बढ्दो आत्महत्याबाट समाज कसरी उम्कने ?

बढ्दो आत्महत्याबाट समाज कसरी उम्कने ?


  • मुक्तिनाथ भुसाल

सामान्यतया विभिन्न माध्यमको स्वेच्छिक प्रयोगमार्फ्त ज्ञानवश जीवन त्याग्नुलाई आत्महत्या भनिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार आत्महत्या हुने मुलुकमध्ये नेपाल संसारभर सातौँ स्थानमा पर्दछ । विष खाएर र हामफालेर गरिने आत्महत्यामा पछिल्लो समय कमी जस्तो देखिए पनि झुन्डिएर गरिने आत्महत्याको संख्यामा बढत्तोरी भइरहेको छ । आत्महत्या गरिनुका पछाडि कैयौँ कारण भए पनि सामान्यतया व्यक्ति मनोवैज्ञानिक रूपमा कमजोर भएपछि निराश हुँदै आत्महत्यालाई आफ्नो अन्तिम लक्ष्यका रूपमा लिने गरेको जानकारहरूले बताउँदै आएका छन् ।

आत्महत्या गरिनुका पछाडि विभिन्न समस्याहरू भए पनि सुन्दर जीवनलाई जबर्जस्त मृत्युमा परिणत गर्नु हरहालतमा राम्रो मान्न सकिँदैन । धार्मिक ग्रन्थलाई आधार बनाउने हो भने आत्महत्या गर्नेहरूलाई कायर तथा महापापीको संज्ञा दिँदै उनको सम्झनामा एक थोपा आँशु बगाउन नहुने, मृत्युपश्चात सदैव नर्कमा बास हुने, सूतक नलाग्ने आदि उल्लेख गरिएको भएता पनि बेलाबखतमा आत्महत्याका घटनाहरू सुन्न, भोग्न र देख्न विवश हुनु परेको छ । सुन्दर जीवन प्राप्त गरेका मानिसहरूले आफ्नो महत्वलाई फिटिक्कै बुझ्न नसक्दा सामान्य विषयलाई आफ्नो ठूलो हार सम्झने कायरताका कारण यस्ता घटनाहरू घट्न गएका हुन् ।

मानव शरीरका सबै अङ्गहरूको जीवन निर्वाहमा महत्वपूर्ण भूमिका रहने भए पनि आत्महत्या गर्नेहरूले यो विषयलाई गहिराइमा बुझेको पाइँदैन । शारीरिक अङ्गमध्ये एउटालाई मात्र उदाहरण बनाएर भन्नुपर्दा मानिससँग भएका दुई हातलाई गरिव, असहाय र अशक्तलाई सहयोग गर्ने कार्यमा लगाइ बचेको समय भगवानको प्रार्थनामा लगाउने वा कुकर्म अर्थात् जुवातास, हत्या-हिंसा, बलात्कार जस्ता बिकारमा संलग्न गराइ कालान्तरमा महत्वपूर्ण जीवनलाई आफ्नै हातबाट नष्ट गरिदिने भन्ने कुरा गम्भीरताका साथ सोच्न नसक्ने व्यक्तिहरूलाई महामुर्खका रूपमा लिनुपर्ने हुन्छ ।

