निरीह जनता, विवेकशुन्य जनप्रतिनिधि र अक्षम कुटनीतिज्ञ

निरीह जनता, विवेकशुन्य जनप्रतिनिधि र अक्षम कुटनीतिज्ञ


बेलैमा सोचौँ.., पछुताउन नपरोस् !

  • सुन्दर शर्मा

अक्सिजन र आइसीयु नपाएर दिनहुँ संक्रमितको ज्यान गइरहेको छ । अस्पतालबाहिर टेन्ट टाँगेर बिरामीको उपचार गरिरहेको दृश्यले मुटु नै छिया-छिया पारेको छ । आवश्यकताअनुसार अक्सिजन नपाएर बिरामी छट्पटिँदै मरेको दृश्य कम्ति कारुणिक छैन देशका सबै अस्पताल कोभिड सङ्क्रमितले भरिएका छन् । कोभिडको कारण मृत्युबरण गर्नेको सङ्ख्या दिनहुँ बढिरहेको छ ।

वर्तमानको यो विषम परिस्थितिमा जनता-जनार्दन आ-आफ्नो क्षेत्रबाट होस्टेमा हैँसे गर्दै बिरामीको सहयोगमा स्वस्फुर्त रूपमा जुटेका छन् । तर, तिनै जनताले जिताएर पठाएका जनप्रतिनिधि भनाउँदाको मुख यतिबेला देख्न पाएका छैनन् जनताले । साँच्चै यी माननीयहरू के गरेर बसेका होलान् ? ५ प्रतिशतबाहेक अरु माननीयहरू हस्पिटल गएर आ-आफ्ना क्षेत्रका बिरामीहरूको स्थित बुझेको कहीँकतै देखिएन । अक्सिजनको अभावमा दिनहुँ जनता मर्दा पनि यी माननीय भनाउँदाहरूले सरकारसँग सहयोगको कुनै अपिल गरेको देखिएन । यस्तो बेलामा पहुँच र पहिचानका आधारमा यी माननीयहरूले चाहेका खण्डमा सरकारसँग जस्तोसुकै सहयोग पनि माग्न सक्थे । तर विवेकसुन्य माननीयहरूलाई आफ्नो भन्दा अरुको बारेमा सोच्ने फुर्सद कहाँ हुनु !

रातदिन स्वास्थ्यकर्मीहरू सङ्क्रमितको उपचारमा खटिँदा सम्बन्धित क्षेत्रका नेतागणको कुनै उत्तर दायित्व हुँदैन आफ्ना भोटर जनता बचाउन ? गोजीको पैसा हाल्नु भनेका छैनन् जनताले, उपचारको ब्यवस्थापन गरिदिन मात्रै भनेका हुन् ।

अप्ठ्यारो पर्दा सबै काममा जनता नै आफैं उठ्नुपर्ने हो भने यी विवेकशुन्य ब्यक्तिहरू उच्च ओहदामा किन विराजमान भइराख्ने ?

सरकार चलाउनको लागि विकसित देशमा झैँ यहाँ पनि विभिन्न संयन्त्र, विभाग, अङ्गहरू बनाइएका छन् । यी संयन्त्रहरूमा महँगो तलब-भत्ता खाने, महँगो गाडी चढ्ने महँगा ब्यक्तिहरू आसिन छन् । तर देश र जनतालाई आवश्यक पर्दा यी सबै सम्यन्त्र हरू किन चलायमान हुन सक्दैनन् ? देशलाई खाँचो पर्दा यिनीहरूको दक्षता किन देखिँदैन ?

विभिन्न देशमा करोडौँ खर्च गरेर राजदूतहरू राखिएको छ । राज्यलाई खाँचो पर्दा द्विपक्षीय वार्ता तथा कुटनीति पहलको लागि यी राजदूतको भूमिका महत्वपूर्ण हुनुपर्ने हो । तर हाम्रा राजदूतहरूले यो भयावह स्थितिमा स्वदेशको लागि अक्सिजन जस्तो सामान्य बस्तुको लागि पनि सम्बन्धित राष्ट्रसँग कुरा गर्न किन सक्दैनन् ?

के यी राजदूतहरूलाई महँगो तलब-भत्ता खुवाउँदै पारिवारिक घुमघामको लागि मात्र पठाइएको हो त ?

दुई देशबीच आपसी समन्वय गर्न किन यी राजदुतहरू असफल भए ? हो यहीँनेर फेल खान्छ क्या जुनसुकै क्षेत्रमा हुने राजनीतिक हस्तक्षेपले । यदि कुटनीतिक सुझबुझ भएको, पढेलेखेको विज्ञ, विभिन्न क्षेत्रमा दक्षता हासिल गरेको ब्यक्तिलाई राजदूत बनाइन्थ्यो भने सो ब्यक्तिले यो विषम परिस्थितिमा सम्बन्धित राष्ट्रसँग कुटनीतिक पहल गरी, विभिन्न निकायसँग समन्वय गर्दै अहिलेसम्म कोभिड खोप र अक्सिजनको ब्यवस्थापन गरिसक्ने थियो यतिबेलासम्म । यस्ता दक्ष ब्यक्तिले (राजदूत) गरेको अपिललाई विदेशीले पनि मान्यता दिँदै तत्काल समाधानको बाटो पहिल्याउँथे ।

विदेशीसँग कुरा गर्न सक्ने दम वा सामर्थ्य भएका ब्यक्ति पनि हुनुपऱ्यो नि हाम्रा राजदुतहरू !

