कोरोनाविरुद्धको उपचारमा स्पुतनिक खोपको एकै मात्रा काफी हुने दाबी

कोरोनाविरुद्धको उपचारमा स्पुतनिक खोपको एकै मात्रा काफी हुने दाबी



स्पुतनिक खोपको प्रभावकारिताको पूटिनद्वारा प्रशंसा

रूसमा निर्माण गरिएको कोभिड-१९ विरुद्धको खोप ‘स्पुत्निक-भी’ कोभिड-१९ सङ्क्रमण नियन्त्रणमा निकै प्रभावकारी रहेको दाबीसहित रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले त्यसको प्रशंसा गरेका छन् । उनले स्पुत्निक-भीलाई रूसी प्रसिद्ध हतियार ‘कलाश्निकोभ राइफल जत्तिकै भरपर्दो’ भनी प्रशंसा गरेका हुन् ।

उपप्रधानमन्त्री तात्याना गोलिकोभाका साथ गरिएको एक भिडिओ कन्फरेन्समा बोल्दै राष्ट्रपति पुटिनले खोपबारे उक्त भनाइ राखेका हुन् । सिन्ह्वाले जनाएअनुसार रूसी स्वास्थ्य अधिकारीहरूले रुसमा निर्मित स्पुत्निक लाइट (स्पुतनिक-भी) कोभिड-१९ विरुद्धको खोपको एक मात्रा मात्रै लगाए पुग्ने संस्करण दर्ता गरेका बेला त्यस्तो टिप्पणी आएको हो ।

विश्वमा निर्मित अन्य खोपको दुई मात्रा लगाउनु पर्ने भए पनि स्पुत्निकको एकै मात्राले कोभिड-१९ उपचारमा निकै सफलता पाएको बताइएको छ ।

स्पुत्निक–भी खोप अक्सफर्ड र अस्ट्राजेनेका तथा जनसन एण्ड जनसनले तयार पारेका खोप बराबर नै प्रभावकारी रहेको रूसको दावी छ । त्यसमा कोल्ड-टाइप भनिने निष्क्रिय तुल्याइएको भाइरसको प्रयोग हुन्छ जुन भाइरसले कोरोनाभाइरसको सूक्ष्म अंश मानिसको शरीरमा प्रवेश गराउने बाहकको रूपका काम गर्छ ।

रूसले स्पुतनिक लाइटलाई उक्त खोपको दुई मात्रा लगाउनुपर्ने प्रकारले हाल संसारका एक दर्जनजति देशमा आपत्कालीन प्रयोगका लागि अनुमति पाइसकेको छ । स्पुतनिक लाइट भनिएको खोपको एक मात्रा मात्रै लगाए पुग्ने प्रकारको प्रयोगलाई रुसमा गत बिहीबार औपचारिक अनुमित दिइएको थियो ।

एउटा प्रेस विज्ञप्तिमार्फत स्पुत्निक खोपसम्बद्ध अधिकारीले भनेका छन्- ‘स्पुतनिक लाइट खोपको देशमा गरिएको परीक्षणका क्रममा ७९.४ प्रतिशत प्रभावकारिता देखिएको छ । एक मात्रा मात्रै लगाए पुग्ने खोपको यो प्रकारले छोटो समयमा जनसङ्ख्याको ठूलो हिस्सालाई खोप लगाउन सकिन्छ र यसबाट जटिल चरणमा प्रवेश गरेको महामारीविरुद्ध लड्न सघाउ पुग्नेछ ।’