाई टिकट काटेर ग्राजुएसनमा बोलाएको कहिल्यै सुनेकी थिइनँ । म दङ्ग परेँ, भगवान र छोराको मेहेनतलाई धन्यवाद दिएँ र, यही मे १९ मा अमेरिका जाने योजना बनाएँ । यसैबीच मुलुकमा कोरोना महामारीले झ्याप्पै छोप्यो । यातायात, आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान बन्द भए । मेरो यात्रा स्वभाविकै रुपले रद्द भयो । अमेरिकामा रहेका साथीहरू र आफन्तमध्ये कतिले अन्तर्राष्ट्रिय उडान बन्द हुनुअघि नै आउ भने । तर लामो समय उडान बन्द भयो भने अमेरिकामा के गरेर बस्नु भनेर म गइनँ । कसैले आफ्ना सन्तान या आफन्तको ग्राजुएसनको फोटो सामाजिक सञ्जालमा राख्दा आफू आफ्नो छोराको छेउमा उभिएर मुसुक्क मुस्कुराउँदै गरेको फोटोको दृष्य आँखामा आउँथ्यो, आउँछ । प्रधानमन्त्रीज्यू बच्चाहरूप्रति संवेदनशील हुनुहुन्छ भनेको सुनेकी छु, एउटी आमाको यति भावना त बुझि नै हाल्नुहुन्छ !

बाहिरी मुलुकमा अहिले कोरोनाको त्यति समस्या थिएन । यताबाट जानेहरू पिसिआर टेष्ट गरेर जान्थे, उताबाट आउनेलाई १० दिन क्वारेन्टाइनको ब्यवस्था गरिएकै थियो । अन्तर्राष्ट्रिय उडान किन बन्द गरिएको हो मैले बुझ्न सकेकी छैन, खासमा यो निर्णय गर्नेहरू बाहेक कसैले पनि बुझ्न सकेका छैनन् । गन्तब्य मुलुकहरूले हाम्रो देशबाट उडान बन्द गर्नुपर्नेमा हामी उनीहरूका उडान बन्द गरिरहेका छौँ । यो आफैमा आश्चर्यको कुरा हो । अलिकति मात्रै विवेकी नेतृत्वले अहिले अन्तर्राष्ट्रिय उडान बन्द गर्दैन, गर्नुपर्ने अवस्था छैन ।

चार्टर गर्न पाउने अनि नियमित उडान गर्न नपाउने नेपालको नियम देखेर अन्तर्राष्ट्रिय उडानहरूलाई कस्तो लाग्दो हो ? तर उनीहरूलाई थाहा छ नेपालमा केका लागि यस्तो गरिन्छ ?

यसैबीच भारतले काठमाडौंमा रहेका आफ्ना नागरिकलाई साउदी अरब लानका लागि सरकारसँग संयोजन गऱ्यो र आफ्ना नागरिकलाई गन्तब्यमा पुऱ्यायो । हाम्रा नागरिकहरू विदेश जानका लागि विभिन्न जिल्लाबाट काठ्माडौं आएका थिए । लकडाउन भयो, गाउँ जान सकेनन्, विदेश जान पनि पाएनन्, विभिन्न होटलमा धेरै जना मिलेर एउटै कोठामा बसिरहेका छन् । उनीहरूको बिजोग छ । भारतको पो राज्य दह्रो थियो, विवेकी शासक थिए, दूतावासले अडान लियो, काममा जान पाए । हाम्रो त आफ्ना नागरिकलाई जेसुकै होस्, राज्यलाई के सरोकार ? अनिश्चित भविष्यका साथ निरीह बनेर उनीहरू होटलमा बसिरहेका छन्, कहिले उड्ने टुङ्गो छैन । विदेशीले हामीलाई उनीहरूको देश जान रोक्नुपर्नेमा हाम्रै सरकारले रोकिरहेको छ । यहाँ उनीहरू कहाँ, कसरी बसिरहेका छन्, उनीहरूको अवस्था कस्तो छ, के खाइरहेका छन्, होटलको पैसा कसरी तिर्छन् भन्ने संवेदनशील सवालसँग मतलब हुने कुरै भएन ।