विभिन्न उमेर समूहमध्ये किशोर-किशोरी, बयस्क र वृद्ध सबै उमेर समूहका व्यक्तिबाट आत्महत्याका घटना घटाइएको सुनिन्छ । जेष्ठ नागरिकहरूको अनुभव, जीवन भोगाइ र रहनसहन बयस्क उमेरकाले अलिअलि पत्याए पनि अहिलेको नयाँ पुस्ताले विश्वासै गर्न सक्दैनन् । अबेरसम्म काम गरी राति ११ बजे सुत्ने र बिहान तीन-चार बजे उठेर ढिकीढाँचो गरी जीवन बिताएका जेष्ठ नागरिकहरूले आफ्नो कुरा सुनिदिनेहरूलाई बढी भन्ने भनेको बिहानमा चाँडो उठ, साँझमा चाँडो घरमा आउ, आवश्यकता भन्दा बढी खर्च नगर, सम्पति बचाउ, जमिन बाँझो नराख, जुताचप्पल सिधा राख, जुठा र रित्ता भाँडा घरमा नराख, माकुराका जालोको सफाइ गर, इष्टमित्र वा आफन्त आएमा सम्मान गर आदित्यादि । यी अर्थपूर्ण उपदेशहरूबाट वाक्क बनेका कथित सभ्य भनाउँदाहरू अपवाद बाहेक अनेकौँ बहाना बनाइ आफ्ना जन्म दिने भगवानहरूलाई गाउँमा एक्लै छाडेर शहरमा खुशी, धनी, सभ्य र महान् बन्ने प्रयत्नमा लागिरहेका छन् । त्यसो त जेष्ठ नागरिकको सम्मानका लागि राज्यले स्वास्थ्य बीमा, सामाजिक सुरक्षा भत्तालगायतमा थोरैधेरै अपनत्व दर्शाएको भए पनि परिवारबाट पाउनुपर्ने माया र सम्मानमा कमी आएको महसूस भएपछि अब म असुरक्षित छु भन्ने सोचका साथ आफ्नो इज्जत बचाउनका लागि केहीले आत्महत्या गरेको हुन सक्ने अन्दाज लगाउन थोरै मात्र सोचे पुग्छ । यसप्रकार कुनै पनि जेष्ठ नागरिकले आत्महत्या गर्छ भने त्यसको दोषी उनको घरपरिवार र समाज हो । किनभने राज्यले त अपनत्व दर्शायो तर ढल्कँदो उमेरका कारण कमजोर बनेका जेष्ठ नागरिकका लागि घरपरिवार तथा समाजले ढुक्कका साथ बाँच्न के ग्यारेन्टी गरेको थियो र गर्दैछ भन्ने विषयमा पनि विचार पुऱ्याउनु पर्ने देखिन्छ ।

समाजमा घटेका आत्महत्याका घटनाहरूलाई नियाल्दा यो रोग बयस्क उमेर समुहमा पनि झ्याङ्गिदै गएको छ । विशेषगरी रोजगारका लागि घर छाडेका पुरुष र महिलाको बीचमा हुने विभिन्न खाले अविश्वासका कारण केहीलाई आत्महत्या गर्न विवश बनाएको छ । यसको दोषी पनि आफन्तजन र समाजनै हो । आफ्नो गाउँटोलका युवाहरू रोजगारका लागि बाहिर जान्छन् भने उसको परिवारलाई असल अभिभावकको भूमिका समाजले निर्वाह गरिदिने र आफन्तजनले पनि कमाएको रुपैयाँ सही सदुपयोगका लागि अपनत्व ग्रहण गरिदिने हो भने आत्महत्याका घटना रोक्न ठुलो मद्दत मिल्दछ । तर, विडम्बना ! पुरुष विदेश गयो भने उसकी श्रीमती गाउँमा बस्न नसक्ने र केही शुभचिन्तकहरूले अपवादबााहेक दुवैतर्फ उल्टासुल्टा भूमिका निर्वाह गर्ने कारण सम्बन्धमा अविश्वास पैदा हुन गई आत्महत्यासम्म पुग्ने गरेकोतर्फ ध्यान पुग्नु अपरिहार्य छ ।

