करवृद्धिको विरोध प्रदर्शन गर्दा कोलम्बियामा ३१ जनाको मृत्यु

करवृद्धिको विरोध प्रदर्शन गर्दा कोलम्बियामा ३१ जनाको मृत्यु



दक्षिण अमेरिकी मुलुक कोलम्बियामा सरकारले अघिसारेको करवृद्धिको विरोधमा भएका प्रदर्शनका क्रममा कम्तीमा ३१ जनाको मृत्यु भएको छ ।

प्रदर्शनका क्रममा एक हजार २२० जना घाइते भएका छन् भने अरु ८७ जना बेपत्ता भएको एएनआईले जनाएको छ । यो विवरण पछिल्लो एक हप्ताको मात्रै भएको इन्स्टीच्युट फर डेभलपमेन्ट एण्ड पिस स्टडीजले जनाएको छ ।

मृत्यु भएकामध्ये सबैभन्दा धेरै २४ जना देशको पश्चिमी काली सहरमा मृत्यु भएको सो संस्थाले जानकारी दिएको छ ।

कोलम्बियामा ग्यासको मूल्यवृद्धि भएको र करसम्बन्धी विधेयकमा गलत संशोधन गरिएको भन्दै विरोध प्रदर्शनहरु भइरहेका छन् ।

राष्ट्रपति इभान डुक्युले संशोधनका बारेमा पुनर्विचार गर्न सकिने आइतबार बताए पनि आन्दोलन भने जारी नै रहेको छ भने आन्दोलन देशव्यापी हुँदै गएको छ ।