उपत्यका विकास प्राधिकरणमा ऐनविपरीत निर्देशिका

उपत्यका विकास प्राधिकरणमा ऐनविपरीत निर्देशिका



काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीको कार्यकाल सकिनै लाग्दा सरकारले आफूअनुकुल व्यक्तिको नियुक्ति गर्न नयाँ निर्देशिका बनाएर कार्यान्वयनमा ल्याउन खोजेको छ ।

काठमाडौं उपत्यकाको शहरी विकास र व्यवस्थापनमा विशेष योगदान पुऱ्याएका कारण तिवारीलाई नै अर्को एक कार्यकाल थप गर्नुपर्ने परिस्थिति निर्माण हुन थालेपछि सरकारले आफ्नो अनुकुलताका निम्ति निर्देशिका त बनायो, तर उक्त निर्देशिका प्रचलित ऐनविपरीत भएको हेक्का पाउन सरकारले नसक्नु आश्चर्यको विषय भएको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणको दफा १७ मा आयुक्तको नियुक्तिबारे स्पष्ट गर्दै लब्धप्रतिष्ठित र विशिष्ट श्रेणीमा काम गरिसकेको या गरिरहेको व्यक्ति हुनुपर्ने ब्यहोरा अङ्कित छ । तर, शहरी विकास मन्त्रालयअन्तर्गत कार्यकारी प्रमुखहरूको नियुक्तिका निम्ति भन्दै मन्त्रिपरिषद्ले केही अघि एउटा निर्देशिका जारी गरेको छ । निर्देशिकामा ऐनमा व्यवस्था भएकोमा बाहेक कुनै पनि स्नातकोत्तर गरेका व्यक्तिलाई कार्यकारी प्रमुख नियुक्त गर्न सकिने प्रावधान राखिएको छ ।

प्राधिकरणको ऐनमा नियुक्त हुने व्यक्तिको योग्यताबारे स्पष्ट गरिएको हुँदाहुँदै त्यसविपरीत निर्देशिका जारी हुनुलाई रहश्यमयी मानिएको छ । विशिष्ट श्रेणीको अनुभव हासिल गरेको हुनुपर्ने प्रावधानभन्दा फितलो प्रावधान (स्नातकोत्तर उत्तीर्ण मात्र) राखिनुले सरकारको नियतमाथि नै प्रश्न उठाएको छ ।

प्राप्त जानकारीअनुसार विकास आयुक्तका रूपमा भाइकाजी तिवारीले जिम्मेवारी सम्हाल्नुभएको यही वैशाख १२ गते पाँच वर्ष पूरा हुँदैछ । यस अवधिमा तिवारीले धोबीखोला करिडर निर्माणको कार्य पूरा गराउनुभएको छ भने चण्डेश्वरी बुढानिलकण्ठ सडक, जोरपाटी-साँखु सडक, इचङ्गुनारायण र दिव्यश्वरी जग्गा एकीकरण आयोजना तथा अनेकौँ पार्कहरूको निर्माण कार्य सम्पन्न गराउनुभएको छ । तिवारीकै विशेष अगुवाइमा उपत्यकाको चार स्थानमा स्मार्ट सिटी निर्माणको गुरुयोजना तयार गर्ने कार्य पूरा भएको छ । चारवटै शहर निर्माणको योजना अब कार्यान्वयनको चरणमा पुगेको छ ।

तिवारीले गरेको कामकै आधारमा उहाँलाई अर्को एउटा कार्यकाल सोही जिम्मेवारीमा निरन्तरता दिइने विश्वास गरिएको थियो । ऐनलाई नै मिचेर निर्देशिका जारी भएपछि तिवारीको स्थानमा पार्टीका कुनै ‘कार्यकर्ता’को चयन हुन सक्ने अनुमान गरिएको छ ।