यसैगरी किशोरकिशोरीहरूले आत्महत्या गर्नुका पछाडि अहिलेको सभ्य समाजमा उनीहरूको चाहना पूरा गर्न परिवारले नसक्नुको अलावा सामाजिक सन्जालको प्रयोगलाई समेत लिनुपर्ने हुन्छ । आफ्नो आर्थिक अवस्था कस्तो रहेको छ र कुन विद्यालयमा बच्चाबच्चीलाई पढाउँदा उनका चाहनाहरू पूरा गर्न सकिन्छ भन्ने विषयमा अभिभावकले पहिले नै निर्णय लिनु बुद्धिमानी हुनेछ । यसैप्रकार आफ्ना बालबच्चाले केही कुरा सिक्नका लागि इन्टरनेटको प्रयोग गरेको देख्दा शुरुवातमा रमाइलो महसूस भए पनि उनीहरूको निगरानी अभिभावकले दीर्घकालसम्म राखिरहनु पर्ने हुन्छ । कारणवश बालबच्चाहरू अभिभावकको नियन्त्रणभन्दा बाहिर पुगे भने उनीहरूले सामाजिक सन्जालको प्रयोगमार्फत साथी बनाउने अनि सोचविचारबिना गोपनियताका शब्दहरू पोष्ट वा म्यासेज गर्न पुग्छन् । कालान्तरमा ती सामाग्रीहरूकै आधारमा ब्ल्याकमेलिङ गरिदिने कारण किशोरकिशोरीहरू बाहिर निस्कन नसक्ने गरी प्रेममा फस्ने र उनीहरूको प्रेमलाई परिवार, समाज तथा कानुनले स्वीकार गर्न नसक्ने अवस्थाले आत्महत्याका घटनाहरू घट्न गएको विभिन्न अनुसन्धानमा खटिनेहरूको रिपोर्टबाट समेत बुझ्न सकिन्छ । यो समस्या समाधानका लागि अभिभावकको अलावा छिमेकमा रहेका व्यक्तिहरूले कुनै किशोरकिशोरीमाथि शङ्का लागेको महसूस भएमा सो परिवारलाई सङ्केत दिन अप्ठ्यारो मान्नु हुँदैन ।

नेपालको प्रचलित कानुनअनुसार २० वर्ष उमेर नपुगी कन्यादान गर्न नहुने भन्ने नियमलाई राज्यले थोरै विचार पुऱ्याउनु उपयुक्त देखिन्छ । हाम्रा अग्रज जेष्ठ नागरिकहरूको कुरा सुन्ने हो भने उनीहरूको पालामा सात वर्षको उमेरमा समेत कन्यादान हुने गर्दथ्यो । मेलापर्वमा भात खाए पनि अन्य समय आटो, रोटी र ढिँडो खानुपथ्र्यो । गुन्यूचोली र दौरासुरुवाल लगाउने चलन थियो । सबै घर माटाका हुन्थे । अहिले जतिसुकै सभ्यताका कुरा गरे पनि मानिसहरूले जेष्ठ नागरिकले भोगेका कुराहरूमा आकर्षण बढाएका छन् र सिमेन्टद्वारा निर्मित भवनभन्दा खरले छाएको कटेजमा मान्छेहरू आनन्द लिन रुचाउन थालेका छन् । बेहुलाबेहुलीको विवाहमा लगाइने पोशाकदेखि आटो र ढिँडो खानका लागि शहरियाहरू ज्यान फालेर टाढा-टाढाको यात्रा समेत गर्ने गरेका छन् । अहिलेका किशोरकिशोरीहरूलाई पनि सात वर्षको उमेरमा कन्यादान गर्दिनु पर्छ भन्ने नभइ उनीहरूले घर-परिवारको सल्लाह बिना स्वविवेकले जातिय वा अन्तरजातीय विवाह गर्न चाहेमा अनुमति दिने र २० वर्ष उमेर नपुग्दासम्म उनीहरूको रेखदेख एवं सुरक्षामा राज्यले ग्यारेन्टी लिने गरी कानुन संशोधनसहित प्रचारप्रसार गरेमा किशोरकिशोरीबाट हुने आत्महत्यामा न्यूनीकरण हुन सक्ने प्रवल सम्भावना रहन्छ ।

माथि उल्लेख गरिएका विषयहरू बाहेक आत्महत्या गरिनुमा अन्य कैयौँ कारणहरू जस्तो अधिक मात्रामा लागु पदार्थ सेवन तथा घरेलु हिंसा, गरिवी आदि रहेका हुन्छन् । आत्महत्या न्यूनीकरणका लागि घरपरिवार, समाज र राज्यको महत्वपूर्ण भूमिका हुने कारण आ-आफ्नो स्थानबाट आवश्यकीय भूमिका निर्वाह गर्न जरुरी देखिन्छ । बिर्सन नमिल्ने कुरा भनेको कुनै पनि व्यक्ति सदैव अजम्बरी रहन सक्दैन र जीवन भोगाइको क्रममा प्राप्त हुने आरोह-अवरोहहरूलाई आत्मबलका साथ सामना गरी पूरा आयु बाँच्नुपर्छ भन्ने सोचमा दृढ भइयो भने आत्महत्या जस्तो अपराधलाई न्यूनीकरण गर्न असम्भव हुने छैन ।