जापानी कम्पनीद्वारा पोखरा महानगरपालिकालाई ३५ हजार थान मास्क उपहार

जापानी कम्पनीद्वारा पोखरा महानगरपालिकालाई ३५ हजार थान मास्क उपहार


  • जापान प्रतिनिधि

नेपालमा कोरोना संक्रमण बढेसँगै एक जापनिज कम्पनीको माक्स पोखरामा उपहारस्वरुप प्रदान गरिएको छ । जापानको मेइहोकु कम्पनीले पोखरा महानगरपालिकालाई कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ३५ हजार थान मास्क प्रदान गरेको हो । उक्त कम्पनी जापानको कित्ता नागोयामा रहेको छ ।

पोखरा महानगरपालिकामा आयोजित एक कार्यक्रममार्फत कम्पनीका अध्यक्ष शोगो अदाचीले पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मास्क हस्तान्तरण गरेका हुन् ।

नेपालमा जापानिज भाषा कक्षा सञ्चालन गरिरहेको मेइहोकु ट्रेनिङको कम्पनीले पोखरा महानगरपालिकालाई करिव १७ लाख रुपैयाँ बराबरको ३५ हजार थान मास्क उपलब्ध गराएको मेइहोकुका अध्यक्ष अदाचीले जानकारी गराए । उक्त कम्पनी नेपालमा स्थापनाको लागि सहजिकरण गरेका जापानको नागोयास्थित चुबु युनिभर्सिटीमा कार्यरत डा. सुदिप अधिकारीका अनुसार उक्त जापनिज कम्पनी यसअघि पनि नेपालमा विभिन्न सामाजिक कार्यमा कृयाशिल रहँदै आएको छ ।

नेपाल कोरोना भाइरसको महामारीबाट आक्रान्त भइरहेको अवस्थामा यसले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सहयोग गर्ने उनको भनाइ छ । त्यस्तै, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीले जापानको यस सहयोगले नेपाल र नेपालीको मन जितेको प्रतिक्रिया दिएका छन् ।