परिणाम सही नआए असल नियतको के अर्थ ?

परिणाम सही नआए असल नियतको के अर्थ ?


  • स्वयम्भूनाथ कार्की

एक पटक एउटा ब्याधा शिकार गर्न जङ्गल पसेछ । बिहान सबेरै शिकारमा निस्किएको ब्याधा भोको रहेछ । बाटोको खोला तर्दा सर्वाङ्ग भिजेछ । दिनभरको दौडधुपमा पनि कुनै शिकार प्राप्त गर्न नसकेको त्यो ब्याधा बाटो भुलेर अनकण्टार जङ्गलभित्र पुगेछ । दिनभर भोकै जङ्गल चहारेको त्यो ब्याधामा फर्कने बाटो खोज्ने सामर्थ्य पनि बाँकी रहेनछ । झमक्क साँझमा हिंस्रक जन्तुको भयले एउटा रुख चढी त्यसको हाँगामा बसेछ । भोक र डरको आधिक्यमा अनजानैमा प्राणरक्षाको निमित्त प्रार्थना गर्दै बेख्यालीमै पात टिप्दै रुखको फेदमा खसाउन थालेछ । भाग्य बलियो भएको त्यो ब्याधा चढेको रुख बेलको परेछ । त्यस रुखको फेदमा शिवलिङ्ग रहेछ र त्यो दिन महाशिवरात्री परेछ । बिहान सबेरै हिँडेको र खोला तर्ने क्रममा सर्वाङ्ग भिज्दा स्नान भएछ, दिनभर भोकै रहनुपरेकोले उपवास भएछ । बेलको पात चुँडेर फालेको तल भएको शिवलिङ्गमाथि पर्दा अनजानमै शिवजीलाई बेलपत्र अर्पण भएछ । डरले ईश्वर पुकारा गर्दै रातभर निन्द्रा लाग्न नसक्दा सभक्ति जाग्राम पनि भएछ । यसरी त्यस ब्याधाले अनजानैमा विधिपूर्वक महाशिवरात्रीको ब्रत सम्पन्न गरेछ । यसको फलस्वरुप त्यस ब्याधाले शिवधाम प्राप्त गरेछ । यो महाशिवरात्री महात्म्यको प्रसङ्ग हो ।

अब अर्को एउटा कथा, एकदिन बिहानै नदीमा स्नान गरेर फर्कने क्रममा एक ब्राह्मणले एउटा बगरेले कृषकाय बुढी गाई धपाउँदै ल्याएको देखेछन् । सोधपुछमा थाहा लाग्यो बगरेले त्यो गाई काटेर मासु बेच्ने प्रयोजनले किनेर लैजाँदै रहेछ । आफ्नो सामुन्ने गाई काट्न लगेको हेर्न उनले सकेनन् । उसले किनेको दाम आफूले दिएर गाई किन्ने मनसाय सुनाए । बगरेले सोच्यो- बिनामेहनत धन कमाउने अवसर प्राप्त भयो । यसको फाइदा लिनुपर्छ भन्ने सोचका साथ गाईको मासु बेचेर लगानीको दोब्बर दाम प्राप्त गर्ने कुरा राख्यो ।

धर्मभिरु ब्राम्हणले गौरक्षाको निमित्त धनको मुख हेर्न हुँदैन भन्ने सोचेर उसको मागबमोजिमको दाम दिएर गाई किने । एउटा गाईको प्राण बचाएको गौरव गर्दै घर फर्के । भोलिपल्ट फेरि सोही स्थान र समयमा उही बगरे दुई वटा बुढी गाई धपाउँदै आयो । अघिल्लो दिनको जस्तै दोब्बर दाममा ती गाई पनि ब्राह्मणले किने । यसरी त्यो बगरेले दिनहुँ दोब्बर गाई ल्याउँदै गयो र ब्राह्मणले दोब्बर मोलमा गाईहरू किन्दै गए । केही दिनपछि बुढी गाईहरू किन्दाकिन्दै ब्राह्मणको सम्पुर्ण सम्पत्ति सकियो । अन्तमा कङ्गाल भएका ती ब्राह्मण बुढी गाईहरूको हन्जा नै धपाएर ल्याएको बगरेलाई टुलुटुलु हेर्न बाध्य भए ।

नियत र अभिप्राय राम्रो भएको झ्याली पिट्नुभन्दा परिणाम राम्रो आउनु आवश्यक छ । सर्वाधिक बलियो भनिएको सरकार बारम्बार फिर्ता लिनुपर्ने काम गर्दैछ । प्रतिपक्षको भूमिकामा भएकाहरू आफ्नो मानोचामल नै खोसिएला कि भनेजस्तो गरेर विरोधका कर्मकाण्डी कार्यक्रमहरू गर्छन् । उनीहरूले कुनै मुद्दा नै देखेका छैनन् जस्तो लाग्छ । वैकल्पिक धार हौँ भन्ने खुंखार पञ्चहरू अमिवा जस्तो घरी जोडिने घरी तोडिने भएर नाटक गर्दैछन् । वल्ला घरको नरे पल्लाघर सरे जस्तो सीमित व्यक्तिरू कहिले यसमा कहिले उस पार्टी प्रवेश गर्छन् र, समाचार दिइ राख्छन् । यी समुहमा एक व्यक्ति पनि थप भएको छैन बरु भएका पनि घट्दै गएका छन् ।

राजावादीहरू सडकमा भेला भएर नारा र भीषण भाषण गर्नु अनि आफ्नो कार्यक्रममा आएन भनेर अर्कालाई गाली गर्नु मात्र काम ठान्दैछन् । राजसंस्था शीतनिन्द्रामा छ । सबैको नियत राम्रो नै होला तर परिणाम राम्रो भन्न सकिने अवस्था छैन । नेपाली समाजका चेतनशील वर्ग रनभुल्ल परेर बसेको छ । वर्तमानका शक्तिशालीलाई पञ्चायत ढाल्न आफूले गरेको पराक्रम (?) बखान गर्दै ठिक्क छ । जनता भने पञ्चायत ढलेर आफूलाई फाइदा भयो कि घाटा त्यो सोच्दैछ । न गणतन्त्रका ठालुहरूले काम गर्न जान्लान् भन्ने आश छ, न राजसंस्थाको शीतनिन्द्रा खुल्ने प्रतीक्षाको अन्त्य होला भन्ने भरोसा ! नियत वा उद्देश्य त सबैको राम्रै होला, तर परिणाम… ?