पार्टीका झोले कार्यकर्ता, अनपढ नातेदार, करोडौँमा मिलाइएका ब्यक्तिलाई भागबण्डाको आधारमा राजनीतिक नियुक्ति गर्दाको प्रतिफल अहिले हामीले नमीठोसँग भोग्दैछौँ । यदि यी राजदूतहरूमा अलिकति पनि देश र जनताको माया हुन्थ्यो भने कोभिड खोपको लागि सम्बन्धित सरकारको ध्यानाकर्षण गराउन सक्थे । न देश र जनताप्रति माया छ न त विदेशीसँग कुरा राख्न सक्ने दम वा सामर्थ्य छ । यस्ता हुतिहारा रातदूतहरूलाई जनताकै करको पैसाले ज्वाइँ पालेसरी किन पालिराख्ने ?

हाम्रा कुन राजदूतले कुन देशसँग कोभिडको खोपको लागि पहल गरे त ? हामीलाई अनुदान चाहिएको होइन, खरिदको लागि त पहल गर्न सक्थे नि ? अनि चीन र भारतका नेपाली राजदूतले अहिले अति आवश्यक अक्सिजनको लागि ती राष्ट्रसँग कस्तो पहल गरेका छन् ? कुन-कुन निकायसँग हामीलाई परेको समस्याको गाँठो फुकाउन अपिल गरे त ? अहँ अहिलेसम्म कहिँकतै यस्ता समाचार पढ्न पाइएको छैन । यी राजदूतहरूको सक्षमताको परीक्षा पनि यही कोभिड महामारीले गरिदियो ।

अक्सिजन र आइसीयुको अभावमा बिरामी छट्पटिँदै मर्न बाध्य हुँदा स्वास्थ्य मन्त्रालयमातहतका अङ्गहरू मात्र चलायमान हुनुपर्ने हो र ? यस्तो महामारीको समयमा अरु मन्त्रालयको कुनै जिम्मेवारी नै हुँदैन ? यदि यसो हो भने अरु जम्मै मन्त्रालय दुई महिनालाई बन्द गरिदिउँ न त ! कमसेकम अनावश्यक खर्चको बचत त हुन्छ ।

चीनले दिन्छु भनेको अक्सिजन सिलिण्डर ल्याउन सरकारले पहल गर्न नसक्नुको कारण के होला ? ४०० सिलिन्डर ल्याएर जनताको आँखामा धुलो फ्याँक्ने अनि बाँकी २१६०० सिलिन्डर ल्याउनको लागि कमिसन र बिचौलियाहरूको पर्खाइमा हो ? त्यो प्रष्ट पार्नुपऱ्यो । नत्र जति महँगो परे पनि सरकारको दायित्वभित्र पर्छ त्यो काम ।

वर्तमानको यो असहज परिस्थितिमा सबै दलका नेता, सरकारका सबै अङ्ग, विभिन्न संघसंस्था, ब्यक्तिगत रूपमा सबै जनता एकजुट भइ आ-आफ्नो खुबी र क्षेत्रअनुसार महामारीको उपचारमा खट्नुपर्नेमा यी नेता भनाउँदाहरू विभिन्न नौटङ्की देखाउन ब्यस्त छन् । अहिलेको समय भनेको सरकार बनाउने र गिराउने हुँदै होइन । यो महामारीबाट कसरी मुक्ति पाउने भन्ने मात्र हो । यसमा सबैले आ-आफ्नो क्षेत्रबाट सोच्नुपर्ने बेला आएको छ ।

के नयाँ सरकार बन्नेबित्तिकै यी तमाम समस्या एकै दिनमा हल हुन्छन् त ? पक्कै पनि हुँदैनन् । समस्या जहाँको त्यहीँ रहनेछन् । कुर्सीका टाउका मात्र फेरिनेछन् । ती कुर्सीमा बस्ने नयाँ टाउकेको सोच फेरिने छैन, कामगराइको तौरतरिका केही पनि फेरिने छैन । त्यसैले यो बेलामा सरकार फेर्नेतिर होइन कि महामारीमा जनता बचाउनतिर लागौँ । यसैमा सबै एकजुट होउँ । नयाँ सरकार बनाउँदै गरौँला । नयाँ सरकार बनाउन २ महिना ढिलो हुँदैमा आकाशै खस्ने त होइन होला नि ! कसो नेता ज्यु ?

बार-बार तपाईंहरूको सरकार पनि देखेकै हो, भोगेकै हो । हतार नगर्नुहोस् । यदि जनता नै बाँचेनन् भने तपाईंहरूले बनाउने सरकारले कोमाथि र कसरी राज गर्ला ? बेलैमा सोचौँ है… पछुताउन नपरोस् ।