एक शताब्दीभित्रको एउटा सिङ्गो युगको अन्त्य

एक शताब्दीभित्रको एउटा सिङ्गो युगको अन्त्य


  • प्रकाश के.सी. (लण्डनबाट)

१७ अप्रिल २०२१, बेलायती महारानी एलिजावेथ द्वितीयका ७३ वर्षदेखि हमेसा दुई कदम पछाडिबाट उनलाई साथ दिइरहने श्रीमान् प्रिन्स फिलिपको दाहसंस्कार गरिएको छ । कोभिड १९ को प्रकोपले ल्याएको सरकारी नियन्त्रणबाट बेलायत पूर्ण रूपमा मुक्त भइनसकेको अवस्थाले जम्मा ३० जना व्यक्तिको मात्र सहभागितामा प्रिन्स फिलिपको अन्त्यष्टिको काम सम्पन्न भएको छ । संसारकै एक ठूलो भेला हुन सक्ने दाहसंस्कारको कार्यक्रम, एक आमजनताको जसरी समापन भएको छ । यदि यो सामान्य समयमा हुन्थ्यो भने देशलगायत कमनवेल्थ मुलुकहरू हुँदै विश्वका अन्य राष्ट्रहरूबाट प्रतिनिधित्व हुने उक्त दाहसंस्कारको दिन १००० जना भन्दा बढी विशिष्ट व्यक्तिहरूको प्रत्यक्ष सहभागिता हुने पक्का थियो, सोबाहेक सर्वसाधारणहरूको उत्कट उपस्थितिको त कुरै नगरौँ ।

गत ९ तारिख निधन भएका प्रिन्स फिलिपले जुनको १० तारिख आफ्नो सयौं जन्मोत्सव मनाउने थिए । एउटा पूर्ण शताब्दीको प्रतिनिधित्व गर्ने फिलिपको जीवन आफैमा अभूतपूर्व छ । राजशी खानदानमा जन्मेका भए तापनि आफ्नो मुलक छाडी अर्को देशमा शरण लिएर उनले आफ्नो पूर्वार्धका समय बिताएकाले उनको आचरणमा आमनागरिकको जस्तो शैली प्रभाव परेकोले पनि उनी रानीका श्रीमान् भएपछि खासगरी बेलायती परम्परागत हेराइमा एक खास किसिमका बनेका थिए, त्यसको बखान गर्नु अति हुँदैन, पक्कै नै ।

सन् १९२२ मा बेलायतले उच्चता हासिल गरी विश्वको एक चौंथाई भूभाग ओगटेको थियो । संसारको सबैभन्दा शक्तिशाली देश बनेको बेलायतको शिखर समयको एकै वर्षअगाडि ग्रीसमा फिलिपको जन्म भएको थियो । तथापि सय वर्षअगाडिको सो समय, संसारमा शान्ति थिएन, विभिन्न मुलुकका आमजनतामा विस्तारै राष्ट्रियताको भाव उच्च हुँदै गएको थियो । प्रत्यक्ष वा परोक्ष रूपमा भए पनि अन्य मुलुकको अधीनमा रहन नचाहने प्रचलन चल्दै थिए । जर्मनी, पोर्चुगल, स्पेन, फ्रान्सलगायत बेलायतका अधीनमा रहेका मुलुकहरूमा स्वतन्त्रताको लागि आन्दोलन शुरु हुँदै थियो । स्वतः जताततै यिनै या अन्य कुनै बहानामा लडाइँहरू भइरहेका थिए भने कतिपय देशमा सन्धीहरू पनि भइरहेको थियो । आयरल्याण्डले भर्खरै बेलायती साम्राज्यबाट स्वतन्त्रता हासिल गरेको यसै वर्षमा ग्रीकको एक आइल्याण्ड कोर्फूमा ग्रीक र डेनिस राजशी कोखबाट प्रिन्स फिलिपको जन्म भएको थियो, तर एक वर्षभित्रै टर्कीसँगको युद्धमा ग्रीसले हार खाएका कारण राजपरिवारहरू मुलुकबाट पलायन हुनुपरेको थियो र, परिवारसहित ग्रीसबाट लखेटिएर फ्रान्समा निर्वासित जीवन बिताउन बाध्य भएका प्रिन्स फिलिपको बाल्यकाल अत्यन्तै कष्टकर रहेको थियो ।

