बेल्जियममा मे ८ बाट आंशिक रूपमा रेष्टुरेण्ट खुल्ने

बेल्जियममा मे ८ बाट आंशिक रूपमा रेष्टुरेण्ट खुल्ने



स्वास्थ्य मापदण्ड अवलम्बन अपरिहार्य

  • सनत आचार्य, (युरोप प्रतिनिधि)

कोरोनाका कारण ६ महिनादेखि बन्द भएका होरेका (होटल तथा रेष्टुरेण्ट क्षेत्र) बेल्जियम सरकारले मे ८ देखि आंशिक रूपमा संचालन गर्ने निर्णय गरेसँगै यस क्षेत्रमा संलग्न नेपाली व्यवसायी तथा कामदारहरू खुशी व्यक्त गर्दै मिश्रित प्रतिक्रिया दिएका छन् ।

होरेका क्षेत्रका सरोकारवालाहरूले सरकारसँग आफ्नो व्यवसायका सम्बन्धमा गुनासो पोखेपछि बेल्जियम सरकारले गत अफ्रिल २४ मा शर्तसहित टेरस (बाहिरी भागमा मात्र) खोल्न अनुमति दिएको हो ।

ग्राहकले ६ महिनायता रेष्टुरण्टमा बसेर खान नपाइरहेको परिवेशबीच मौसमले अनुकुलता देखिएपछि सरकारले सही समयमा टेरस खोल्ने निर्णय दिएको भन्दै सरोकारवालाले खुसी व्यक्त गरेका छन् ।

युरोपमा महिना/ऋतु परिवर्तनका हिसाबले पनि यो समय मनोरम र अलि न्यानो महिनाको रूपमा लिइन्छ । मे महिनादेखि हिउँ नपर्ने र केही तातो महसुस हुने गर्दछ ।

यस्तो वातावरणमा ग्राहकहरू बाहिर बसेर घाम ताप्दै रेष्टुरेण्टमा बस्न र खान मन पराउँछन् । त्यस्तै, राति करिब ११ बजेसम्म उज्यालै हुने भएकोले पनि ग्राहकहरू लामो समयसम्म घरबाहिर नै हुन्छन् ।

व्यवसायीहरूका अनुसार जाडोयामको तुलनामा यो व्यापार वृद्धि हुने समय हो । टेरस खोल्ने सरकारी निर्णयले लगानीकर्ता, कामदार र ग्राहक सबैलाई एकपटक फेरि उत्साहित तुल्याएको छ ।

नेपाली व्यवसायीहरूको संघ, बेल्जियमका उपाध्यक्ष एवं ‘लारियटेडटबी’का सञ्चालक चिरण खवास एक वर्षअघिको आँकडा हेर्दा करिव तीन सय नेपालीले होरेका व्यवसायमा लगानी गरेको र हाल यो संख्या चार सयसम्म पुग्न सक्ने बताउँछन् । उनका अनुसार बेल्जियमको होरेका क्षेत्रमा मात्र नेपालीले करिब पाँच अर्बभन्दा बढी लगानी गरेका र दुई हजारभन्दा बढी मानिसलाई प्रत्यक्ष रूपमा रोजगारी दिएका छन् ।

उपाध्यक्ष खवास भन्छन्- ‘कोरोनाका कारण ६ महिनाभन्दा बढी समयसम्म बन्द भएका रेष्टुरेण्ट खोल्नु यो क्षेत्रका लगानीकर्ताका लागि खुशीको विषय हो र, प्रारम्भिक अवस्थामा टेरेस मात्र भए पनि खोल्न पाउनु राम्रो हो ।’ सरकारको यो निर्णय सबै व्यवसायीलाई लाभदायी नभए पनि अधिकांश व्यवसायीलाई भने फाइदाजनक रहेको उनले बताए ।

खवास भन्छन्- ‘सरकारको यो निर्णयले टेरस हुनेरूका लागि केही हदसम्म राहत मिले पनि टेरस नहुनेका लागि भने समेट्न नसकेको, तर सरकारले यस्ता व्यवसायीलाई सामाजिक सुरक्षा योजनाअनुसार थप सहयोग गरिरहेको छ ।’

यसै विषयमा क्याफे डे लागारका संचालक पुष्प नेपालले सरकारले सहुलियत दिएर रेष्टुरेण्ट खोल्नु उपयुक्त निर्णय हुनुका साथै पछिल्लो निर्णयअनुसार सरकारलाई बुझाउने राजश्वमा समेत छुट गर्नुले व्यवसायीलाई राहत मिलेको बताए ।

अर्का व्यवसायी राजु गिरीले करोडौँ लगानी गरेको व्यवसाय विगत एक वर्षदेखि बन्द रहेको अवस्थामा सरकारको पछिल्लो निर्णय स्वागतयोग्य भएको र यसले लगानीकर्ता र केही कामदारलाई समेत राहत प्रदान गर्न सक्ने बताए ।

अर्का व्यवसायी अर्जुन गुरुङले लामो समयसम्म बन्द रहेका रेष्टुरेण्टहरू आंशिक रूपले भए पनि खोल्ने निर्णय ग्राहक र लगानीकर्ता सबैका लागि खुसीको विषय भएको बताए । अब ग्राहकले नयाँ स्वादमा खान पाउने उनको दाबी छ ।

त्यस्तै, क्याष्टिलो लुकानोका संचालक शिव डाँगीले सरकारको पछिल्लो निर्णय ‘अस्थायी प्रकृतिको स्वागतयोग्य’ भएको र निकट भविष्यमा सबै रेष्टुरेण्ट खुल्न सक्ने बताउँदै रेष्टेरेण्ट खुलेसँगै संचालकहरूले स्वास्थ्यका मापदण्डहरू कडाइका साथ पालना गर्नुपर्ने बताए ।

डाँगीले रेष्टुरेण्ट खुलेसँगै ग्राहकको भिडभाड हुने बढि सम्भावना रहेको र यस्तो अवस्थामा सजगताका साथ संचालनमा ल्याउन सुझाव दिए ।

मे महिनादेखि सबै रेष्टुरेण्ट पूर्ण रूपले खोल्ने अनुमान गरिएकोमा बेल्जियम सरकारले स्वास्थ्यका निश्चित मापदण्ड अपनाएर तत्कालका लागि टेरस मात्र खोल्न पाउने निर्णय गरेको छ । सरकारको यस निर्णयअनुसार टेरस नभएका व्यवसायी मर्कामा पर्ने देखिन्छ । टेरस नभएका व्यवसायीले ‘टेक अ वे’ मात्र गर्न पाउने छन् । रेष्टुरेण्टको भित्रै बसेर खान कानुनी रूपले अझै बन्देज गरिएको छ ।

टेरसभित्र पनि सामाजिक र भौतिक दूरी कायम गर्नुपर्ने नियम छ । खानाको समयमा बाहेक आवतजावत गर्न मुखमा अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने हुन्छ । हातमा सेनिटाइजर घस्ने, एउटा टेबलदेखि अर्को टेबुलसम्मको दूरी डेढ मिटरको हुनुपर्नेछ भने रेष्टुरेण्ट बिहान ८ देखि बेलुकी १० बजेसम्म मात्र खोल्न पाइने छ । रेष्टुरेण्टभित्र बसेर अझै पनि कसैले खान पाउने छैनन् भने सरकारले दिने सुविधालाई यथावत राखिएको छ ।