देउवाद्वारा खोपको भ्रष्टाचारमा संलग्नलाई कडा कारवाही गर्न माग

देउवाद्वारा खोपको भ्रष्टाचारमा संलग्नलाई कडा कारवाही गर्न माग



सरकारकै कारण नेपाल कोरोनाको उच्च जोखिममा परेको आरोप

कोभिड-१९ को महामारी भयावह भएका विषम परिस्थितिमा पनि अत्यावश्यक औषधि र कोभिड-१९ विरुद्धको खोप आयात गर्दा भएको भ्रष्टाचारमा संलग्नलाई कारवाही गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माग गरेका छन् ।

एक विज्ञप्तिमार्फत् सभापति देउवाले कमिशनको कारण खोप आउन नसकेको कुरा सार्वजनिक भइसकेको जनाउँदै जनताको जीवन रक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवीयता, अनैतिकता र गैरजिम्मेवारीको पराकाष्ठा र जनताविरुद्धको अक्षम्य अपराध हो भनेका छन् ।

पूर्वप्रधानमन्त्री देउवाद्वारा शुक्रबार जारी विज्ञप्तिमा जिवनदायिनी औषधि र खोपको भ्रष्टाचारमा जोसुकै संलग्न भए पनि कडा कारवाही गर्न सम्बन्धित निकायसँग माग गर्नुका साथै नेपाली जनताको जीवन रक्षा गर्न देशभर आवश्यक अक्सिजन, सघन उपचा कक्ष शय्या, खोपलगायत औषधिको तत्काल व्यवस्था हुनुपर्ने जनाइएको छ ।

कोभिड–१९ को यति लामो समयसम्मको निरन्तर प्रकोप भए पनि सरकारले नियन्त्रण र रोकथामको प्रभावकारी व्यवस्था नगरेको सभापति देउवाको आरोप छ । देशमा व्याप्त विषम घडीमा सबैमा स्वास्थ्यका मापदण्ड अपनाउन तथा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अनुरोध गर्दै सभापति देउवाले देशभरिका कांग्रेसका सदस्य तथा शुभेच्छुकलाई स्वास्थ सुरक्षाका मापदण्ड अपनाउँदै संकटमा परेकालाई सक्दो सहयोग गर्न आग्रह गरेका छन् ।