निर्वासति जीवन बाँच्ने क्रममा सन् १९३० मा प्रिन्स फिलिप बेलायत आएर पढ्न थालेका थिए मामाकोमा बसेर । उता फ्रान्समा बस्दै आएका फिलिपका बाबुले श्रीमतीसहित परिवारलाई छोडेर मोन्टेकार्लोमा अर्की महिलासँग बस्न गएको, दिदीहरूका विवाह जर्मनका प्रिन्सहरूसँग भएर गएका, आमाको मानसिक सन्तुलन बिग्रेको र पछि नन बनेकी आदिले घटनाहरू उनले यौवन अवस्थामा नै एकपछि अर्को हुँदै भोगेका थिए । बेलायतमा अध्ययनरत हुँदै गरेको अवस्थामा प्रिन्स फिलिप बेलायती आर्मीमा भर्ना भएका थिए, यही क्रममा एक भेलामा १३ वर्षकी राजकुमारी एलिजावेथले पहिलोपटक १८ वर्षे प्रिन्स फिलिपलाई देखेकी थिइन् । अत्यन्तै सुन्दर र खाइलाग्दा देखिने प्रिन्स फिलिपलाई पहिलो नजरमा नै मन पराउन थालेकी एलिजावेथले पत्राचारहरू पनि गर्न थालेकी थिइन् । राजकुमारी एलिजावेथ र राजकुमार फिलिपका पाँचपुस्ते जिजु हजुरआमा एउटै थिइन् ।

विश्वमा युद्धको त्रास फैलिँदो अवस्था थियो । बेलायत संसारको शक्तिशाली देश थियो । जर्ज (छैटौँ) तत्कालीन राजा थिए । प्रिन्स फिलिप र प्रिन्सेस एलिजावेथको पहिलो भेट भएको केही हप्तामै दोस्रो विश्वयुद्ध शुरु भएको थियो जसमा बेलायत सगोल रुपमा होमिएको थियो । बेलायती सेनामा नेपालीहरूको दमदार उपस्थिति रहेको थियो । सुगौली सन्धीको केही परिमार्जित स्वरुपको त्रिपक्षीय सन्धि गरेर एक प्रकारले नेपाल सन् १९२३ मा स्वतन्त्र भएको थियो, यद्यपि नेपाल कहिल्यै कुनै देशको अधीनमा रहेन, तर सुगौली सन्धिभित्रका कतिपय बुँदाले नेपाललाई पराधीनजस्तै बनाएको थियो । यता प्रिन्स फिलिप पनि दोस्रो विश्वयुद्धमा लड्न गएका थिए जहाँ भएको नेपालीहरूको वीरताजनक सहभागिता अद्यापि चर्चामा छ । सोबेला, बताइएअनुसार, राजकुमारी एलिजावेथले सेनाको युनिफर्ममा सजिएका प्रिन्स फिलिपको तस्बिर आफ्नो सयनकक्षमा राख्ने गर्दथिन् । छिमेकी मुलुकहरू छिमेकीजस्ता नहुने सो समय अत्यन्तै सन्दिग्ध खालको थियो । आफ्नो मुलुकलाई निर्वासित जीवन बिताएदेखि आम भएका फिलिप, बेलायती सेनामा लडाइँमा होमिएकाले पनि प्रशस्तै आम खालका थिए, त्यसैले एक आमनागरिकको सो बेलाको सबैभन्दा शक्तिशाली राजाकी छोरीसँग हुने विवाह आम कुनै हालतमा पनि हुँदैनथ्यो, त्यस्तोमा तत्कालीन मानसिक अवस्थाको अनुमान लगाउन साह्रै गाह्रो नपर्ला ।

