आफू प्रधानमन्त्री बन्नेमा देउवा ढुक्क !

आफू प्रधानमन्त्री बन्नेमा देउवा ढुक्क !



केपी शर्मा ओली विरूद्ध संसदमा बहुमत पुग्ने ग्यारेण्टी नभएसम्म सत्ता प्राप्तिको लालच नराख्नुभएका काङ्ग्रेस सभापति शेरबहादुर देउवा प्रचण्डले बहुमत पुगेको ‘प्रमाण’ प्रस्तुत गरिदिनुभएपछि प्रधानमन्त्री बन्न अग्रसर हुनुभएको छ ।

माधव नेपाल समर्थक सांसदहरूले केपीलाई असहयोग गर्ने र आवश्यक परे राजीनामा दिने भएपछि महन्थ ठाकुरको पक्षले केपीलाई साथ दिए पनि बहुमत नपुग्ने विश्वास प्रचण्डले देउवालाई दिलाउनुभएको र, यसपटक उक्त कुरामा देउवा विश्वस्त हुनुभएको छ । केपीले विश्वासको मत नपाएपछि तत्काल देउवाको नेतृत्वमा सरकार गठन गर्ने प्रक्रिया सुरु गर्ने गृहकार्य प्रचण्ड पक्षले गरिसकेको छ ।

पूर्वमाओवादीहरू उपेन्द्र यादव र बाबुराम भट्टराई, माओवादी नेता प्रचण्ड तथा माओवादीसङ्गको सहकार्यमा रमाउँदै आएका माधवकुमार नेपाल र शेरबहादुर देउवाले केपीविरूद्ध कागजी बहुमत पुर्‍याएको जानकारी घटना र विचारलाई प्राप्त भएको छ ।

पछिल्लोपटक जसपा निर्णायक बन्न पुगेको र जसपाभित्र आफ्नो समर्थनमा २२ जना सांसद रहेको दाबी उपेन्द्र यादवको छ । माधवसमर्थक सबै सत्ताइस सांसदले राजीनामा दिए पनि समानुपातिक सात सांसदको तत्काल पदपूर्ति हुन सक्ने देखिन्छ र, २० जना सबै पदमूक्त भए भने संसदमा कुल २५० सांसद बाँकी रहने छन् । त्यस अवस्थामा १२६ सांसदको समर्थन प्राप्त ब्ययक्ति प्रधानमन्त्री बन्न सक्ने छन् ।

संसदमा काङ्ग्रेसको ६१ र माओबादीको ४८ गरी जम्मा १०९ सांसद रहेका छन् । बहुमत पुग्न उपेन्द्र यादवले १७ सांसद पुर्‍याउनुपर्ने हुन्छ, जुन यादवले पुर्‍याइसकेको बताइन्छ । सत्ताइस सांसदले राजीनामा दिएमा या उनीहरूलाई पदमूक्त गरिएमा एमालेको सङ्ख्या १२१ बाट घटेर कुल ९४ जना बाँकी हुने छन् । त्यसमा सात समानुपातिक सांसदको मनोनयन भएमा १०१ सम्म पुग्नेछ । राजेन्द्र लिङ्देन र नेमकिपाले ओलीलाई साथ दिएको स्थितिमा १०३ सम्म हुने र महन्थ ठाकुरले २३ सांसद जुटाउनुपर्ने हुन्छ, जुन असम्भव नभए पनि सजिलो भने होइन ।

यसरी हेर्दा यो साताभित्रै शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्र यादवको संयुक्त सरकार बन्ने सम्भावना देखिन्छ । तर, प्रचण्ड र देउवाले कल्पना गरेझैँ सजिलैसँग सरकार बदलिने सम्भावना देखिँदैन । निर्णायक बनेको जसपामा उपेन्द्र यादवको पक्षमा बहुमत पुग्ने ग्यारेण्टी देखिँदैन । र, प्रधानमन्त्री केपी ओलीसँग जे-जस्ता विकल्प र रणनीति रहेको बुझिन्छ, त्यसलाई हेर्दा एकपटक प्रचण्ड-देउवाको गठबन्धनले परिणाम हासिल गर्न सक्नेमा आशङ्का छ । तथापि, शेरबहादुर देउवा भने केपी हट्ने र आफू प्रधानमन्त्री बन्ने कुरामा ढुक्क हुनुभएको छ !