अचम्म त मलाई त्यतिबेला लाग्यो जतिबेला सरकारले चार्टर फ्लाइटहरू गर्न पाउने निर्णय गऱ्यो । दुई वटा अन्तर्राष्ट्रिय फ्लाइट नियमित गर्ने भनी केही मिडयाले समाचार दिँदा धेरै मानिस खुशी भएका थिए । तर त्यो निर्णय त नियमित नभएर चार्टर गर्न पाउने निर्णय पो रहेछ । चार्टर गर्न पाउने अनि नियमित उडान गर्न नपाउने नेपालको नियम देखेर अन्तर्राष्ट्रिय उडानहरूलाई कस्तो लाग्दो हो ? तर उनीहरूलाई थाहा छ नेपालमा केका लागि यस्तो गरिन्छ ? आफ्नो कारणले खोजी गरिएको अन्तर्राष्ट्रिय उडानको ब्यवस्था बुझ्ने क्रममा मैले धेरै नेपाली र केही विदेशीहरूको रोदन सुन्नुपऱ्यो । विदेशीहरू जो आफ्नो देश जान चाहन्छन्, नेपालीहरू जो आफ्नो देश आउन चाहन्छन् ।

प्रधानमन्त्रीज्यु अहिले आफ्नो दलको राजनीतिमा ब्यस्त हुनुभएकाले थाहा नहुन सक्छ, अहिले मुलुकमा कोरोना भाइरसका कारण दिनको २ सय ४६ जनासम्म मानिसको मृत्यु भइरहेको छ । यो सरकारी तथ्याङ्क हो, होमआइसोलेशनमा बसेका अन्य धेरै मानिसहरूको घरमै मृत्यु भइरहेको छ । जसको हिसाबकिताब राज्यसँग छैन । मृत्यु भएकामध्ये कतिका छोराछोरी देशबाहिर छन्, कतिका बाबुआमा बाहिर छन् । आफ्ना बाबुआमा या सन्तानको मृत्युमा समेत ती आफ्नो घर फर्कन पाएका छैनन् । बाबुआमाको काजक्रिया गर्न नपाउँदा तिनलाई कस्तो भएको होला हामी अनुमान गर्न सक्छौँ । अनि केका लागि उनीहरूले यति ठूलो मूल्य चुकाउनु पऱ्यो त ? भन्दा… फर नथिङ !

पहिलो लकडउनका बेला अन्तर्राष्ट्रिय उडान बन्द गर्नैपर्ने थियो, किनभने बाहिरबाट भाइरस देशमा भित्रिँदै थियो । तर यो वर्ष बाहिरबाट होइन आफ्नै देशभित्र ब्यापक छ र सुरक्षाका उपायहरू अपनाएर अन्तर्राष्ट्रिय उडान गर्न सक्ने अवस्था छ । यदि त्यस्तो अवस्था नहुँदो हो त चार्टर फ्लाइट हुने नै थिएन । भारतमा हप्ताको दुई वटा नियमित फ्लाइट गर्न हुने, चार्टर फ्लाईट गर्दा कोरोना नसर्ने अनि नियमित फ्लाइटचाहिँ किन गर्न नहुने ? चार्टर फ्लाइटमा जानेहरूलाई चाहिँ कोरोनाको जोखिम हुँदैन ? नियमित उडान नभएपछि चार्टर फ्लाइटको तीन दोब्बर पैसा लाग्दोरहेछ । जस्तो, मैले अमेरिका जान र आउन दुईतर्फी टिकट १ लाख ३५ हजारमा लिएकी थिएँ । चार्टर फ्लाइटमा जानु पऱ्यो भने एकतर्फीको १ लाख ९३ हजार लाग्दोरहेछ । यो न्याय, अन्याय या दुःखलाग्दो के कुरा हो यहाँले नै विचार गरिदिनु होला । त्यति तिरेर भए पनि जान त पाइयो नि भन्नुभयो भने अर्कै कुरा हो । चार्टर फ्लाइट होस् कि नियमित… पूरा गर्नुपर्ने प्रक्रिया त उही हो । पीसीआर नेगेटिभ भएका मानिसलाई पठाउन किन रोक्ने ? क्वारेन्टाइन बस्ने गरी आफ्नो देश फर्कने नागरिकलाई आउन किन नदिने ?

देशको रक्षा गर्ने नेपाली सेनामा आफ्नो सारा जीवन खर्चिएका मेजर हरेन्द्रबहादुर थापाका सन्तान, पाँच पटक यो देशको प्रधानमन्त्री भएका सूर्यबहादुर थापाका भतिजा-भतिजीले आफ्ना बाबुको काजक्रिया गर्न राजदूतावास र मन्त्रालयको सिफारिश लिएर आफ्नो देश फर्कनुपर्छ भने यसलाई के भन्ने प्रधानमन्त्रीज्यू ?