प्रशस्तै शाही चालचलन, परम्परासहित रुढीवादी शाही परिवारसँगको निकटता आफैमा गह्रुँगो खालको लाग्ने हुन्थ्यो पक्कै नै फिलिपलाई । त्यसमाथि युद्धको प्रकोपले सर्वत्र चिथोरेको थियो, खासगरी लण्डनमा त्यसको प्रचण्ड रूप देखिन्थ्यो । दोस्रो विश्वयुद्ध साम्य भएएपछि अर्थात् सन् १९४६ को नोभेम्बर २० तारिखमा प्रिन्स फिलिप र प्रिन्सेस एलिजावेथको विवाह भएको थियो । राजपरिवारका कैयौँ नातेदारहरू सो विवाहको लागि वास्तविक रुपले खुशी थिएनन् । तर पनि फिलिप राजा जर्ज छैठौँका ज्वाइँ भएका थिए र भावी रानीका श्रीमान् हुने पक्का थियो । अतः सन् १९४७ को फेब्रुअरी २८ तारिखमा प्रिन्स फिलिपले ग्रीस र डेनमार्कको राजशी उत्तराधिकारलाई त्यागेर बेलायती नागरिक बनेका थिए । त्यसरी सोही दिनदेखि फिलिपले प्रिन्सको टाइटल गुमाएका थिए, उनले तदनुपरान्त आफ्नो बाबुको थर होइन, आफ्नी आमाको थर माउण्टव्याटन अँगालेका थिए ।

राजा जर्ज छैटौंले फिलिपलाई पटक्कै मन पराउँदैनथिए, किनकि, पहिलो नम्बरमा उनी बेलायती थिएनन्, उनी भगौडा वा निष्काशित र निर्वासित परिवारसँग सम्वन्धित थिए । राजशी हेराइमा उनी गरीव थिए, उनमा राजशी व्यक्तित्व थिएन, लापरवाह जीवनशैली थियो उनको, यी सबै आचरणले गर्दा राजा जर्जले छोरीलाई विवाह नगर्नको लागि निकै जोड दिएका थिए, तर एलिजावेथ जो, फिलिपको प्रेममा शीरदेखि पाइतलासम्म डुबिसकेकीले अनेक प्रकारले आखिरमा बुबालाई मनाउन सफल भएकी थिइन् । विवाहपछि प्रिन्सेस एलिजावेथ र फिलिप कमनवेल्थका विभिन्न देशहरूमा घुम्दै गएका थिए । तर ५६ वर्षको उमेरमा, सन् ६ फेब्रुवरी १९५२ को दिन, फोक्सोको शल्यक्रिया असफल भएकोले गर्दा राजा जर्ज छैटौंको मृत्यु भएकोले राज्याभिषेकको लागि राजकुमारी एलिजावेथ, फिलिप सँगै बेलायत फर्केका थिए । प्रिन्सेस एलिजावेथबाट क्वीन एलिजावेथ भएपछि मात्र फिलिपलाई प्रिन्स फिलिप भन्न शुरु गरिएको थियो ।

बेलायतको संसदमा सर्वसम्मतिमा पास भएको कानूनअनुसार शाही खानदानका राजकुमारले अन्य शाही तथा आम नागरिक महिलालाई विवाह गरेर ल्याए तिनले लोग्नेको उपाधिको स्त्रीलिङ्गीय उपाधि हासिल गर्न सक्छन् भने शाही खानदानकी राजकुमारीले शाही तथा आम नागरिक पुरुषसँग विवाह गरे पनि तिनले श्रीमतीको उपाधिको पुरुषलिङ्गीय उपाधि पाउँदैनन्, त्यसैले फिलिप आधिकारिक रुपमा पुनः प्रिन्स भइ ड्युक अफ इडिन्वराको उपाधि पाएका थिए । कलिलै उमेरमा राज्यको अधिकार हातमा लिएकी रानी एलिजावेथलाई अनि तत्कालीन कठीन अवस्थामा देशसहित सग्लो बाटो देखाउने प्रिन्स फिलिप नै थिए, सोको पुष्टि एबीसी न्यूजमा प्रिन्स ह्यारीले दिएका थिए र, प्रिन्स फिलिपको ९०औँ जन्मदिनको अवसरमा रानीले पनि सार्वजनिक रूपमा नै खुलासा गरेकी थिइन् । फिलिपका सबै सल्लाहहरू मान्ने रानीले उनको एक महत्वपूर्ण सल्लाह तथा आग्रह भने कहिल्यै मानिनन्, त्यो थियो– फिलिपका सन्तानहरूका थरमा उनको थर होओस्, तर त्यो रानीले कदापि मानिनन् । एलिजावेथ विवाह गरेर फिलिपकोमा होइन, फिलिप नै विवाह गरेर एलिजावेथकोमा आएका थिए, सर्सरी हेर्दा त्यही आधार नै काफी थियो एलिजावेथलाई फिलिपमाथि हाबी हुनको लागि, तर पनि अन्त्यमा, सन्तानहरूले आफ्नो थरमा माउण्टव्याटन विन्जर लेख्न सकिनेमा भने सहमत भएकी थिइन् । त्यसरी प्रिन्स फिलिप नै एक त्यो व्यक्ति हुन् बेलायतमा जसका सन्तानले उनको थर सगोल रूपमा बोक्दैनन् ।

