नेका सेवा दलले दियो डडेल्धुरा अस्पताललाई २० थान अक्सिजन सिलिण्डर

नेका सेवा दलले दियो डडेल्धुरा अस्पताललाई २० थान अक्सिजन सिलिण्डर


  • डम्बर निदाल, डडेल्धुरा

नेपाली कांग्रेस डडेल्धुराले गठन गरेको सेवा दलले डडेल्धुरा अस्पताललाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । सेवा दलले नेपालगञ्जबाट २० थान सिलिण्डर ल्याई डडेल्धुरा अस्पताललाई हस्तान्तरण गरेको हो ।

नेपाली कांग्रेस डडेल्धुराका कार्यवहाक सभापति करुणाकर भट्टले डडेल्धुरा पुगेका सबै सिलिण्डर अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझालाई हस्तान्तरण गरेका हुन् । सेवा दलकै सदस्यहरुको पहलमा नेपालगञ्जबाट ल्याएर अस्पताललाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको सेवा दलका सदस्य तथा कांग्रेस डडेल्धुराका कार्यालय सचिव राम बिष्टले जानकारी दिए । आगामी दिनमा पनि अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गर्ने उनले बताए ।

डडेल्धुरा अस्पतालमा अक्सिजन अभाव हुँदा कोरोना संक्रमित बिरामीको उपचारमा समस्या भइरहेको छ । डडेल्धुरासहित सुदूरपश्चिमका अन्य पहाडी जिल्लाका बिरामी पनि डडेल्धुरा अस्पतालमा आउने भएकोले उपचारमा समस्या भएको अस्पतालले जनाएको छ ।

देशभर अक्सिजन अभाव भइरहेको समयमा सेवा दलले अस्पताललाई २० थान अक्सिजन सिलिण्डर उपलब्ध गरेकोमा अस्पताल विकास समितिका अध्यक्ष ओझाले सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरेका छन् ।

विपतका बेला समस्या परेकालाई सहयोग गर्दै आएको डडेल्धुरा कांग्रेसद्वारा गठित सेवादलले पार्टी कार्यालयमा किसुनजी बिश्रामस्थलका नाममा १३ शैयाको आइसोलेसन बनाएको कांग्रेस डडेल्धुराले जनाएको छ ।

सेवा दलले गत वर्ष गरिएको लकडाउनको बेलादेखि निरन्तर विपतमा परेकालाई सहयोग गर्दै आइरहेको छ ।