प्रधानमन्त्रीज्यु, यो भन्दा पनि अन्यायको अर्को कुरा सुनाउँछु । चार्टरमा भारी रकम तिरेर पनि नेपाली नागरिकले सजिलै आफ्नो देश फर्कन पाउँदैन रहेछन् । जुन कुरा यसअघि कहिल्यै सुनिएको थिएन । नामै राखेर एउटा उदाहरण दिन्छु, पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका भाइ हरेन्द्र थापाको हालै निधन भयो । उहाँका छोराछोरी अमेरिकामा रहेछन् । आफ्ना बाबुको देहान्तपछि काजक्रिया गर्न नेपाल आउन सकेनन् । बल्ल-बल्ल चार्टर फ्लाइट मिलाए तर उनीहरूले आफ्नो देश फर्कन अमेरिकास्थित नेपाली राजदूतावासबाट सिफारिश लिनुपऱ्यो । सिफारिश लिएर मात्र पुगेन, उक्त सिफारिश पत्र परराष्ट्र मन्त्रालयलाई पठाएर, परराष्ट्रले गृह मन्त्रालय पठाइ अध्यागमन पुगेपछि मात्रै उनीहरू आउन पाउने भए । देशको रक्षा गर्ने नेपाली सेनामा आफ्नो सारा जीवन खर्चिएका मेजर हरेन्द्रबहादुर थापाका सन्तान, पाँच पटक यो देशको प्रधानमन्त्री भएका सूर्यबहादुर थापाका भतिजा-भतिजीले आफ्ना बाबुको काजक्रिया गर्न राजदूतावास र मन्त्रालयको सिफारिश लिएर आफ्नो देश फर्कनुपर्छ भने यसलाई के भन्ने प्रधानमन्त्रीज्यू ?

गत हप्ता मेरा एक छिमेकीको मृत्यु भयो । उनका तीन सन्तान अमेरिका र अष्ट्रेलियामा भएकाले उनकी पत्नीले छोराछोरी आएपछि मात्रै लाश जलाउने भनिन् । उनका सन्तान आउन सक्ने अवस्था छैन भनेर उनलाई बुझाउन निकै समय लाग्यो । पति-पत्नी दुई जना मात्रै थिए, पतिको देहान्त भएपछि पत्नी एक्लै छिन् । यस्ता उदाहरण अरु पनि धेरै छन् । कुनै पनि नेपाली नागरिकका लागि यस्तो झन्झटिलो ब्यवस्था किन गर्ने ? कुनै पनि देशको नागरिकको परिचयपत्र पसपोर्ट भएपछि बिना झन्झट आफ्नो देश आउन पाउनुपर्ने होइन र ? आफ्नै देश फर्कन राज्यको अनुमति लिनुपर्ने हामी कस्तो ब्यवस्था र अवस्थामा छौँ ? आफ्ना नागरिकलाई आपतविपद् परेका बेला राज्यले सहजीकरण गर्ने कि दुःख दिने ? के यो कुरा यहाँको जानकारीमा छ ?

यो त एउटा क्षेत्रको कुरा भयो । यस्ता अनफेयर काम त अहिले यो देशमा कति भईरहेका छन् कति । भरखरै यहाँले मैले बिचौलियाहरूलाई नजिक आउन दिएको छैन भन्नुभएको कुरा सुन्दा खुशी लाग्यो तर विश्वास लागेन । आफूले कुनै बेला यो देशको कायापलट नै गर्छ भनेर विश्वास गरेको मान्छेले बिचौलिया आफ्नो वरिपरि छैनन् भन्दा विश्वास नगर्ने ठाउँमा पुग्नु पनि कस्तो नरमाइलो कुरा ! खासमा यी सबै कुरा म यहाँलाई भेटेर गर्न चाहन्थेँ । केही अघिसम्म मनले मानेन किनभने त्यो आम समस्या भए पनि मैले आफ्नो समस्याका कारण गरेको कुरा जस्तो हुन सक्थ्यो । अमेरिका नजाने निश्चित भएपछि अब म स्वार्थरहित भएकी छु । अहिले सर्वोच्चको फैसला, बादलको पराजय, २१ घण्टाभित्र नयाँ सरकारको गठनका लागि राष्ट्रपतिले गर्नुभएको आह्वानमा हुनुपर्ने सामेलीलगायतका राजनीतिक जोडघटाउमा यहाँ यति धेरै ब्यस्त हुनुहुन्छ कि मानवीयताका कुराहरू गौण लाग्न सक्छन् । त्यसैले भेट्ने कुरालाई मनबाट पन्छाउँदै यो पत्र लेखेकी हुँ । आशा छ यो पत्रको सुनुवाइ हुनेछ र, आफ्नो घर आउन चाहने नेपालीले नियमित फ्लाइटमार्फत सहज रूपमा स्वदेश फर्कन सक्नेछन् ।

सकारात्मक परिणामको अपेक्षासहित-
बबिता बस्नेत