कोभिड १९ को विरुद्ध लगाइएको कडीकडाइ अझै बेलायतमा पूर्ण रूपले खुकुलो भएको छैन, त्यसैले पनि प्रिन्स फिलिपको अन्त्यष्ठी विशाल भएन । छोराछोरी, नातिनातिनीहरूसहित धेरै नै नजिकका ३० जना राजशी खानदानहरूको मात्र सहभागिता भएको प्रिन्स फिलिपको विदाइलाई बेलायतमा धेरैले निक्कै भावपूर्ण रूपमा टेलीभिजनमार्फत हेरेका थिए । विन्जर क्षेत्र एक प्रकारले ठप्प जस्तै बनाइएको थियो तथापि हजारौँ मानिसहरू विन्जर क्यासलनजिक उभिएर भौतिक रूपमा आफ्ना महत्वपूर्ण चीरपरिचित छिमेकीलाई विदाइ गर्न उपस्थित भएका थिए । रानी सामाजिक दूरी कायम गर्दै एक्लै देखिन्थिइन्, जसले आम राजखानदानप्रेमीहरूका दिल छियाछिया भएको समाचारहरूमा बताइएका थिए । ७३ वर्षसम्मको अनवरत साथ दिने उनका श्रीमानले आखिरमा सँधैका लागि छोडेर गएका थिए ।

सँधै दिलको कुरा सुनेर बेफिक्र भएर बोल्ने, राजदरबारका कामदारहरूका प्रिय पात्र, खानेकुराको अति शौखिन, एकान्तप्रेमी आफ्ना सबैभन्दा नजिकका साथीको अभावले रानीलाई बाँकी जीवनभर तड्पाउने पक्कै नै छ । एउटा दह्रो आडको अचानकको अभावमा रानीको स्वास्थ्यमा प्रतिकुल असर नपर्ला भन्न सकिँदैन । रानीले बुहारी डायनाको मृत्युपछिका समय जस्तै गरी ह्यारी मेघनले राजपरिवार छाडेर गएपछिका समयहरूको असजिलो अवस्थालाई रानी स्वयं एक्लैले व्यहोर्नु पर्दा त्यसको नकारात्मक प्रभाव रानीको एक्लो जीवनमा कस्तो पर्ला भनेर अनुमान लगाउन मुश्किल पर्दैन । रानीप्रति यतिखेर राजपरिवारका विरोधीहरू पनि साँचो अर्थमा सहानुभूतिशील हुने पक्का नै छ, यसै त आम बेलायती नागरिकले बेलायतलाई आफ्नो कर्मभूमि बनाएर जीवनका सबै उर्जाशील समयहरू गुमाएर यहाँ प्राण त्याग गर्ने प्रिन्स फिलिपप्रति उनको आत्माको चीर शान्तिको कामना गर्दै श्रद्धान्जली व्यक्त गरेका छन् ।

निःसन्देह, प्रिन्स फिलिपको अवसान एक युगको मात्र होइन, एक त्याग, गहन साथ अनि सुमधुर प्रेमको पनि अवसान भएको हो । बेलायत जहाँ बीसौँ वर्ष वैवाहिक जीवन राम्रोसँग गुजार्नेहरू अल्पमतमा रहेका हुन्छन्, मा अर्कै मुलुकमा जन्मेर ७३ वर्षसम्म हमेशा दुई कदम पछाडि रहँदै रानीका सुख, दुःख, जीत, हार, हाँसो अनि आँशुमा साथ दिने फिलिपको प्रेम महान् नै हो । रानीलाई अतः त्यसरी अपूरणीय क्षति पर्न गएकोमा हार्दिक समवेदना व्यक्त गर्दै प्रिन्स फिलिपको अभूतपूर्व जीवनलाई नमन गरी उनको आत्माको चीर शान्तिको कामना यस लेखमार्फत् पङ्क्तिकार पनि गर्दछ ।